तनहुँका दुई गाउँपालिकामा संक्रमित शून्य, काेराेना नभएकाे ठाउँमा परीक्षण बन्द

सोमबार, भदौ २८, २०७८

तनहुँ  :  तनहुँमा सोमबारसम्म कोरोनाका सक्रिय संक्रमित एक सय ५२ जना छन् । दैनिक संक्रमितको संख्या ओरोला लाग्दा सक्रिय संक्रमितको संख्या पनि घटेको हो ।  जिल्लाका १० मध्ये दुई स्थानीय तहमा सक्रिय संक्रमितको संख्या शून्य छ । घिरिङ र आँबुखैरेनी गाउँपालिकामा सक्रिय संक्रमितको संख्या शून्य रहेको स्वास्थ्य कार्यालय तनहुँले जानकारी दिएको हो । हाल संक्रमित शून्य भएका गाउँपालिकामा कोरोना परीक्षण पनि बन्द  । घिरिङमा दुई सातादेखि कोरोना परीक्षण भएको छैन् । पछिल्लोपटक १६ भदौमा कोरोना परीक्षण भएको थियो । परीक्षण गरिएका आठ जनाकै रिपोर्ट नेगेटिभ देखियो । त्यसपछि कोरोना परीक्षण नभएको गाउँपालिकाको स्वास्थ्य शाखा प्रमुख कृष्णप्रसाद रिमाल बताउँछन् । ‘पहिलेको जस्तो जनस्तरमा गएर कोरोना परीक्षण गरिँदैन । ज्वरोका बिरामी, कोरोनासँग मिल्दाजुल्दा लक्षण भएका बिरामीले कोरोना परीक्षण गर्नुप¥यो भने मात्रै गर्छौँ’, उनले भने ।  आँबुखैरेनी गाउँपालिकाले पनि पछिल्लोपटक २० भदौमा पाँचजनाको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरेको थियो । सबैको रिपोर्ट नेगेटिभ आयो । एक साता भन्दा बढी भइसक्दा पनि परीक्षण भएको पाइँदैन । कोरोनाको लक्षण देखिएका बिरामीलाई तुरुन्तै गाउँपालिकाले एन्टिजेन विधिबाट कोरोना परीक्षणको व्यवस्था मिलाएको स्वास्थ्य शाखा प्रमुख अगमराज उपाध्यायको दाबी छ । संक्रमणदर घटेपछि परिक्षण कम गरेको उनले बताए । ‘सर्वसाधारणलाई बोलाएर परीक्षण भने भएको छैन । मागअनुसार गर्ने गरिएको छ,’ उनले भने । अनिवार्य मास्कको प्रयोग गर्न लगाउने, भिडभाड बढी हुने स्थानमा प्रहरी प्रशासनसँगको सहकार्यमा नियन्त्रण गरेको कारण संक्रमण शून्यमा झार्न सफल भएको उपाध्याय बताउँछन् ।  पाँच स्थानीय तहमा पनि १० जनाभन्दा कम सक्रिय संक्रमित छन् । भानु नगरपालिाकमा तीन, भिमाद नगरपालिकामा पाँच, ऋषिङ गाउँपालिकामा एक, देवघाटमा चार र बन्दीपुर गाउँपालिकामा ६ जना संक्रमित रहेको स्वास्थ्य कार्यालयले जनाएको छ । म्याग्दे गाउँपालिकामा भने १० जना सक्रिय संक्रमित छन् । भिमादका जनस्वास्थ्य अधिकृत मनुराज बरालका अनुसार यतिबेला गाउँगाउँमा पनि कोरोनासँग मिल्ने लक्षण भएका बिरामी देखिएका छैनन् । नगरपालिकाले शंकास्पद बिरामीको दैनिकजसो कोरोना परीक्षण गरिरहेको उनको दाबी छ । ‘भिमाद स्वास्थ्य चौकीमा उपचार गराउन आएका बिरामी शंकास्पद भएमा परीक्षण गर्ने व्यवस्था गरेका छौँ । यहाँका मेडिकल सञ्चालकलाई पनि शंकास्पद बिरामीलाई कोरोना परीक्षण गराउन पठाउन भनेका छौँ । तर, पनि संक्रमित घटेका छन्’, उनले भने, ‘यही अवस्थालाई कायम राख्न पाए हुने हो । तीजमा अनावश्यक भिडभाड बढ्यो, त्यसको प्रभावले फेरि संक्रमण बढ्ने हो कि !’ संक्रमितको उच्च संख्या व्यास नगरपालिकामा छ । व्यासमा ७७ र शुक्लागण्डकी नगरपालिकामा सक्रिय संक्रमितको संख्या ४६ रहेको स्वास्थ्य कार्यालयले जानकारी दिएको छ ।  भदौ सुरु भएपछि जिल्लामा कोरोनाको परीक्षण र संक्रमणदर दुवै घट्दो छ । जिल्लामा जारी गरिएको निषेधाज्ञासमेत खुकुलो पारिएको छ । राजनीतिक सरगर्मी बढेको छ । कांग्रेसको १४औँ महाधिवेशन केन्द्रित गतिविधि, माओवादी केन्द्रको संगठन पुनर्गठन, एमालेको संगठन गठन र भेला बढ्दो छ । एक हजारौँजनासम्म भेला गरेर राजनितीक कार्यक्रम भइरहेका छन्, जहाँ स्वास्थ्यको मापदण्ड पालना भएको देखिँदैन । संक्रमणदर कम भएपछि भदौ दोस्रो सातादेखि जिल्लामा विद्यालय खोलेर भौतिक उपस्थितिमा पठनपाठन भइरहेको छ । तत्कालै संक्रमणदर ह्वात्तै नबढे पनि एक डेढ सातपछि नतिजा निस्कने स्वास्थ्य कार्यालय तनहुँका प्रमुख शंकरबाबु अधिकारी बताउँछन् । उनी भन्छन्, ‘अहिले संक्रमणदर कम छ भनेर लापरबाही गर्ने कुरा होइन । भिडभाड कम गर्नुपर्ने देखिन्छ ।’ निषेधाज्ञामा भिडभाड गर्न नमिल्ने निर्णय भए पनि कसैले पालना नगरिदिएको उनको गुनासो छ । ‘कम्तीमा पनि स्वास्थ्यको मापदण्ड त त पालन हुनुपर्छ’, उनले भने ।  एक सय ५२ जना सक्रिय संक्रमित रहेको जिल्लामा सातजना मात्रै जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्रको आइसोलेसनमा उपचाररत छन् । स्थानीय सरकारले बनाएका आइसोलेसन रित्तो बनेका छन् ।  दोस्रो लहरको कोरोना संक्रमण फैलिएपछि वैशाखयता जिल्लामा पाँच हजार दुई सय २३ जनालाई कोरोना पुष्टि भएको छ । चार हजार नौ सय ५५ जना संक्रमणमुक्त भए । एक सय १६ जना कोरोना संक्रमितको मृत्यु भएको स्वास्थ्य कार्यालय तनहुँले जनाएको छ । पहिलो चरणको कोरोनाले वर्ष दिनमा २५ जनाको ज्यान लिएको थियो । गत वर्षभन्दा यसपालि पाँच महिनाको अवधिमा कोरोनाले मृृत्यु हुनेको संख्या साढे चार गुणा बढी हो । 

प्रकाशित मिति: सोमबार, भदौ २८, २०७८  १५:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार