सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । देशलाई निकासा दिनकै लागि भएपनि चुनाव हुनुपर्ने एमाले नेतृ अष्टलक्ष्मी शाक्यले बताएकी छन् । उनले देशलाई निकास दिने अन्तिम विकल्प भनेको चुनाव नै रहेको बताइन । नेपाल न्यूज बैँकको विषेश कुराकानीमा बोल्दै उनले भनिन,‘यदी चुनाव भएन भने, अप्ठ्यारो हुन्छ । अस्थिरता सिर्जना हुन्छ, गणतन्त्रमाथि प्रश्न आउँछ, संविधानमाथि प्रश्न खडा हुन्छ । त्यसैले हामीले चुनाव कुनै पनि हालतमा फागुन २१ गते सम्पन्न गर्नैपर्छ ।’ शाक्यले वर्तमान सरकार सफल हुने हो भनेपनि चुनाव गराउनु पर्नेमा जोड दिइन् । उनले यो सरकारलाई निर्वाचन सम्पन्न, कुशल ढंगले व्यवस्थापन गरेर र सौहार्दपूर्ण वातावरणमा निर्वाचन सम्पन्न ग¥यो भने सरकारले जस लिने पनि बताइन । उनले चुनावमा नेताहरु प्रचार प्रसारमा खटिसकेको तर एजेण्डाहरु अगाडि नबढाएकोमा समस्या भएको बताइन । एमालेकी पूर्व उपाध्यक्ष तथा बागमती प्रदेशकी पूर्वमुख्यमन्त्री शाक्यले लोकतान्त्रिक मुलुकका लागि निर्वाचन अपरिहार्य भएको बताएकी हुन् । आफू सामाजिक अभियानसँगै महिला सशक्तीकरणमा लामो समयदेखि क्रियाशील रहेको उल्लेख गर्दै शाक्यले ८ मार्च अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा प्रत्येक वर्ष विभिन्न क्षेत्रमा योगदान दिएका आठजना महिलालाई सम्मान गर्दै आएको बताइन् । नेपाली महिलाको क्षमता, नेतृत्व र योगदानलाई विश्वस्तरमा चिनाउने उद्देश्यले भिडियो सामग्री पनि निर्माण गर्दै आएको उल्लेख गर्दै उनले महिलाहरू परिवर्तनका संवाहक र कुशल नेतृत्वकर्ता भएको धारणा राखिन् । उनले पछिल्लो समय देखिएको नवयुवा आन्दोलनलाई आन्दोलन मात्र नभई लामो समयको तयारीसहितको घुसपैठको रूपमा व्याख्या गरिन् । उक्त गतिविधिले देशलाई अस्तव्यस्त बनाएको, संविधानमाथि प्रश्न उठाएको र राजनीतिक अस्थिरता निम्त्याएको उनको भनाइ थियो। वर्तमान सरकार महिला नेतृत्वमा बनेको उल्लेख गर्दै शाक्यले निर्वाचन गराउने जिम्मेवारीसहित गठन भएको सरकारले तयारीका साथ काम गरिरहेको भन्दै सकारात्मक मूल्यांकन गरिन् । शाक्यले निर्वाचन कुशल व्यवस्थापनका साथ, स्वतन्त्र र निष्पक्ष वातावरणमा सम्पन्न गर्न सके सरकारको महत्वपूर्ण उपलब्धि हुने बताइन् । उनका अनुसार अहिले सबै राजनीतिक दल निर्वाचनमा होमिइसकेका छन्, तर घोषणापत्र ढिलो आउनु कमजोरी हो । ‘घोषणापत्रमार्फत देश बनाउने दृष्टिकोण, सुशासन, समृद्धि र संसदीय अभ्यासको स्पष्ट खाका आउनुपर्छ,’ उनले भनिन् । लोकतन्त्रमा नयाँ दल आउनु स्वाभाविक भएपनि पूराना दलको इतिहास, त्याग र बलिदानलाई बेवास्ता गर्न नहुने शाक्यको भनाइ छ । निरंकुश शासन, पञ्चायत र राणा शासनविरुद्धको आन्दोलनबाट संघीय लोकतान्त्रिक गणतन्त्रसम्म आइपुग्न पूराना दलहरूको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले नयाँ र पूराना शक्तिबीच सहकार्य आवश्यक रहेको धारणा राखिन् । संविधान समावेशी भएको उल्लेख गर्दै शाक्यले दलित, महिला, अपाङ्गता भएका व्यक्ति, अल्पसंख्यक तथा सबै समुदायलाई राज्यको निर्णय प्रक्रियामा स्थान दिएको बताइन् । संविधान सभाकी सदस्यसमेत भइसकेकी शाक्यले संविधानमा केही परिमार्जन आवश्यक हुनसक्ने भएपनि समग्रमा यो नेपाली विविधतालाई समेट्ने उत्कृष्ट दस्तावेज भएको बताइन् । नेकपा एमालेको लामो राजनीतिक यात्रालाई स्मरण गर्दै उनले आफू ०३६ सालदेखि पूर्णकालीन कार्यकर्ता भएर भूमिगत जीवन बिताएको अनुभव साझा गरिन् । पार्टीभित्र वैचारिक छलफल कमजोर हुँदा गुट जन्मिने पुष्पलालको चेतावनी स्मरण गर्दै उनले नेतृत्वको हृदय फराकिलो हुनुपर्ने र सबैलाई समेट्न सक्नुपर्नेमा जोड दिइन् । महिला सहभागिताका विषयमा गम्भीर चिन्ता व्यक्त गर्दै शाक्यले ३३ प्रतिशत महिला प्रतिनिधित्व नेतृत्व तहबाटै चुनौतीमा परेको बताइन् । ‘महिला मेरो मान्छे नभएको कारण टिकटबाट वञ्चित हुनु संविधानमाथिकै चुनौती हो,’ उनले भनिन् । महिला विभागको नेतृत्वमा रहेर ३३ प्रतिशत प्रतिनिधित्व संविधानसम्म पु¥याउन भूमिका खेलेको स्मरण गर्दै उनले अहिलेको अवस्था गलत सन्देश जाने खालको रहेको र तत्काल सुधार आवश्यक रहेको बताइन् ।