सडकमा खसेको पहिरो पन्छाउन पनि रास्वपा सांसद्को अवरोध !

मंगलबार, असोज १३, २०८३

टीका भैरब (ललितपुर) । ललितपुरको गोदावरी नगरपालिकास्थित कान्तिलोकपथ अन्तर्गत टाहाखेल–टीकाभैरव खण्डमा गएको पहिरोका कारण अवरुद्ध सडक खुलाउने क्रममा विवाद भएपछि काम रोकिएको छ । सडक खुलाउने काममा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद बुद्धरत्न महर्जनले अवरोध गरेपछि काम रोकिएको हो । 
'टाहाखेल–टीकाभैरब सडक खण्डको पहिरो हटाउने क्रममा प्रक्रिया नमिलेको भन्दै सांसद बुद्धरत्न महर्जनको निर्देशनमा काम रोकिएकाे छ', गोदावरी नगरपालिका सामाजिक विकास समितिका संयोजक तथा वडा नं. १० का वडाअध्यक्ष शेखर न्यौपालनले भने, 'प्रक्रिया मिलाउने जिम्मा सांसद तथा पूर्वाधार कार्यालयलाई लगाइएको छ । अबको जिम्मा केन्द्रको हो ।' स्थानीय व्यवसायीसँग अनौपचारिक छलफल गरी पहिरो पन्छाउने काम भइरहेको थियो, सांसदले प्रक्रिया पुगेन भनेपछि अहिले काम रोकिएको छ वडाअध्यक्ष शेखर भने ।  
गत शुक्रबारदेखि भएको लगातारको वर्षाका कारण कान्ति लोकपथअन्तर्गत विभिन्न सडकखण्डमा पहिरो गएपछि गोदावरी नगरपालिकाले पहिरो पन्छाएर सडक सञ्चालनमा ल्याउने काम गर्दै आएको थियो । वर्षापछि सडक सञ्चालनमा आए पनि हिजो पुनः पहिरो झरेपछि टीकाभैरव क्षेत्रमा सडक अवरुद्ध भएको थियो । नगरपालिकाले सडक खुलाउन तीव्र गतिमा काम अघि बढाएको थियो । तर पहिरो पन्छाउने क्रममा निस्किएको ढुंगा बिक्री गरिएको आरोप लगाउँदै सांसद महर्जनले काममा अवरोध गरेको स्थानीय जनप्रतिनिधिको दाबी छ । सांसद महर्जनको अवरोधपछि सडक खुलाउने काम रोकिँदा काठमाडौँबाट चापागाउँ हुँदै हेटौँडा जाने यात्रु तथा सवारीसाधन समस्यामा परेका छन् । स्थानीय जनप्रतिनिधिका अनुसार सांसद महर्जनले ढुंगा बिक्रीको विषय उठाउँदै काम रोक्न दबाब दिएका थिए । घटनास्थलमा विवाद भएपछि महर्जनले प्रमुख जिल्ला अधिकारीसँग छलफल गर्ने बताएका थिए । ढुंगा व्यवस्थापनबारे प्रश्न उठेको भए सम्बन्धित निकायबाट छानबिन गर्न सकिने भए पनि सडक अवरुद्ध अवस्थामा राखेर विवाद लम्ब्याउँदा सर्वसाधारण प्रभावित हुने स्थानीयको भनाइ छ । गोदावरी नगरपालिका र प्रशासनबीच समन्वय गरी विवाद समाधान गर्दै सडक तत्काल सञ्चालनमा ल्याउनुपर्ने स्थानीयको माग छ ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १८:५७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार