म्यादी प्रहरीको कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न समिति गठन, मनिष झा संयोजक

शुक्रबार, असोज १६, २०८३

काठमाडौं । गत फागुन २१ मा सम्पन्न आमनिर्वाचनमा खटिएका निर्वाचन (म्यादी) प्रहरीका लागि कपडा खरिदसम्बन्धी प्रकरण अध्ययन गर्न छानबिन समिति गठन भएको छ । शुक्रबार बसेको लेखा समितिको बैठकले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मनिष झाको नेतृत्वमा नौ सदस्यीय अध्ययन समिति गठन गरेको हो । समितिका सदस्यमा ऐन महर, योगेश गौचन थकाली, आरेन राई, खगेन्द्र सुनार, खुश्बु ओली, रमेशकुमार मल्ल, गणेश धिमाल र महेन्द्रबहादुर शाही छन्। समितिले दुई महिनाभित्र अध्ययन गरी प्रतिवेदन सार्वजनिक लेखा समितिमा बुझाउनेछ । निर्वाचन प्रहरीका लागि कपडा खरिदमा अनियमितताको प्रश्न उठेपछि लेखा समितिमा अध्ययन तथा छानबिन समिति गठन गर्ने विषयमा सांसदहरूबीच मतभेद देखिएको थियो । बैठकमा सांसद खगेन्द्र सुनारले कपडा खरिदमा अनियमितताको प्रश्न उठिसक्दा पनि समितिले प्रभावकारी चासो नदेखाएको भन्दै प्रश्न उठाएका थिए । सम्बन्धित कागजात १५ दिनभित्र उपलब्ध गराउन माग गरिए पनि फाइल प्राप्त भए–नभएको जानकारीसमेत सदस्यहरूलाई नदिइएको भन्दै उनले असन्तुष्टि जनाएका थिए। रास्वपा प्रमुख सचेतक खुश्बु ओलीले भने छानबिनअघि सम्बन्धित तथ्य, कागजात र प्रतिवेदन अध्ययन गर्नुपर्ने बताइन्। सामाजिक सञ्जालमा आएका वा सुनेका आधारमा मात्रै निष्कर्षमा पुग्न नहुने उनको भनाइ थियो । एमाले सांसद ऐन महरले उठेका प्रश्नको निरूपण आवश्यक रहेको भन्दै अध्ययन समिति गठनको प्रस्तावमा समर्थन जनाए। नेपाल प्रहरीजस्तो संस्थामाथि प्रश्न उठिसकेपछि त्यसलाई बेवास्ता गर्दा संस्थाको विश्वसनीयता र कर्मचारीको मनोबलमा असर पर्न सक्ने उनको भनाइ थियो । समितिले सम्बन्धित कागजात, प्रतिवेदन तथा सांसदहरूले बैठकमा उठाएका प्रश्न र धारणाको अध्ययन गरी मूल समितिलाई प्रतिवेदन बुझाउनेछ ।


 

प्रकाशित मिति: शुक्रबार, असोज १६, २०८३  २०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार