गोदावरी नगरपालिकाको विपद् व्यवस्थापन पूर्वतयारी 

प्रभावितलाई राख्न पालिका भित्रका ५ वटा खुल्ला स्थान तय 

शुक्रबार, असोज ९, २०८३

 बज्रबाराही (ललितपुर) । गोदावरी नगरपालिका हाल भइरहेको अवरिल वर्षाका कारण आइपर्न सक्ने जोखिमलाई मध्यनजर गरेर पूर्वतयारीमा जुटेको छ । नगरपालिकाको विपद् व्यवस्थापन समितिको बैठकले पालिका भित्रका ५ वटा स्थानलाई खुल्ला स्थानका रुपमा तोकेको छ ।  नगर प्रमुख गजेन्द्र महर्जनको अध्यक्षतामा शुक्रबार बसेको बैठकले विपद् पूर्वतयारी स्वरुप यो निर्णय गरेको हो । नगर प्रमुख महर्जनले भने, ‘पूर्वतयारी अत्यावश्यक छ, विपद्को सूचना पाएपछि, पूर्वतयारी अनिवार्य कुरा हो, त्यसैले हामीले खुल्ला स्थान छनो गरेका हौं ।  विपद् व्यवस्थापन समितिको निर्णय अनुसार वडा नं. ६ कोे टीकाभैरव स्वास्थ्य चौकी, वडा नं. ७ को भीमसेन आदर्श मा.वि, वडा नं. १३ को महिला आवासीय भवन, वडा नं. ३ को शिद्धेश्वर आवासिय माध्यमिक विद्यालय, वडा नंं. ९ को मयुर एकेडेमी तोकिएका छन् । स्थानीय शासन सञ्चालन ऐनमा पालिकाको विपद् व्यवस्थापन समितिको अध्यक्ष नगर प्रमुख हुने व्यवस्था गरिएको छ ।  नगर प्रमुख महर्जनले पालिकाका वस्ती वा टोलमा बाढीपहिरोले असर परे प्रभावितहरुलाई राख्न यी पाँच स्थान तोकिएको बताए ।  यसअघि नगरपालिकाले आज शुक्रबारदेखि पर्सि ११ गतेसम्म हावाहुरीसहित भारी वर्षा हुने मौसम विभाग, मौसम पूर्वानुमान महाशाखाको मौसम बुलेटिनलाई आधार बनाएर नगरवासीलाई सतर्कता अपनाउन अनुरोध गरेको थियो ।  नगर प्रमुख महर्जनले विज्ञप्ति जारी गर्दै अत्यावश्यक नभई यात्रा नगर्न अनुरोध गरेका छन् । यात्रामा निस्कनु अघि सडक यातायातको अवस्था जानकारी लिएर मात्रै यात्रा गर्न उनले नगरवासीलाई सुझाव दिएका छन् । खोला, तटीय क्षेत्र र पहिरोको जोखिम भएको स्थानबाट हिँडडुल नगर्न र त्यस्ता क्षेत्रमा नबस्न पनि नगरप्रमुखले विज्ञप्तिमार्फत अनुरोध गरेका छन् ।  सजगता अपनाउँदा अपनाउँदै पनि कुनै समस्या आइपरे गोदावरी नगरपालिकामा सम्पर्क गर्न समेत नगर प्रमुख महर्जनले नगरवासीलाई आग्रह गरेका छन् । 

GM-1-1790311055.jpg
 

प्रकाशित मिति: शुक्रबार, असोज ९, २०८३  १०:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार