सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । मेघा कलेजको आयोजनामा दोस्रो अन्तर्राष्ट्रिय सम्मेलन शुक्रबारदेखि सुरु भएको छ । दुई दिनसम्म सञ्चालन हुने सम्मेलनमा व्यवस्थापन, वाणिज्य, अर्थतन्त्र, उद्योग तथा कानुनलगायत विषयमा छलफल भइरहेको छ । सम्मेलनको उद्घाटन त्रिवी व्यवस्थापन संकायका पूर्वडीन डिल्लीराज शर्माले गरेका हुन् । कार्यक्रममा शिक्षाविद्, अनुसन्धानकर्ता तथा विभिन्न विश्वविद्यालयका प्रतिनिधिरूको सहभागिता रहेको थियो । कार्यक्रममा संघीय संसदका महासचिव पदमप्रसद पाण्डेले अनुसन्धानकर्ताहरू मुलुकको सहयोगी शक्ति भएको उल्लेख गर्दै हिमालय क्षेत्रको अर्थतन्त्रलाई सुदृढ बनाउन अनुसन्धानमूलक बहस आवश्यक रहेको बताए । उनले सम्मेलनमा प्रस्तुत हुने अनुसन्धानपत्र, विचार र छलफलले नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन महत्त्वपूर्ण योगदान गर्ने विश्वास व्यक्त गरे । मधेस विश्वविद्यालयका डिन अञ्जय कुमार मिश्रले प्रविधिको विकाससँगै शैक्षिक अनुसन्धानले नयाँ चुनौती सामना गर्नुपरेको बताए । उनले विद्यार्थीहरू केवल गुगलमा आधारित जानकारीमा सिमित नभई अनुसन्धानकर्ताहरूको अध्ययन र मौलिक शोधतर्फ आकर्षित हुनुपर्ने धारणा राखे । त्यस्तै, बनारस हिन्दु विश्वविद्यालयका डिनले हरेन्द्र कुमार सिंहले सफल व्यवस्थापन केवल विद्यार्थीका लागि मात्र नभई मुलुकको शासकीय सफलताका लागि पनि आवश्यक हुने बताए । उनले विश्वविद्यालयहरूले अनुसन्धान केन्द्रको विस्तार गर्नुपर्नेमा जोड दिँदै नेपाल–भारतबीच शैक्षिक सहकार्य विस्तार गर्न सम्मेलनले महत्त्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उद्घाटन सत्रलाई सम्बोधन गर्दै पूर्व डिनशर्माले दिगो विकास लक्ष्य हासिल गर्न कुशल व्यवस्थापन आवश्यक रहेको बताए । उनले विश्वव्यापी सोचलाई स्थानीय तहसम्म विस्तार गर्नुपर्ने आवश्यकता औंल्याए । उनका अनुसार नेपालमा स्रोत, प्रविधि तथा नियामक अवरोधका कारण शैक्षिक तथा आर्थिक विकास प्रभावित भइरहेको छ । सिद्धान्त र व्यवहारबीचको दूरी घटाउन शैक्षिक अनुसन्धानको भूमिका महत्त्वपूर्ण हुने उल्लेख गर्दै उनले शैक्षिक प्रणालीको पुनःसंरचना आवश्यक रहेको बताए । शर्माले सामाजिक नवप्रवर्तनलाई प्राथमिकता दिनुपर्ने, शिक्षा क्षेत्रमा सरकारको ध्यान कम गएको तथा उच्च शिक्षामा सरकारी लगानी अपर्याप्त रहेको टिप्पणी गरे । उनले शैक्षिक अनुसन्धान तथा शिक्षा क्षेत्रको बजेट बढाउनुपर्नेमा जोड दिँदै सम्मेलनको निष्कर्षले नीति निर्माणमा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे । उनले निजी क्षेत्रलाई पनि शैक्षिक विकासमा सक्रिय रूपमा लगानी गर्न प्रोत्साहित गर्नुपर्ने बताए । सम्मेलनमा नेपालकै अनुसन्धानकर्ता, भारतका विश्वविद्यालयका अनुसन्धानकर्ता, सार्क देशका अनुसन्धानकर्ताहरुको उपस्थिति छन् । सम्मेलनले विद्यार्थीहरुलाई प्रतिस्पर्धी बनाउनु, बजारमा राम्रो जागिर पाउनु र उद्यमशिलता गराउन प्रेरित गर्ने अपेक्षा गरिएको छ । सम्मेलनले नीति निर्माणमा सहयोग पुग्नुे, अर्थतन्त्रमा टेवा पुग्ने र दिगो विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ । नेपाल कमर्श एसोसिएसनसँगको सहकार्यमा मेगा कलेजले सम्मेलन गरेको हो । सम्मेलनमा नवप्रवर्तन, दिगोपन र विश्वव्यापी प्रतिस्पर्धासँग जोडिएका विषयमा विज्ञहरुले प्रवचन तथा प्रस्तुति दिएका छन् । सम्मेलनमा तीव्र गतिमा परिवर्तन भइरहेको विश्व अर्थतन्त्र, प्रविधिको विकास, दिगो विकासको आवश्यकता र अन्तर्राष्ट्रिय प्रतिस्पर्धाको सन्दर्भमा व्यापार तथा व्यवस्थापन क्षेत्रले भोगिरहेका चुनौती र सम्भावनाबारे विमर्श गरिएको छ । मेगा कलेज कुमारीपाटीले सन् २०१९ मा पनि व्यवस्थापनसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन आयोजना गरेको थियो ।