सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । महिलावादी अनुसन्धानमा आधारित पुस्तक ’महिला आन्दोलनको सहखोजी : सन्धान संग्रह ’ को दोस्रो संस्करण मङ्गलबार काठमाडौंमा सार्वजनिक गरिएको छ । यो पुस्तक द स्टोरी किचेन र त्रिभुवन विश्वविद्यालय (त्रिवि) लैङ्गिक अध्ययन केन्द्रीय विभागको सहकार्यमा प्रकाशित भएको हो । पुस्तक सार्वजनिक कार्यक्रमका प्रमुख अतिथि त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकाल, द स्टोरी किचेनका सहसंस्थापक तथा अध्यक्ष डा. जया लुईंटेल र कार्यकारी सदस्य निर्मला ज्ञवाली, पुस्तकका सम्पादक तथा मेन्टर डा. हरिकला अधिकारी तथा लैङ्गिक अध्ययन विभागकी प्रमुख जमुना शिवाकोटी र सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्की र फेलो÷लेखकहरुलेसंयुक्त रुपमा गरेका थिए । पुस्तकमा नेपालका महिला र महिला भित्रका विविध महिलाहरुको अनुभव, भोगाइ र संघर्ष तथा राजनीतिक÷सामाजिक आन्दोलनहरुमा महिलाहरुले गरेका योगदान समेटिएका छन् । पुस्तकमा २५ जना फेलो,लेखकहरुका आलेखहरु समावेश छन् । ती आलेखका विषयहरु महिला भित्रका विविधताका साथै दलित एवं आदिवासी जनजाति समुदायले भोगिरहेका विभेद, लैंगिक तथा यौनिक अल्पसंख्यकहरुको सवाल, अपाङ्गता भएकाहरुको सवाल र विभेद रहेका छन् । कार्यक्रमका प्रमुख अतिथि त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्कायका डिन प्रा.डा. दुबीनन्द ढकालले पुस्तकमा समेटिएका विषयहरुबाट अरु धेरै विषयहरु खोतलिएको भन्दै बाहिर नल्याइएका विषयको उठान पुस्तकले गरेको बताए । महिलाहरुको वास्तविक अनुभव र भोगाइहरुलाई समेटेर सैद्धान्तिरकरण गर्न सकिने आधार पनि यो पुस्तक हुन सक्ने उनको भनाई थियो । कार्यक्रमका अतिथि वक्ता सिनासका कार्यकारी निर्देशक डा. मृगेन्द्र बहादुर कार्कीले सन्धान र पुस्तकको बाहिरी पृष्ठमा औँठा छापको प्रयोग गर्नुको अर्थ महत्वपूर्ण भएको बताए । उनले औँठाछाप एक अर्कासँग नमिल्ने बताउँदै यसको प्रतिकात्मक अर्थ सबैको पहिचान र परिचय आ आफ्नै हुने र हुनुपर्ने आशयको बारेमा व्याख्या गरे । पुस्तकको समीक्षा गर्दै त्रिवि पत्रकारिता तथा आमसञ्चार केन्द्रीय विभागका प्रमुख प्रा.डा. कुन्दन अर्यालले नेपालको महिला आन्दोलनका लागि यस पुस्तक महत्वपूर्ण दस्तावेज भएको दाबी गरे । यो पुस्तकमा उठान भएका विषयले नेपाली समाजभित्रका वैकल्पिक विषयहरु पहिचान र उठान गरेको बताए । केही आलेखहरु एकदमै सशक्त रहेको भन्दै डा. अर्यालले यो पुस्तक नेपाली महिला आन्दोलन तथा समाज अध्येताहरुका लागि सन्दर्भ सामग्री हुने धारणा राखे । त्यसैगरी अर्का समीक्षक समाजशास्त्री डा. मीना पौडेलले एउटै वर्ग र उस्तैउस्तै इतिहास लेखन भइरहेको सन्दर्भमा यो पुस्तक इतिहास लेखनको वैकल्पिक यात्रा भएको बताइन् । परम्परागत अनुसन्धान विधिले टाउको गनेर तथ्याङ्क निकाल्ने बताउँदै उक्त अनुसन्धान विधि भन्दा महिलावादी अनुसन्धान विधि फरक भएको दाबी गरिन् । उनले सन्धान फेलोहरूले गरेको अनुसन्धान प्राज्ञिक उद्देश्यले वा प्राज्ञहरुले गरेको जस्तो नभएको बताउँदै प्राज्ञिक ज्ञान निर्माणका लागि महत्वपूर्ण आधार हुने धारणा राखिन् । कार्यक्रममा ’पुस्तान्तरण, विविधता र समावेशिताको दृष्टिकोणबाट पुस्तकको महत्व’ बारेमा युवा अधिवक्ता तथा अभियन्ता कुन्जनी परियार, महिला मानवअधिकारकर्मी श्यामकुमारी साह र जेनजी अभियन्ता मोनिको निरौलाले पनि पुस्तकले विविधताका सवाललाई समेटेको प्रष्ट पारे । यस्तै सन्धान फेलोसिप तथा पुस्तक प्रकाशनमा सहकार्य गरिरहेको त्रिवि लैङ्गिक अध्ययन केन्द्रीय विभागका प्रमुख जमुना शिवाकोटीले विभागले विगत ७\८ वर्षदेखि नै यसप्रकारको काममा सहकार्य गर्दै आएको बताउँदै आगामी दिनहरुमा पनि सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरिन् । द स्टोरी किचेनका अध्यक्ष डा. जया लुईंटेलले सन्धानले इतिहास पत्रकारिता लेखनको काम सुरु गरेको बताइन् । महिलाको अनुभव, भोगाई, उत्पीडन र विभेदलाई पुस्तकका रुपमा संग्रहित गरेर सार्वजनिक गरेको जानकरी गराइन् । उनले यो कामलाई ‘आँखीझ्याल मार्फत ज्ञान संग्रहित गर्ने काम’ को संज्ञा दिइन् । उनल हाम्रा आमा, हजुरआमाहरुको जीवनभोगाइ, सङ्घर्ष र अनुभवबाट आएका ज्ञानहरुलाई पनि प्राज्ञिक ज्ञान बनाइनुपर्छ भनेर विश्वविद्यालयहरुसँग सहकार्य गरेको अवगत गराइन् । द स्टोरी किचेनले ‘हर स्टोर्री को रुपमा अहिले इतिहासको खोजी गर्ने काम गरिरहेको भन्दै यो कामले इतिहासबाट पुरुषलाई हटाउने नभई महिलाहरुको योगदान, संघर्ष र भोगाइहरुलाई केन्द्रमा राख्ने र महत्वलाई अझै प्रष्ट पार्ने बताइन् । द स्टोरी किचेनका कार्यकारी सदस्य निर्मला ज्ञवालीले फेलोसिपको सुरुवातदेखि पुस्तक विमोचनसम्म साथ दिने सबैलाई धन्यवाद दिइन् । आगामी दिनमा पनि यसप्रकारको कार्यमा विश्वविद्यालयका विभिन्न विभाग तथा अन्य संघसंस्थासँग सहकार्य गर्ने बताइन् । द स्टोरी किचेनका कार्यक्रम तथा कार्यालय प्रमुख गार्डिका बज्राचार्यले सामाजिक राजनीतिक परिवर्तनमा महिलाको योगदान र भूमिका जतिसुकै सशक्त भए पनि इतिहासको औपचारिक दस्तावेजमा सहायकको रुपमा प्रस्तुत भएको र गरिएको वास्तविकता उजागर गरिन् । महिलाको भोगाईलाई आकलझुकल मात्रै प्रस्तुत गरिएको भन्दै ती अनदेखा गरिएका भोगाइ, सङ्घर्ष र ज्ञानलाई अभिलेख गरी पुस्तकको आकार दिइएको बताइन् । ’सन्धान’ द स्टोरी किचेनले सुरु गरेको महिलावादी अनलाइन पोर्टल हो । द स्टोरी किचेनले सन् २०२२ देखि हरेक वर्ष पत्रकार, लेखक तथा विश्वविद्यालयमा अध्ययन गर्दै आएका विद्यार्थीहरुका लागि ’सन्धान फेलोसिप’ प्रदान गर्दै आएको छ । फेलोसिप अन्तर्गत पहिलो र दोस्रो ब्याचका २१ जना फेलो लेखकहरुले लेखेको आलेखहरुको सङ्ग्रह ’महिला आन्दोलनको सहखोजी ः सन्धान सङ्ग्रह शृङ्खला १’ सन् २०२४ मा प्रकाशित भइसकेको छ ।