Dashain Banner
Dashain Banner

त्यो अनिदो रात

कविता
आइतबार, जेठ ९, २०७८

त्यो रात 
तिमी पनि अनिदै थियौ 
म पनि अनिदै थिएँ । 
तिमी र म बाँचेको समय उही थियो 
देश एउटै थियो 
तिमी र म हुर्केको समाज र परिवेश लगभग उस्तै थियो 
तिम्रो र मेरो लिंग एउटै थियो । 
तर, तिमी अनिदो हुनु र म अनिदो हुनुको उद्देश्य भिन्न थियो
म अस्पताल खोज्दै थिएँ 
अक्सिजनका खातिर भौतारिएकी थिएँ 
एम्बुलेन्स नपाएर आफ्नी प्रियतमलाई बोकेर हिड्दै
गरेका ती हजुरबा मेरा आँखा वरिपरि आइरहेका थिए 
प्राणवायु नपाएर संसार हेर्ने रहर भएकाहरु 
प्लास्टिकमा बेरिएका थिए 
शवबाहनको अभावमा मृतकहरुलाई 
क्रेनले बोक्दै गरेका समाचार हेर्दै थिएँ 
त्यो रात तिमी पनि अनिदै थियौ र म पनि ।
तर,
तिमी एउटा सुसुप्त जिजिविषा पुरा गर्न 
अनिदै थियौ 
स्वार्थले भरिएको त्यो जिजिविषाका लागि
तिमी साक्षी बस्यौ
 आफूलाई बिर्सियौ 
पद बिर्सियौ 
तिम्रो पदसँग सिन्दुर साटेका दिदीबहिनी बिर्सियौ 
विश्वासमा ठेस लगायौ 
८४ पुगेकी मेरी हजुरआमा 
मृत्युको केही दिन अघिसम्म पनि तिम्रो कुरा गर्थिन् 
तिमी त्यहाँ पुगेकोमा गौरवान्वित थिइन् ।
त्यो अनिदो रात तिम्रो अनि मेरो 
फरक फरक उद्देश्यका लागि ।


 

प्रकाशित मिति: आइतबार, जेठ ९, २०७८  १३:४५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार