राष्ट्रपति पौडेलद्वारा भानुजयन्तीको शुभकामना, नेपाली भाषा र साहित्यको संरक्षणमा जोड

सोमबार, असार २९, २०८३

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आदिकवि भानुभक्त आचार्यको २१३औँ जन्मजयन्तीको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली भाषाप्रेमीमा शुभकामना व्यक्त गरेका छन् । राष्ट्रपति पौडेलले एक सन्देश जारी गर्दै भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको विकासमा पुर्‍याएको योगदानको स्मरण गरेका छन् । उनले भानुभक्तको योगदानले नेपाली भाषालाई जनताको भाषाका रूपमा स्थापित गर्न महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरेका छन् । राष्ट्रपति पौडेलले तनहुँको चुँदीरम्घामा विसं १८७१ असार २९ गते पिता धनञ्जय आचार्य र माता धर्मावतीदेवीका सुपुत्रका रूपमा जन्मिएका भानुभक्त आचार्यलाई नेपाली साहित्यका प्राथमिक कालका प्रतिनिधि कविका रूपमा स्मरण गरेका छन् । उनले संस्कृत भाषामा रहेको वाल्मीकि रामायणलाई सरल, शिष्ट र रोचक शैलीमा नेपाली भाषामा अनुवाद गरेर भानुभक्तले नेपाली साहित्यको जग बसालेको बताएका छन् । भानुभक्तीय रामायणले हिमाल, पहाड र तराईमा रहेका नेपालीबीच भावनात्मक एकता कायम गर्न तथा जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण भूमिका खेलेको राष्ट्रपति पौडेलको भनाइ छ । राष्ट्रपति पौडेलले भानुभक्त आचार्यले नेपाली भाषा, साहित्य र संस्कृतिको संवद्र्धनमा पु¥याएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उहाँले नेपालीभाषी समुदायबीच भाषिक एकता कायम गर्न महत्वपूर्ण योगदान दिएको बताएका छन् । भानुभक्तको जन्मस्थललाई साहित्यिक, ऐतिहासिक तथा सांस्कृतिक स्थलका रूपमा विकास गर्न सकेमा उहाँप्रति सच्चा सम्मान हुने राष्ट्रपति पौडेलले बताएका छन् ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  ०८:४४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार