सोसल मिडिया
Contact Us
युनिकोड
पार्टी, संसद, सार्वजनिक ठाउँमा प्रश्न गर्ने नेपाली कांग्रेसका नेता अब जवाफ दिने ठाउँमा पुगेका छन् । नेपाली कांग्रेसको १५औं महाधिवेशनले पार्टीका सभापतिमा निर्वाचित गरेपछि उनी जवाफ दिने ठाउँमा पुगेका हुन् । सक्रिय राजनीति गरेको ३५ वर्षपछि उत्कृष्ट मतसहित सभापतिको जिम्मेवारीमा सम्हाल्ने गरी निर्वाचित भए । सभापतिका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीलाई भारी मतान्तरले हराएर थापा सभापति निर्वाचित भएका हुन् । आन्तरिक लोकतन्त्रलाई बलियो बनाउन श्यामकृष्ण खड्गीको उम्मेवारी महत्वपूर्ण हो । यो कुरा पाटी सभापति गगन थापाले मतपरिणाम सार्वजनिक भएपछि सानेपास्थित पाटी कार्यालय पुगेर पनि बताएका छन् । शनिवार बिहान बिहान सार्वजनिक भएको मतपरिणाम अनुसार गगन थापाले ६ हजार ५८४ मत प्राप्त गरे भने उनीसँगै प्रतिस्पर्धा गरेका खड्गीले ३७५ मत ल्याए । विद्यार्थी राजनीतिबाट स्थापित गगन थापाले आफ्नो राजनीतिक यात्रका क्रममा प्रतिपक्षको मात्रै आलोचना गरेनन् । आफ्नै पार्टी नेतृत्व, आफ्नै सहकर्मी र आफैले गरेका निर्णय र बोलेका कुराहरुको आलोचना गरे । सुधार गर्नुपर्ने पक्ष औल्याए । कुन कुन क्षेत्रमा के र कसरी सुधार गर्नुपर्छ भन्ने कुरा बुँदागत रुपमा समेत बताए । सभापतिको पदमा निर्वाचित भएपछि उनले कांग्रेस सुधार गर्नका लागि आफ्नो एक प्रयास र जित मात्रै पर्याप्त नभएको बताए । निर्णय शैली, काम गर्ने शैली, जनतालाई छिटो दिनुपर्ने डेलिभरी जस्ता कुरालाई उनले प्राथमिकतामा राखेका छन् । उपविजेता भएका साथीहरुलाई पनि न्याय र विवेकको आँखाले हेर्ने बताएका छन् । उनले यो विषय भावनाका विषय पक्कै होइन । यसलाई उनले के र कसरी व्यवस्थापन गर्ने छन्, त्यसको निर्मम समीक्षा उनको नेतृत्वले गर्ने नै छ ।
नेपाली कांग्रेसभित्र गणतन्त्रको मुद्दा भित्राउने पहिलो व्यक्ति हुन् गगन । २०८२ भदौमा भएको जेनजी आन्दोलनका बेला तत्कालीन सरकारले गरेको क्रुर दमनको विरोध गर्ने आँटिला नेता हुन् गगन । त्यतिबेला, उनका समवयीहरु आफ्ना नेताहरुको चरम लापरवाही र जवाफदेहिताप्रति मौन थिए । त्यतिबेलाको उनको विरोधले नेतृत्वले गलत गर्दा त्यसलाई टुलुटुलु हेरेर र सुनेर बस्नु हुँदैन भनेर सन्देश दिने नेताको पहिचान बनाउन सक्यो । सभापति पदमा भारी मतले निर्वाचित भएका उनले पाटीभित्र आफूले चमत्कार हुने गरी केही गर्न नसक्ने बताएका छन् । तर, उनले भनेका छन्, ‘कठोर निर्णय गर्ने ठाउँबाट पछि हट्दिन । कठोर प्रश्नहरुबाट पनि भाग्दिन् ।’ काग्रेसले गुमाएको शाख फिर्ता ल्याउन आफूलगायत कांग्रेस कार्यकर्ताले आफ्नो सस्कार, सोच्ने र जिम्मेवारी लिने तरिका, जवाफदेहिता लिने कुरामा बदलिनुपर्ने उनले बताएका छन् । यी सबै काम गर्दै गर्दा एकतालाई मूल मन्त्र बनाउने सन्दर्भमा उनी दृढ छन् । केन्द्रीय समितिले ल्याउने कार्ययोजना अनुसार काम गरेर कांग्रेसको विगतको कार्यशैलीबाट निराश भएका शुभचिन्तक र शुभेच्छुकलाई कांग्रेसको घरमा भित्राउने बताएका छन् । थुप्रै राजनीतिक आरोह–अवरोह खेपेका गगनको लोकप्रियता भने सधैँ उच्च विन्दुमा पुग्नुका पछाडि उनका केही पहिचान छन् । ती पहिचान हु्न्– स्पष्ट बोल्नु, विषयवस्तुलाई नागरिकको चक्षुबाट हेर्नु र जस्तोसुकै अप्ठ्यारोमा पनि सम्भावना देख्ने शक्ति र आँट हुनु । यिनै पहिचानको कारण उनले पार्टीभित्र अन्य नेताले राजतन्त्रको बारेमा वकालत गरिरहँदा गणतन्त्रको आवाज उठाए । बदलिएको परिस्थिति अनुसार जानुपर्ने मतसहित विशेष महाधिवेशनमा होमिनु पनि एउटा अर्को महत्वपूर्ण आँट हो, जुन पार्टीको शाख जोगाउने महत्वपूर्ण माध्यम बन्यो । यसका बाबजुद पनि विशेष महाधिवेशन हुँदै महाधिवेशनबाट कांग्रेस सभापतिमा निर्वाचित भएका गगन नेतृत्वको कांग्रेसको सामु चुनौतीका चाङ छन् ।
गगनका चुनौती नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगन थापाका सामु सांगठनिक र राजनीतिक चुनौती छन् । सबैभन्दा ठूलो चुनौती कांग्रेसको साख फर्काउने हो । यो चुनौती सामना गर्दै गर्दा अन्य दलहरुले गरेका कामको छिद्र खोज्नु भन्दा आफूले राम्रो र दिगो परिणाम दिने गरी काम गर्नु अत्यावश्यक छ । त्यसैगरी राजनीतिक संस्कार पनि त्यति नै आवश्यक छ । सभापति थापाले आफ्ना पछिल्ला भाषणहरुमा ‘गुटबन्दी छैन । अब गुटबन्दी सकियो’ भनेपनि, गुटबन्दी सकिएको छैन । त्यो गुटबन्दीबाट पार्टीलाई मुक्त बनाउनु अर्को ठूलो चुनौती हो । गुटबन्दीको बलियो प्रमाण समानान्तर रुपमा भइरहेको अधिवेशन हो । गगन थापालाई नेपाली कांग्रेस सभापतिका रुपमा शेरबहादुर देउवा पक्षले स्वीकार गरेको छैन । पार्टीभित्र समानान्तर गतिविधि भइरहँदा यसको असर केन्द्रदेखि स्थानीय तहसम्म पर्छ । संगठन निर्माणदेखि अब हुने स्थानीय तह र प्रदेशको निर्वाचनमा समेत यसको प्रभाव पर्ने निश्चित छ । अब गगनको परीक्षा पार्टीलाई एकताबद्ध बनाउने र जनताको विश्वास जित्ने कामबाट सुरु हुनेछ । त्यसो त सभापति थापाले नागरिकले डेलिभरी चाहेका छन् भन्दै पार्टीको क्रियाशिल सदस्यसम्मलाई खाली हात बस्न नदिने कुरा पटक पटक दोहोर्याएका छन् । उनले आफ्ना भाषणहरुमा पटक पटक दोहोर्याएको यो वाक्यले के भन्छ भने, उनले कार्यकर्तामा कार्यकुशलता वृद्धि गर्ने र परिणाम दिने कामलाई प्राथमिकतामा राखेका छन् । कांग्रेस बदलिएको छैन । सभापति पदमा व्यक्ति बदलिनु, केही क्लस्टर थपिनु र केही नयाँ अनुहार आउनुलाई कांग्रेस बदलियो भन्न मिल्दैन । काम गर्ने संस्कार, काम गर्ने शैली, नागरिकप्रतिको जवाफदेही हुनु र जिम्मेवार नेताको तयार पार्नु अहिलेको आवश्यकता हो । सबैभन्दा महत्वपूर्ण विषय त के हो भने, पार्टीलाई माया गर्ने नेता, कार्यकर्ताको तयार पार्नु अहिलेको मुख्य चुनौती हो । त्यति मात्रै होइन, सबैलाई समेट्ने र सबैलाई स्थान दिने नाममा पार्टीप्रति समर्पित नभएकाहरुले जिम्मेवारी र स्थान स्थान पाउने निश्चित छ । यसले पार्टीप्रति समर्पितलाई न्याय गर्दैन । यसबाट आउने घातक र दुरगामी परिणामबारे नयाँ नेतृत्व सजग हुनुपर्छ । स्थानीय तह नागरिकसम्म पुग्ने सबैभन्दा महत्वपूर्ण माध्मय हो । स्थानीय तहका जनप्रतिनिधिको कामको समीक्षा गर्ने, जनताका गुनासा सुन्ने र पार्टीको उनीहरुको प्रतिबद्धताप्रति प्रश्न गर्ने संयन्त्र निर्माण गर्नु आवश्यक छ । थापाका लागि महाधिवेशनबाट प्राप्त जिम्मेवारी सुरुवात मात्र हो । अब उनले आफ्ना निर्णय, कार्यशैली र परिणामबाट नेतृत्वको प्रभाव देखाउनुपर्छ । युवा पुस्ताको उत्साह र अनुभवी नेताहरूको योगदानलाई एउटै उद्देश्यमा जोड्न सके कांग्रेसले आफ्नो संगठनलाई नयाँ ढंगले अघि बढाउन सक्छ । कांग्रेसको महाधिवेशन केवल नेतृत्व परिवर्तनको विषय होइन । यो पार्टीको कार्यसंस्कृति, जनताप्रतिको जवाफदेहिता र राजनीतिक प्रतिबद्धतामा सुधार ल्याउने प्रक्रिया हो । गगन थापाको नेतृत्वले यी विषयलाई कति व्यवहारमा उतार्न सक्छ, त्यसले नै कांग्रेसको आगामी राजनीतिक यात्रालाई आकार दिनेछ । जन–जनको मनमा रहने कांग्रेस निर्माण हुनेछ ।