Dashain Banner
Dashain Banner

एनआरएनए अमेरिकाजको क्षेत्रीय सम्मेलनमा १० करोड डलर लगानीको एजेन्डा

बिहीबार, असोज २९, २०८३

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) अमेरिकाज क्षेत्रको १०औँ क्षेत्रीय सम्मेलनमा नेपालमा करिब १० करोड अमेरिकी डलर बराबरको लगानी सम्भावना र सहकार्यका विषयमा छलफल हुने भएको छ । सन् २०२७ अप्रिल २४ र २५ मा क्यानडाको टोरन्टोस्थित होटल रेडिसनमा ‘कनेक्टिङ फर प्रस्पेरिटी’ नारासहित सम्मेलन आयोजना हुन लागेको हो । एनआरएनए अमेरिकाजका क्षेत्रीय संयोजक भुवन खरेलका अनुसार सम्मेलनमा विदेशमा रहेका नेपालीको पुँजी, ज्ञान, सीप, प्रविधि र अनुभवलाई नेपालको आर्थिक तथा सामाजिक विकासमा परिचालन गर्ने विषयलाई प्राथमिकता दिइनेछ । लगानीसँगै गैरआवासीय नेपाली नागरिकताको कार्यान्वयन, वंशजको नागरिकतासम्बन्धी सरोकार, कृषि, जलविद्युत्, दोस्रो पुस्ताको सहभागिता र ज्ञान हस्तान्तरण सम्मेलनका प्रमुख एजेन्डा रहनेछन् । सम्मेलनमा नेपालका परराष्ट्रमन्त्री शिशिर खनाललाई निमन्त्रणा गरिएको खरेलले बताएका छन् । सरकारका प्रतिनिधि र प्रवासी नेपालीबीच प्रत्यक्ष संवाद गराई लगानीका सम्भावना, नागरिकतासम्बन्धी समस्या र नीतिगत सुधारका विषयमा छलफल गर्ने तयारी छ । नेपालमा लगानी गर्न इच्छुक गैरआवासीय नेपालीले भोगिरहेका नीतिगत अस्पष्टता, प्रशासनिक झन्झट र लगानी सुरक्षाका विषयलाई समेत सम्मेलनमा उठाइनेछ । विदेशमा आर्जित पुँजीलाई उत्पादनमूलक उद्योग, व्यवसाय र रोजगारी सिर्जनामा परिचालन गर्न सामूहिक लगानी तथा सम्भावित परियोजनाबारे छलफल गरिने खरेलले बताएका छन् । कृषि क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तारलाई पनि सम्मेलनले प्राथमिकता दिनेछ । खरेलका अनुसार गैरआवासीय नेपालीको पहलमा गुल्मीको आँपचौरमा करिब एक हजार रोपनी क्षेत्रफलमा कफी खेती सुरु गरिएको छ । उक्त परियोजनालाई पाँच हजार रोपनीमा विस्तार गर्ने लक्ष्य राखिएको छ । कफी खेतीलाई व्यावसायिक रूपमा विस्तार गर्ने, उत्पादन र गुणस्तर बढाउने, प्रशोधन तथा ब्रान्डिङ गर्ने र अन्तर्राष्ट्रिय बजारसम्म पहुँच विस्तार गर्ने सम्भावनाबारे सम्मेलनमा छलफल हुने अपेक्षा गरिएको छ । कृषि क्षेत्रमा प्रवासी नेपालीको पुँजी, प्रविधि र बजारसम्बन्धी अनुभव परिचालन गरी उत्पादन वृद्धि तथा ग्रामीण क्षेत्रमा रोजगारी सिर्जना गर्ने विषय पनि प्राथमिकतामा रहनेछ । त्यसैगरी, जलविद्युत् क्षेत्रमा गैरआवासीय नेपालीको लगानी विस्तार तथा आयोजनाको विकासका विषयमा छलफल गरिनेछ । ऊर्जा उत्पादन, वित्तीय व्यवस्थापन, प्रसारण पूर्वाधार र विद्युत् बजारसँग सम्बन्धित चुनौतीलाई सम्बोधन गर्दै थप लगानीका अवसर पहिचान गर्ने सम्मेलनको उद्देश्य छ । गैरआवासीय नेपाली नागरिकतासम्बन्धी कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन र वंशजको नागरिकतासम्बन्धी सरोकारलाई नीतिगत तहसम्म पु¥याउने विषय पनि सम्मेलनको एजेन्डामा समेटिएको छ । विदेशमा रहेका नेपालीले नागरिकतासम्बन्धी अधिकार व्यवहारमा उपयोग गर्दा भोग्ने प्रशासनिक तथा कानुनी समस्याबारे सम्बन्धित सरकारी निकायसँग छलफल गर्ने तयारी छ । विदेशमा जन्मिएका तथा हुर्किएका नेपाली मूलका युवालाई मातृभूमिसँग जोड्ने र एनआरएनएका गतिविधिमा उनीहरूको सहभागिता बढाउने विषयलाई पनि महत्त्व दिइनेछ । विदेशमा विभिन्न क्षेत्रमा अनुभव हासिल गरेका नेपाली विज्ञ, प्राविधिक, अनुसन्धानकर्ता तथा उद्यमीको ज्ञान र सीपलाई नेपालको शिक्षा, प्रविधि, नवप्रवर्तन तथा उद्यमशीलताको विकासमा उपयोग गर्ने विषयमा समेत छलफल हुनेछ । सम्मेलन व्यवस्थापन खर्च कटाएर बाँकी रहने रकम एनआरएनए क्यानडाको नेपाली घर परियोजनामा लगानी गर्ने प्रस्तावसमेत अघि सारिएको छ । प्रस्ताव कार्यान्वयन भए क्यानडामा नेपाली समुदायको साझा भेटघाट, सांस्कृतिक गतिविधि र सामुदायिक पहिचान प्रवद्र्धन गर्ने पूर्वाधार विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ । क्षेत्रीय संयोजक खरेलले सम्मेलन सफल बनाउन क्यानडावासी नेपाली, अमेरिकाज क्षेत्रका एनआरएनए अभियन्ता तथा विश्वभर छरिएर रहेका नेपाली समुदायलाई सक्रिय सहभागिता र सहयोगका लागि आग्रह गरेका छन् । उनका अनुसार सम्मेलनलाई औपचारिक भेटघाटमा सीमित नराखी प्रवासी नेपालीको सामूहिक पुँजी, सीप र अनुभवलाई नेपालको आर्थिक विकासमा जोड्ने ठोस आधार निर्माण गर्ने मञ्चका रूपमा विकास गर्ने लक्ष्य राखिएको छ ।

प्रकाशित मिति: बिहीबार, असोज २९, २०८३  ०९:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार