Dashain Banner
Dashain Banner

१०९ सामुदायिक विद्यालयको पूर्वाधार विकासमा साढे ६ अर्बभन्दा बढी लगानी

बुधबार, असोज २८, २०८३

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत १०९ वटा सामुदायिक विद्यालयको भौतिक पूर्वाधार सुधारका लागि ६ अर्ब ५४ करोड रुपैयाँ बजेट छुट्याएको छ । सामुदायिक विद्यालयमा विद्यार्थीको आकर्षण बढिरहेका बेला शैक्षिक वातावरणलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले सरकारले ठूला विद्यालयलाई प्राथमिकतामा राखेर पूर्वाधार विकासको योजना अघि बढाएको हो । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलका अनुसार चालु आर्थिक वर्षमा विनियोजित बजेटमध्ये पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको छ। उक्त रकमबाट विद्यालयमा १२ कोठे तीनतले भवन निर्माण गरिनेछ।प्रति विद्यालय करिब ६ करोड रुपैयाँ लागत अनुमान गरिएका भवनमा आधुनिक कक्षाकोठा, प्रयोगशाला र पुस्तकालयको व्यवस्था गरिने मन्त्री पोखरेलले बताएका छन्। यसबाट विद्यार्थीलाई सुरक्षित र गुणस्तरीय सिकाइ वातावरण उपलब्ध गराउन सहयोग पुग्ने उनको भनाइ छ । मन्त्री पोखरेलले केही सामुदायिक विद्यालयमा विद्यार्थीको चाप बढिरहेको र केही विद्यालयमा विद्यार्थी अभाव रहेको अवस्थालाई ध्यानमा राखेर पूर्वाधार सुधारको काम अघि बढाइएको बताएका छन् । ‘कतिपय सामुदायिक विद्यालयहरूमा विद्यार्थीको उच्च चाप हुनु खुसीको विषय हो भने केही विद्यालयहरू विद्यार्थी अभावबाट गुज्रिरहेको यथार्थप्रति हामी उत्तिकै सचेत छौँ । विद्यालयहरूबीचको यो असमानतालाई चिर्न हामीले अहिले ठूला विद्यालयबाट पूर्वाधार सुधार सुरु गरेका हौँ,’ उनले भने । उनले आगामी दिनमा सबै सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र भौतिक पूर्वाधारलाई समान रूपमा सुदृढ बनाउने प्रतिबद्धता पनि व्यक्त गरेका छन् । सामुदायिक शिक्षाको गुणस्तर सुधार गर्न शिक्षक, अभिभावक र विद्यार्थी सबैको सहकार्य आवश्यक रहेको उल्लेख गर्दै मन्त्री पोखरेलले शिक्षा क्षेत्रको रूपान्तरणमा हातेमालो गर्न आह्वान गरेका छन्।

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  १०:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार