सोसल मिडिया
Contact Us
युनिकोड
कास्की । उच्च अदालत पोखराले गत वर्ष वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनअन्तर्गत पोखरा महानगरपालिका–१८ मा पुनः मतगणनाको आदेश दिएको छ । सो वडामा तीन मतान्तरले नेपाली कांग्रेसको तर्फबाट वडाध्यक्ष पदका उम्मेदवार शिवप्रसाद तिमिल्सिना विजयी भएका थिए । नेकपा एमालेका तर्फबाट वडाध्यक्षका प्रत्याशी पुष्कल थापाले गणनामा धाँधली भएकाले पुनः मतगणनाको मागसहित उच्च अदालतमा निवेदन दिएका थिए । थापाको निवेदनमाथि आज सुनुवाइ गर्दै उच्च अदालतका कायममुकायम मुख्य न्यायाधीश डिल्लीराज आचार्य र न्यायाधीश ऋषिराज भण्डारीको संयुक्त इजलासले गणना बदर गरी आगामी वैशाख २० गते पुनः मतगणना गर्न आदेश गरेको हो । गणनाको जनशक्ति व्यवस्थापनका लागि प्रदेश निर्वाचन कार्यालय पोखरा र स्थान तोक्नका लागि उच्च अदालतका रजिष्ट्रारलाई आदेश दिएको छ । यसअघि निर्वाचन आयोगले सार्वजनिक गरेको यो वडाको अन्तिम मत परिणाममा वडाध्यक्षमा विजयी तिमिल्सिनाले एक हजार छ सय ४३ र थापाले एक हजार छ सय ४० मत पाएका थिए । तिमिल्सिना विजयी भएको घोषणा गरिएको थियो । थापाले परिणाम घोषणालगत्तै पुनः गणनाको माग गरे पनि निर्वाचन आयोगले गणना अस्वीकार गरेको थियो ।