ललितपुर महानगरका मेयर चिरीबाबु महर्जनले दिए केन्द्रीय सदस्यमा उम्मेदवारी 

मंगलबार, असोज २०, २०८३

ललितपर । ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जारी नेपाली कांग्रेसका १५ औं महाधिवेशनमा केन्द्रिय सदस्य पदका लागि मनोनयन दर्ता गराएका छन् ।  नेपाली कांग्रेसको उम्मेदवार भएर उनी ललितपुर महानगरपालिकाको नगर प्रमुखको रुपमा दुईपटक निर्वाचित भए । वि.सं. २०७४ र वि.सं. २०७९ को स्थानीय तहको निर्वाचनमा उनी महानगरको मेयरमा निर्वाचित भएका हुन् । देशभरका ७ सय ५३ वटा पालिकामध्ये उदाहरणीय काम गरेको भन्दै चिरीबाबुलाई सम्झने गरिन्छ ।  केन्द्रीय सदस्यमा मनोनयन दर्ता गरेपछि उनले कांग्रेसको रुपान्तरण र रुपान्तरित कांग्रेसलाई बलियो बनाउन उम्मेवदारी दिएको बताए । उनले भने, ‘युवाको उmर्जालाई लिएर अघि बढ्नुपर्छ, यो अहिलेको आवश्यकता र माग दुवै हो ।’

यस्तो छ चिरीबाबुको राजनीतिक यात्रा 
कुनै दलमा आबद्ध नभएका उनी सुधारिएको पञ्चायत आएपछि २०३८ मा वडाअध्यक्ष उठे । जसमा उनले सहजै जित हासिल गरे । चिरीबाबु भन्छन्, ‘टोलटोलमा फ्री क्लिनिक र पुस्तकालय स्थापना गर्नमा नेतृत्वदायी भूमिका खेलेकाले चुनाव सजिलै जिते ।  ‘मेरो इमान्दारितामा अहिलेसम्म कसैले पनि औला उठाउन सकेको छैन, किनकी म जनताको पैसा खाँदिन र त मलाई जनताले मन पराउँछन् । अनि उनीहरूको विश्वास जितेको छु’, चिरीबाबु भन्छन् । २०३८ सालमा वडा अध्यक्ष चुनिए पनि त्रिभुवन विमानस्थलको प्रोजेक्टमा काम गरी रहे । त्यसो गर्नुको एउटा कारण थियो—घर व्यवहार चलाउनु । आत्मसन्तुष्टिका लागि उनी वडाअध्यक्ष भए, घर चलाउन जागिर खाए ।  विं.सं. २०४३ सालमा पनि उनले वडाअध्यक्ष पदमा चुनावमा होमिए र जिते । २०४६ सालमा बुहदललाई समर्थन गर्न उनले वडाध्यक्षबाट राजीनामा दिए । उनको कांग्रेस पार्टीसँगको आवद्धता भने रोचक छ । ०४९ सालमा उनलाई कांग्रेसले वडा नम्बर ३ को वडा अध्यक्षमा उठायो । त्यो चुनावमा पनि उनले विजय प्राप्त गरे । मुलुकमा संघीयता लागू भएपछि भएको स्थानीय तहको निर्वाचन २०७४ मा नेपाली कांग्रेसले उनलाई ललितपुर महानगरपालिकाको मेयरको उम्मेदवार बनायो । उक्त चुनावमा उनले जिते । वि.सं.२०७९ मा पनि चिरीबाबुले दोस्रोपटक महानगरपालिकाको मेयरमा भारी मत सहित विजय हासिल गरे ।

प्रकाशित मिति: मंगलबार, असोज २०, २०८३  १७:५१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार