भूकम्पले क्षतिग्रस्त विद्यालयको पुनःनिर्माण अन्तिम चरणमा

बिहीबार, साउन १४, २०७८

त्रिशूली । विनाशकारी भूकम्पले क्षति पुगेको नुवाकोटका अधिकांश विद्यालयको पुनःनिर्माण सम्पन्न भएको छ । भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणसहित अनुगमन, सुपरीवेक्षण र नियमनको जिम्मेवारी पाएको जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत नुवाकोटमा अधिकांश विद्यालयमा सुविधासम्पन्न नयाँ भवनको निर्माण गरिएको हो । विसं २०७२ वैशाख १२ मा गएको भूकम्पले क्षति पु¥याएपछि अस्थायी तथा जोखिम भवनमा कक्षा सञ्चालन हुँदै आएकामा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत भूकम्पसहित बहुविपद् प्रतिरोधात्मक भवनसहित खानेपानी र शौचालयको समेत सुविधा उपलब्ध गराइएको एकाइ प्रमुख दीनानाथ गौतमले जानकारी दिए । उनका अनुसार भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणसहित सङ्घसंस्था र दातृ निकायसँगको समन्वयमा क्षतिग्रस्त भएका २८४ विद्यालयको एक हजार ५१ कक्षाकोठाको पुनःनिर्माण गर्नुपर्ने दायित्वमा अहिलेसम्म २४२ विद्यायलको नयाँ भवन निर्माण सम्पन्न गरिएको छ ।
‘पुनःनिर्माण गर्न बाँकी केही विद्यालयमा निर्माणको काम जारी छ’, एकाइ प्रमुख गौतमले भने, ‘विभिन्न समस्याका कारण केही ढिलो भएको संरचना अबको केही सातादेखि महिना दिनभित्रै सम्पन्नको नजिक पु¥याइएको छ ।’ क्षतिग्रस्त विद्यालयको पुनःनिर्माणका क्रममा नुवाकोटमा जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत विद्यालय व्यवस्थापन समितिले ८९१ वटा कक्षाकोठाको निर्माण गरेको छ भने अझै केही विद्यालयमा कक्षाकोठा निर्माण भइरहेको छ ।
एकाइको कार्यालयमार्फत अनुगमन, सुपरीवेक्षण र नियमनमा जापानी सहयोग नियोग (जाइका)को ऋण सहयोगमा ७० वटा विद्यालय, भारतीय सरकारको अनुदान सहयोगमा नौवटा र एशियाली विकास बैंक (एडिबी) मार्फत छवटा विद्यालयको पुनःनिर्माण र भूकम्पले आशिंक क्षति पु¥याएका विभिन्न सातवटा विद्यालयको भवन प्रबलीकरणको काम भइरहेको एकाइ इञ्जिनीयर राजेन्द्र श्रेष्ठले जानकारी दिए । उनका अनुसार विद्यालयको भवन निर्माणका लागि अत्यावश्यक रहेको प्राविधिक जनशक्ति र कामदारको अभाव, सरोकारवाला पक्षबीच समन्वयको कमी, निर्माण प्रक्रिया, निर्माण सामग्री र विद्यालयसम्म पुग्ने पहुँचमार्ग (सडक)को कमीलगायतका कारण देखिएका समस्या हाल समाधान हुँदै पुनःनिर्माण सम्पन्नको नजिक पुगेको हो ।  ‘भूकम्पले क्षति पुगेका विद्यालयको पुनःनिर्माणका लागि केन्द्रमा जिल्ला आयोजना कार्यान्वयन एकाइको स्थापना भएसँगै नुवाकोटमा जिल्लास्थित कार्यालय स्थापना गरेर आर्थिक वर्ष २०७३÷०७४ देखि पुनःनिर्माण शुरु गरिएको थियो’, एकाइका इञ्जिनीयर श्रेष्ठले भने, ‘पछिल्लो दुई वर्षको अवधिमा कोरोनाले पु¥याएको प्रभावका कारण निर्माण सम्पन्न हुन बाँकी रहेका भवनको काम अबको चार महिनाभित्रै पूरा गर्ने नयाँ लक्ष्य राखिएको छ ।’ कोरोनाका कारण पछिल्लो दुई वर्षदेखि पुनःनिर्माणमा पुगेको असर नेपाल सरकारले थप गरेको कात्तिक मसान्तसम्मको अवधिमा विद्यालयको पुनःनिर्माण सम्पन्न गर्न सकिने नयाँ लक्ष्य लिइएको छ । भूकम्पले क्षति पु¥याएका विद्यालयमध्ये विद्यार्थी सङ्ख्या न्यून भएका विद्यालय नजिकै रहेका अर्को विद्यालयसँग गाभ्ने (मर्ज) सरकारी नीतिका कारण एकाध विद्यालयबाहेक अधिकांश विद्यालयमा अहिले सुविधासम्पन्न नयाँ भवनसहित खानेपानी सुविधा र शौचालयको व्यवस्था जिल्ला आयोजना कार्यान्वयन एकाइ (शिक्षा) मार्फत गरिएको छ ।
‘विद्यार्थी सङ्ख्या अत्यन्त कम भएको र साथमा जग्गासमेत कम भएका कारण तीन–चार विद्यालयमा नयाँ भवनको निर्माणको औचित्य र त्यसको व्यवस्थापन स्थानीय सरकारमार्फत सम्बोधन हुने गरेर समन्वय गरिएको छ’, एकाइ प्रमुख गौतमले जानकारी दिए । 

मर्मतसम्भार कोषको आवश्यकता 

भूकम्पले क्षति पुगेका विद्याललयको पुनःनिर्माणसँगै दिगोपन र टिकाउका लागि सरोकारवाला पक्षबाट चासो दिनुपर्ने देखिएको छ । पुनःनिर्माण गरिएका सुविधासम्पन्न भवनलाई अहिलेकै स्वरूपमा टिकाउन मर्मतसम्भार कोषको स्थापना गरेर सम्बन्धित विद्यालय तथा स्थानीय सरकारले यसमा जिम्मेवारी बहन गर्नुपर्ने इञ्जिनीयर श्रेष्ठको सुझाव छ ।
 
पुनःनिर्माणमा पाँच अर्ब ३० करोड लगानी 
भूकम्पले क्षति पुगेका विद्यालयका लागि शिक्षाको एकाइ कार्यालयमार्फत एक अर्ब ७० करोड रुपैयाँ लगानी भइसकेको छ । योसँगै मुख्य तीनवटा दातृ निकाय जाइका, एडिबी र भारतीय सरकारको तीन अर्ब ६० करोडसहित कूल पाँच अर्ब ३० करोड लगानी भएको एकाइ प्रमुख गौतमले जानकारी दिए । 
‘भूकम्प जानु भन्दाअघि ढुङ्गामाटोले बनेका साँघुरा कोठासहितको एकतले भवन रहेको विद्यालयमा पुनःनिर्माणपछि सुविधासम्पन्न फराकिलो कोठा तथा तीन तलेसम्मका नयाँ भवन बनेका छन्’, उनले भने, ‘भूकम्पले पुगेको विनाशपछिको पुनःनिर्माणले विद्यार्थीको शिक्षण सिकाइस्तर र क्षमतावान् जनशक्ति उत्पादनका लागि महत्वपूर्ण अवसरसमेत सिर्जना गरेको छ ।’ 
 

प्रकाशित मिति: बिहीबार, साउन १४, २०७८  १२:१०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार