नेपालमा शान्ति, अमनचयन र स्थिरता कायम भए युएईको भिसा छिट्टै सहज तथा खुकुलो हुनसक्छ : राजदूत क्षेत्री

मंगलबार, असोज २१, २०८२

अबुधावी (युएई) । संयुक्त अरब इमिरेट्सका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले पछिल्लो समय युएईमा देखिएको भिसा कडाइ, रोजगारीका नाममा भइरहेको ठगी, र दूतावासका सुधारात्मक प्रयासबारे मिडियालाई जानकारी गराएका छन् । 
दूतावासको धारणा राख्दै राजदूत क्षेत्रीले युएईले हाल नेपाली नागरिकका लागि भिजिट, कामदार, र विद्यार्थी भिसामा कडाइ गरेको कारणहरूमध्ये नेपालमा जेन्जी आन्दोलन पश्चात उत्पन्न राजनीतिक जटिल परिस्थिति पनि भएको बताए ।  
उनले भने, “युएई आफैंमा अत्यन्त शान्त, सुरक्षित तथा विकास, प्रगति र आर्थिक समृद्धिमा अगाडी बढिरहेको देश हो। नेपालमा जेन्जी आन्दोलनपछि जेलमा रहेका धेरै कैदी बन्दी तथा अपराधी बाहिरिएका छन्। जतिसक्दो छिटो हामी ती कैदीहरूलाई पुनः नियन्त्रणमा ल्याउँदैनौं, तबसम्म युएईजस्ता देशहरूले भिषामा कडाई हुन सक्ने देखिन्छ।”
क्षेत्रीका अनुसार, युएई सरकारले भिषा कडाई गरेको विषयमा कुनै औपचारिक जानकारी दूतावासले प्राप्त नभएको तथा देशको सुरक्षाको दृष्टीले यस किसिमका उपाय तथा सावधानीहरू अपनाउन लिइएको कदम हुनसक्छ । उनले विश्वास व्यक्त गरेका छन्, नेपालमा छिट्टै शान्ति र अमनचयन तथा स्थिरता र विश्वसनीय वातावरण हुनासाथ भिसा नीतिमा फेरि सहजता हुनेछ। युएईमा रहेका नेपालीहरू मेहनती, ईमान्दारी, लगनशिल, सरल,शिष्ट तथा बफादार भएकाले पनि नेपालीहरूलाई युएई सरकार र जनताले रोजगारीमा प्राथमिकतामा राखेको छन् । 
युएईमा रोजगारीका नाममा नेपालीले नेपालीलाई गर्ने ठगि र मानव बेचबिखनका घटनाबारे उनले गम्भीर चिन्ता व्यक्त गरेका छन् । भिजिट भिसा लिएर काम दिलाइदिने नाममा केही दलालहरूले नेपालीहरूबाट ठगी गर्ने क्रम बढेको उनको भनाइ छ । “हाम्रो दूतावासमा यस्ता घटनाबारे धेरै उजुरी आएका छन् । यस्ता अपराध गम्भीर प्रकृतिका हुन् र नेपालकै कानुन अनुसार कडाभन्दा कडा सजाय हुनुपर्छ। प्रमाणसहित उजुरी आए अनुसन्धान र कारबाही तुरुन्त अघि बढाइन्छ,” उनले भने । 
क्षेत्रीले नेपालीनागरिकहरूलाई सचेत गराउँदै भनेका छन्, “युएई रोजगारीमा आउदा सरकारबाट मान्यताप्राप्त एजेन्सीबाट मात्र आउनुन र सरकारले तोकेको रकम मात्र बैंक भौचर वा ट्रान्सफरको प्रमाण राख्नुपर्छ । यसले कानुनी प्रक्रिया अघि बढाउन सजिलो हुन्छ ।” उनले थप सुझाव दिँदै भने कि युएईमा नेपालीहरूको संख्या ७ लाख भन्दा बढी भएकाले बिभिन्न ठगी मानव बेचवखन तथाअपराधीक घटनाहरू तीव्र रूपमा बढ्दै गएको सन्दर्भमा अन्य देशले अपनाएका सुरक्षा प्रणाली जस्तै दूतावास मातहतमा यस्ता ठगी र अपराधिक गतिविधिमा संलग्नलाई आवश्य कारबाही तथा नियन्त्रण गर्न मद्दत पुर्‍याउने संयन्त्र आवश्यक देखिएको छ । दूतावासका सेवा सुधारबारे कुरा गर्दै राजदूत क्षेत्रीले राहदानी, भीषा, NOC, र अन्य कन्सुलर सम्बन्धी कामलाई छिटो, छरितो तथा प्रभाबकारी सेवा प्रवाह प्रदान गर्न अधिकतम प्रयास भइरहेको जानकारी दिए । “आपतकालीन अवस्थाहरू—जस्तै मृत्यु, दुर्घटना वा अस्पताल उपचारत बिरामीलाई तत्काल राहत, उद्धार तथा सहयोग तथा सहजिकरण गर्न दूतावासले गैर आवासीय नेपाली संघ तथा अन्य नेपाली संघसंस्थाहरूसंग सहकार्य गर्ने प्रणाली बनाएका छौं,” उनले स्पष्ट पारे । 
उनका अनुसार, युएईका विभिन्न सहरहरूमा मोबाइल राहदानी, कन्सुलर तथा श्रमिक सचेतना शिविर सञ्चालन गरिएको तथा थप स्थानहरूमा गर्ने तयारी पनि भइरहेको छ, जसले नेपाली समुदायलाई दूतावासका सेवामा सजिलो पहुँच दिलाउनेछ। साथै, नेपालीबीच एकता, सांस्कृतिक पहिचान र सहकार्य सुदृढ गर्न नियमित अन्तरक्रिया कार्यक्रम सञ्चालन गर्ने योजना पनि अघि बढाइँदै छ।
द्विपक्षीय सम्बन्धका विषयमा राजदूत क्षेत्रीले भने,  “नेपाल–युएई सम्बन्धलाई अझ प्रगाढ बनाउन ब्यापार, पर्यटन, श्रम, शिक्षा र लगानीका क्षेत्रलाई प्राथमिकतामा राखिएको छ। हामी चाहन्छौं कि नेपालीहरू सुरक्षित र कानुनी माध्यमबाट यहाँ रोजगारमा आउन्।” उनका अनुसार, ओभरस्टे वा कानुनी समस्यामा परेका नेपालीका हकहितमा दूतावासले निरन्तर सक्दो सहयोग गर्दै आएको छ।
हालै लागू गरिएको Visa Regulation Framework 2025 बारे उनले स्पष्ट पार्दै भने, “यो नीतिले सीप भएका वैध रोजगार र शिक्षाका लागि आएका नेपालीहरूलाई सहजता दिनेछ, तर अवैध माध्यमबाट आउनेहरू तथा सीप नभएका अदक्षका हकमा यो प्रणाली अझ कडाइपूर्ण हुनेछ।”
राजदूत क्षेत्रीले नेपाल र युएईबीचको प्रगाढ सम्बन्धलाई आगामी दिनमा अझ थप सुदृढ बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने,  “यदि नेपालले आफ्नो आन्तरिक स्थिरता, शान्ति र कानुनी विश्वसनीयता पुनःस्थापित गर्न सक्यो भने युएईले भिसा कडाइ चाँडै सरल सहज र खुकुलो बनाउने बिश्वास छ ।” 
यस्मा दूतावासले पनि आवश्यक पहल गरिरहेको जानकारी उनले दिएका छन् । उनले सबै नेपालीहरूलाई युएईको कानुन, मूल्य, मान्यता अक्षरस पालना गर्न, मादकपदार्थ सेवन नगर्नु हुन तथा ठग र दलालबाट सावधान रहन, र कुनै पनि समस्या आईपरेमा सिधै आबुधावीस्थित दूतावास तथा दुवईसथित कन्सुलेटमा सम्पर्क गर्न आग्रह गरेका छन् । 

प्रकाशित मिति: मंगलबार, असोज २१, २०८२  १०:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार