कसरी मनाउँछन् पशुअधिकारकर्मीले दशैं ?

मंगलबार, असोज १४, २०८२

काठमाडौं । दशैंमा के खाने ? धेरैजसोले भन्छन्— मासु । तर, पछिल्लो समय मासु बिनाको दशैं मान्नेहरूको जमात बढ्दैछ । मासु मात्रै होइन—पशुजन्य उत्पादन दूध, दही, ध्यू, मह, चिजलगायत केही नखानेहरूको संख्या बढ्दैछ । उनीहरू पशुको छाला, रौंबाट बनेका सामान पनि प्रयोग गर्दैनन् । अरु मानिस जसले मासु खान्छ, अझ भनाँै दशैंमा महत्व दिएर थरिथरिका परिकार बनाएर मासु खान्छ, उनीहरूलाई लाग्न सक्छ, मासु नखानेले कसरी दशैं मनाउँछन् ? मासु नखानेको दशैं कस्तो हुन्छ ? हो, हामीले यो र यस्तै प्रश्नको जवाफ खोज्न केही प्रतिनिधि व्यक्तिहरूसँग कुरा गरेका छौँ । उनीहरू हुन्, पशु अधिकारको क्षेत्रमा कार्यरत व्यक्ति भिगन स्नेहा श्रेष्ठ र विकेश श्रेष्ठ । कुरा सुरु गराँै, स्नेहा श्रेष्ठबाट । दशैं स्नेहा श्रेष्ठले कसरी मनाउँछिन् ? दशैैंको बेलामा उनी अरु बेला भन्दा धेरै व्यस्त हुन्छिन् । व्यस्तता यो अर्थमा कि उनी सेल्टरमा रहेका जनावरसँग धेरै समय बिताउँछिन् । भन्छिन् ‘आउट डोरको काम हुँदैन, त्यसैले धेरै जसो समय सेल्टरमा बिताउँछु ।’ सामुदायिक कुकुर, बेबारिसे अवस्थामा छाडिएका अन्य जनावरलाई आश्रय दिन उनले स्नेहाज केयर सञ्चालन गरेकी छन् । यो केयरको उनी संस्थापक हुन् । दशैंको बेला उनी जनावरलाई नयाँ नयाँ खानेकुरा खुवाउने, उनीहरूसँग समय बिताउने गर्छिन् ।

WhatsApp-Image-2025-09-30-at-22.59.34-1759253680.jpeg
विकेश श्रेष्ठ पशुअधिकारकर्मी हुन् । उनी भिगन भएको २१ वर्ष भयो । दशैंको बिदामा उनले पशुअधिकारसँग सम्बन्धित पुस्तक पढ्दैछन् । भिगन सम्बन्धी पुस्तक पनि प्राथमिकतामा राखेका छन् पढ्नलाई । भन्छन्, ‘जनावरसँग सम्बन्धित टिभी च्यानलहरू पनि हेर्छु ।’ अरु बेला भन्दा दशैंको थोरै फुर्सदिलो हुन्छ उनका लागि । यो समयका लागि विशेष योजना बन्छ । विकेश कस्तो खानपिन गर्छन् त ? उनी फलफूल खान्छन् । फलफूलमा गुलियो, अमिलो, टर्रो सबै खालका फलफूल मिलाएर खान्छन् । गेडागुडी पनि उनको प्राथमिकतामा पर्छ । बलियो हुन मासु खानुपर्छ भन्ने मान्यता गलत भएको दाबी गर्छन् उनी । देवीलाई खुशी पार्ने नाममा बली दिने कामलाई अमानवीय काम भन्छन् उनी ।

WhatsApp-Image-2025-09-30-at-23.01.08-1759253678.jpeg
बलियो हुन, तागत प्राप्त गर्न तागतका लागि मासु र दुध, दही खानुपर्छ भन्ने लाग्दैन उनलाई । ६५ वर्षका विकेश भन्छन्, ‘केही दिन अघि म ६ हप्ता ट्रेकिङ गएँ, मेरा छिमेकी, आफन्त मलाई देखेर छक्क पर्नुभयो ।’ पशु कल्याण संघकी अध्यक्ष स्नेहा श्रेष्ठ पनि फलफूलमा जोड दिन्छिन् । उनी तोफु, सोया मिल्कको प्रडक्टलाई प्राथमिकतामा राख्छिन् । बलियो हुन मासु खानुपर्छ भन्ने भावना गलत भएको उनको भनाई छ । बालुवाटारमा मासुका लागि काट्न ठिक्क पारेको खसीलाई उद्धार गरेर घरमा ल्याएपछि स्नेहाले मासु खान छाडेकी रहेछिन् । उनी कसरी शाकाहारी भइन् ? त्यतिबेला पनि अहिले जस्तै उनको घरमा झण्डै एक दर्जन कुकुर थिए । ती कुकुरहरू स्नेह घरबाट निस्कँदा ढोकासम्म आइपुग्थे । उद्धार गरेर ल्याएको खसी पनि कुकुरसँगै बाहिर निस्कन्थ्यो । उनले भनिन्, ‘त्यतिबेला मलाई लाग्यो, कुकुरलाई माया गर्ने मैले, खसीको मासु खानु हुन्न भन्ने सोचेँ, त्यसपछि म शाकाहारी भएँ ।’ दुध र दुधजन्य परिकार खान छाड्नुको पनि कारण सुनाइन् उनले । उद्धारपछि स्नेहाज केयरमा आइपुगेको बाच्छिलाई बचाउन निक्कै मिहेनत गरिन् उनले । बोतलबाट दुध फिड समेत गराइन् । अन्तत उनीहरूले बच्छी बचाउन सकिनन् । त्यसपछि उनलाई लाग्यो, ‘गाईको दुध त बाच्छीलाई पो हो, जसलाई दुध चाहिने हो, उसले पाएन, जसलाई चाहिँदैन उसले दुध खान्छ’ मनमा यस्तो भावना आएपछि उनी भिगन भइन् । त्यसपछि उनले मासु, दुधजन्य पदार्थ खाइनन् । जनावरको रौ र छालाबाट बनेको कुरा लगाइन् । अर्थात उनी भिगन बनिन् । विकेश श्रेष्ठ कसरी शाकाहारी बने ? प्रसंग रोचक छ । ४० वर्ष अघि शाकाहारी बनेका विकेश भन्छन्, ‘दशैंको बेलामा कुखुरा काट्न लैजानुपथ्र्यो, तर मलाई यो काम गर्न पट्क्कै मन पर्दैन थियो ।’ बौद्ध धर्मबाट प्रभावित उनी बुद्धको जातक कथा पढेपछि पशुअधिकारको क्षेत्रमा लागेका थिए । पशुअधिकारको क्षेत्रमा काम गर्दागर्दै उनको भिगनहरूसँग भेट भयो । त्यो भेटमा उनीहरु दहीमा भएको ब्याक्टेरिया उपकरण मार्फत देखाए । त्यसपछि उनले दुधजन्य पदार्थ खान छोड । अर्थात उनी भिगन भए । धर्मको नाममा बली दिएर स्वादको लागि पशुको हत्या गर्नु निन्दनीय काम भएको बताउँछन् स्नेहा र विकेश । उनीहरू भन्छन्, ‘पशुको हत्या कुनै पनि नाममा ठिक होइन, पशुको बाँच्न पाउने अधिकारको सबैले सम्मान गर्नुपर्छ ।’

WhatsApp-Image-2025-09-30-at-23.01.29-1759253678.jpeg
 

प्रकाशित मिति: मंगलबार, असोज १४, २०८२  २३:२३
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार