ललितपुर महानगर १४ नं. वडा मा शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया 

प्रहरीका हतियार लुटिनु तथा कारागारबाट भागेका कैदी बन्दीका कारण समाजमा त्रास फैलियो : स्थानीय (भिडियो)

सोमबार, असोज २७, २०८२

तिखिदेवल (ललितपुर) । गत भदौ २३ र २४ गते भएको जेनजी पुस्ताको प्रदर्शनका क्रममा प्रहरीका हतियार लुटिनु तथा विभिन्न अभियोगमा कारागार बसेका कैदीहरु ठूलो संख्यामा भाग्दा समाजमा त्रास फैलिएको ललितपुर महानगर १४ नं वडाका स्थानीयवासीले वडाका जनप्रतिनिधिलाई साक्षी राखेर ललितपुर प्रहरी प्रमुख समक्षा चिन्ता व्यक्त गरे ।  समुदाय प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत ललितपुर महानगरपालिका वडा नं. १४, प्रहरी बृत्त सातदोबाटो र सामुदायिक प्रहरी सेवा केन्द्र तिखेदेवलको सयुक्त आयोजनामा सामुदायिक विकास केन्द्रको सभाहलमा आयोजित शान्ति सुरक्षासम्बन्धी छलफल तथा अन्तरक्रिया कार्यक्रमका सहभागीले जेनजी पुस्ताको प्रदर्शनपछि १४ नं वडाका वडावासीसँग प्रहरीले गरेको अन्तरक्रियामा यसरी चिन्ता व्यक्त गरेका हुन् । 

ho-p-1760372281.jpg
ललितपुर महानगरपालिका १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महतको अध्यक्षतामा आयोजित छलफल तथा अन्तरक्रिया कार्यक्रममा जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) होबिन्द्र बोगटी समक्ष वडावासीले चिन्ता व्यक्त गर्दा प्रहरी प्रमुख बोगटीले वडावासीलाई आश्वस्त पार्दै भने, 'प्रहरी उठिसकेको छ । अपराध अनुसन्धानसहितका गतिविधिमा क्रियाशील भइसकेको छ । भागेका कैदीहरुलाई प्रहरीले खोजी रहेको छ । आज मात्रै कारागारबाट भागेका ४ जनलाई प्रहरीले पक्राउ गरिसकेको छ । अपराधी भाग्न सक्दैनन । लुटिएका हतियारका कारण समाज असुरक्षित भएको छैन । प्रहरी अहिले पनि सूचना पाएको १० मिनेट भित्रै सम्बन्धित क्षेत्रमा पुग्ने छ ।'

Ho-pi-1760372280.jpg

अन्तरक्रिया कार्यक्रममा स्थानीयवासीले राखेका जिज्ञासाहरुको जवाफ दिने क्रममा ललितपुर प्रहरी प्रमुख एसएसपी बोगटीले भने, 'भदौ २३ र २४ गते भएको आन्दोलनमा भएको तोडफोड र आगजनीको घटनामा प्रहरीले सुष्म रुपमा हेरिरहेको छ । फोटो भिडियोसहित प्रोफाइल नै तयार पारेको छ । वास्ताविक जेनजी र अपराधीलाई छुट्याएर कारवाही गर्नेछौं । जेनजी आन्दोलनका अगुवाहरुले आफूहरुको यस्तो उद्देश्य नभएको बताइरहनु भएको छ जेनजी आन्दोलनका नाममा अपराध गर्नेलाई प्रहरीले छाड्दैन । '

am-1760373407.jpg
अन्तरक्रिया कार्यक्रमका सभापति एवम् ललितपुर महानगर १४ नं. वडाका वडाअध्यक्ष अमृत जंग महतले गत भदौ २३ र २४ गतेको आन्दोलनपछि सबै गहिरो चिन्ता र आशा लिएर उभिएको बताउँदै मुलुकमा परिवर्तनहरु धेरै भए पनि रुपान्तरण नहुँदा द्धन्द्ध बढेने गरेको बताए ।  'हामी एक आपसमा फुट्दा अर्काे पक्षले फाइदा उठाउँछ, यो कुरालाई हामी सबैले मनन गर्नु जरुरी छ', उनले भने, 'भदौ २३ र २४ गतेको घटनापछि हामी सबैको मनोबल गिरेको अवस्था हो । आन्दोलनका बेला व्यक्तिगत रिसइबी साँध्ने पनि प्रयास भए । समाजमा शान्ति सुरक्षा भंग भयो भने अरु मान्छेले खेल्छन् । टोलको समस्या आफैंले समाधान गर्ने छौं भन्ने भावनामा हिँड्नु पर्छ ।' 
व्यक्तिगत सम्पत्ति संरक्षणका लागि व्यक्ति स्वयम् पनि लाग्नुपर्नेमा जोड दिँदै उनले वडा भित्र शान्ति सुरक्षा कायम गर्न वडा कार्यालयले विभिन्न स्थानहरुमा सिसि क्यामेरासहित साइरन जडान गर्ने योजना कार्यान्वयनमा ल्याइरहेको जानकारी दिए । 

sha-1760372192.jpg

अन्तरक्रिया कार्यक्रममा सामुदायिक बिकास केन्द्रका अध्यक्ष एवम् पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक डा. गोबिन्द प्रसाद थापा बिशिष्ट अतिथिका रुपमा सहभागी भएका थिए । प्रहरी बृत्त सातदोबाटोका प्रमुख प्रहरी नायब उपरीक्षक पूर्णिमा कुमारी चन्दको आतिथ्यतामा बिभिन्न टोल सुधार समिति, आमा समूह, विद्यार्थी, व्यबसायी, संघ संस्थाका प्रतिनिधि, वडावासी, बुद्धिजीवि, समाजसेबी गरी १५० जना सहभागी भएका थिए । 

arnr-1760373407.jpg

लपु-१४ नं. वडाका जनप्रतिनिधि सहनशीला कार्की, संगिता अछामी पनि उपस्थित रहेको अन्तरक्रिया कार्यक्रममा टोसवासीहरुले चोरी डकैतीका घटना, रेस्टुरेन्ट सञ्चालनको समयावधि, मोटरसाइकलको ध्वानी, जातिय विभेद, ट्राफिक  प्रहरीको व्यवहार, भाडामा बस्नेहरुको लागत राख्नुपर्ने लगायतका विषयमा स्थानीयवासीले प्रहरी तथा जनप्रतिनिधिलाई सुझाव दिएका थिए ।  

ho-1760372279.jpg
 

प्रकाशित मिति: सोमबार, असोज २७, २०८२  २२:०७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार