रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन अधिकृतसहित तीनजनाविरुद्ध भ्रष्टाचार मुद्दा 

आइतबार, असोज २६, २०८२

रौतहट । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रौतहटको माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत सहित तीन जना विरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।माधवनारायण नगरपालिका–३, देवी माध्यमिक विद्यालय सखुअर्वामा भवन निर्माण कार्यका लागि आर्थिक वर्ष २०७७/७८ मा आह्वान गरिएको सूचना राष्ट्रियस्तरको दैनिक पत्रिकामा प्रकाशन गर्नुपर्नेमा सो नगरी भ्रष्टाचार गरेको आयोगको ठहर छ । अख्तियारका अनुसार झुट्टा विवरणसहितको पत्रिका र झुट्टा बिल भरपाई लगायतका कागजातहरूको आधारमा रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.लाई रू.२ लाख ५७ हजार ९७० रुपैयाँ भुक्तानी दिएको पाइएको छ ।  विद्यालय भवन निर्माणको ठेक्का सम्बन्धी सूचना लुकाएर झुट्टा बिल भरपाईका आधारमा भुक्तानी दिएको अभियोगमा  अख्तियारले  प्रतिवादी बनाएर सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको हो । माधवनारायण नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रलब कायस्थ, माधवनारायण नगरपालिकाका तत्कालीन लेखापाल रामबलम प्रसाद यादव र रौतहट एडभटाइजिङ्ग एजेन्सी प्रालि.का सञ्चालक अजित कुमार कर्णले गैरकानूनी लाभ तथा नगरपालिकालाई हानी पुर्‍याउने बदनियतले काम गरेको पुष्टि भएको अख्तियारको दावी छ ।  उनीहरूले बोलपत्र आह्वानको सूचना लुकाई छिपाई, सार्वजनिक वितरणका लागि प्रकाशन नै नगरी नगरपालिकाको ठेक्काको प्रयोजनार्थ अभिलेखमा राख्ने गरी मात्र प्रकाशित गरिएको पाइएको अख्तियारले जारी गरेको बिज्ञाप्तिमा उल्लेख छ । प्रेस काउन्सिल नेपालबाट सो मितिका सूचनाहरूको ‘पीडीएफ अभिलेख’ नदेखिएको भनी प्राप्त भएबाट उक्त सूचना प्रकाशित नै नभएको पुष्टि भएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ । 

प्रकाशित मिति: आइतबार, असोज २६, २०८२  १६:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार