सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा १८ औं गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी असाज २९ देखि जावलाखेलस्थित खेलमैदानमा सुरु हुने भएको छ । असोज २९ गतेदेखि कार्तिक २ गतेसम्म (पाँच दिन) सञ्चालन हुने मेलामा करिब ४० हजार दर्शकले अवलोकन गर्ने र करिब एक करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजक संस्थाले जनाएको छ । ‘रोपेर फूल गोदावरी, सजाऔं आँगन वरिपरि’ भन्ने नाराका साथ आयोजना हुन लागेको यस प्रदर्शनीको उद्घाटन कार्यक्रम असोज २९ गते बिहान ११ बजे हुनेछ । उद्घाटन कृषि तथा पशुपंक्षी विकास मन्त्रालयका सचिव डा.गोविन्द प्रसाद शर्माले गर्ने कार्यक्रम छ । मेलामा ८० व्यवसायिक स्टल, ५ अफिसियल स्टल, २ प्रतियोगितात्मक स्टल, १ प्लान्ट क्लिनिक स्टल र फोटो सेल्फी स्टलसहित जम्मा ९० वटा प्रदर्शनी कक्ष रहनेछन् । यस मेलालाई नेपालकै सबैभन्दा ठूलो गोदावरी फूल प्रदर्शनीका रूपमा लिइएको छ ।
गोदावरीको पाँच विधामा प्रतियोगिता प्रदर्शनीको प्रमुख आकर्षण गोदावरी फूलको प्रतियोगिता रहनेछ । प्रतियोगितामा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलहरू पाँच विधामा प्रतिस्पर्धा गर्नेछन् । मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इनकर्भर र कट फ्लावर । उत्कृष्ट गोदावरी उत्पादन गर्ने फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्रद्वारा सम्मान गरिनेछ । साथै, उत्कृष्ठ स्टलको लागि छुट्टै प्रतिस्पर्धा गरिनेछ ।
४५० भन्दा बढी जातका फूल विरुवाको प्रदर्शनी मेलामा करिब ४५० भन्दा बढी प्रजातीका फूल विरुवाहरू प्रदर्शन र विक्रीका लागि राखिनेछन् । गोदावरी फूल बाहेक सयपत्री, मखमली लगायत तिहार र छठमा बढी प्रयोग हुने मौसमी फूल तथा आलंकारिक विरुवाहरूको पनि बिक्री हुनेछ । यस्तै, रोग र किराको समस्या समाधानका लागि बालिरोग विशेषज्ञहरूसहितको टोलीद्वारा प्लान्ट क्लिनिक स्टल बाट निःशुल्क परामर्श सेवा दिइनेछ । मेला अवधिभर विभिन्न कार्यक्रमको आयोजना गरिनेछ । फ्लोरिकल्चर एशोसिएसन र लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरको सहकार्यमा मेलाको तेस्रो दिन असोज ३१ गते शुक्रबार रक्तदान कार्यक्रमको पनि आयोजना गरिनेछ । नेपालमा पुष्प व्यवसायको सुरुआत वि.सं. २०११ सालमा सामान्य रूपमा भएको हो । व्यवसायिक विकासको सुरुवात भने २०४९ सालमा फ्यानको स्थापनापछि देखिएको हो । हाल सातै प्रदेशका शहरी तथा अर्धशहरी क्षेत्रमा फैलिएको यस व्यवसायमा ५२ जिल्लामा करिब २७० हेक्टर क्षेत्रफलमा फूल खेती हुँदै आएको छ । फ्यानका अनुसार हालसम्म देशभर १२३५ भन्दा बढी पुष्प व्यवसायी सक्रिय छन् । जसमा नर्सरी ५४०, कट फ्लावर उत्पादक ९०, खुद्रा व्यापारी १५८, थोक व्यापारी ६, इनपुट सप्लायर्स २५ र लुज फ्लावर उत्पादक ४१६ छन् । व्यवसायमा करिब ८ अर्ब ८३ करोड रुपैयाँको लगानी छ भने प्रत्यक्ष–अप्रत्यक्ष रूपमा ५३,५०० भन्दा बढीले रोजगारी पाएका छन् । हाल पुष्प व्यवसायमा बार्षिक १०–१५ प्रतिशतको वृद्धिदर देखिए पनि आर्थिक वर्ष २०७८/७९ मा कोभिडको प्रभावका कारण व्यापारमा केही गिरावट आएको थियो । तर पछिल्ला वर्षहरूमा फेरी व्यवसायले गति लिएको छ । आ.व. २०८०/८१ मा करिब ८.५ अर्बको कारोबार भएको फ्यानले जनाएको छ ।