सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगरले चक्रपथस्थित घोबीघाटमा साइकलमैत्री आकाशे पुल निर्माण गर्ने भएको छ । उक्त पुलको आइतबार नगर प्रमुख चिरीबाबु महर्जनले शिलान्यास गरे । पुल शिलान्यास कार्यक्रममा बोल्दै ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले चक्रपथको धोबीघाट पैदलयात्रीका लागि जोखिमपूर्ण स्थल भएको बताउँदै त्यो जोखिम घटाउन आकाशेपुल निर्माण गर्न लागिएको बताए । उनले भने, ‘ सडक सुरक्षित नभएका कारण एक दर्जन भन्दा बढीको यो ठाउँमा ज्यान गईसक्यो,दुर्घटना हुन नदिन पुल बनाउन लागेका हौ ।’ उनले नख्खु खोलामा तीनवटा पुल निर्माण सम्पन्न भइसकेको, चक्रपथको यातायात नजिकै लिफ्टसहितको अपाङ्गतामैत्री पुल निर्माण अन्तिम अवस्थामा पुगेको जानकारी दिए । कर्मनाशा खोलामा पनि पुल निर्माणको काम अघि बढाएको छ । त्यसैगरी धापाखेलस्थित महादेव खोलामा पनि पुल निर्माण भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले चक्रपथमा सानो किलाकाँटा ठोक्न पनि संघीय सरकारको स्वीकृति लिनुपर्ने भएको बताउँदै त्यो स्वीकृति लिनका लागि धेरै समय लागेको बताए । उनले भने, ‘पुल निर्माणका लागि धेरै पहिला नै माग आए पनि स्वीकृति पाउन धेरै समय लागेकाले पुल निर्माणको काममा ढिला सुरु भएको हो ।’ निर्माणको जिम्मा लिएको कम्पनीलाई समयमै काम सक्न उनले अनुरोध गरे । सुशासन तथा संस्थागत विकास समितिका संयोजक तथा वडा नं. ३ वडा अध्यक्ष श्रीगोपाल महर्जनले स्थानीय तह नागरिकको मर्म बुझ्ने सरकार भएको बताए । स्थानीयको माग बमोजिम महानगरले यहाँ पुल निर्माणको लागि धेरै अघिदेखि प्रक्रिया अघि बढाए पनि सडक विभागको स्वीकृति समयमै नपाउँदा ढिला भएको उनलृे जानकारी गराए । विकास निर्माणको काममा स्थानीयलाई महानगरसँग समन्वय र सहकार्य गर्न अनुरोध गरे । ललितपुर महानगर अन्य पालिकाभन्दा पृथक भएको बताउँदै सुशासन र अनुशासन कायम राख्न सबैलाई अनुरोध गरे । ललितपुर महानगर वडा नं. ४ का वडाअध्यक्ष सन्तोष खड्काले धोबीघाटमा महानगरले निर्माण गर्न लागेको साइकलमैत्री पुलले पैदलयात्रीलाई सहज हुने बताए । ललितपुर महानगरका पूर्वाधार महाशाखा प्रमुख इन्जिनियर प्रदीप पौडेलले चक्रपथको धोबीघाटमा पैैदलयालीको सुरक्षाका लागि पुल निर्माण गरिएको बताए । सडक वारपार गर्दा भएको दुर्घंंटनाका कारण धेरैले ज्यान गुमाएकाले पैदलयात्रीको सुरक्षालाई प्राथमिकतामा राखेर निर्माण थालेको प्रष्ट पारे । महानगरका अनुसार पुल निर्माणको सम्झौता रकम ५ करोड ४ लाख ४८ हजार रहेको छ । एक वर्षभित्र निर्माण सम्पन्न हुने यो पुलले दमकल सुन्दरीघाट मार्ग पूर्व र पश्चिमलाई जोड्ने भएकाले चक्रपथ वारपार गर्न सजिलो हुनेछ ।