सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । दुई वर्षअघि हमासले इजरायलबाट बन्धक बनाएर लगेका नेपाली विद्यार्थी विपिन जोशी ‘जीवित रहेको प्रमाण फेला नपरेको’ औपचारिक जानकारी इजरायली सेनाले गराएको इजरेलस्थित नेपाली राजदूत धनप्रसाद पण्डितले जानकारी दिएका छन् । बन्धक बनाइएकामध्ये ४८ जना अझै गाजामा रहेका र तीमध्ये केवल २० जना जीवित भएको हमासले जनाएको छ । इजरायल र हमासबीच सङ्घर्षविराम भएपछि सोमवारदेखि बन्धकहरूलाई मुक्त गर्न थालिएको छ । तर विपिन जोशी जीवित वा मृत दुवै वर्गका बन्धकको सूचीमा नभएको राजदूत पण्डितले बताए। ‘केही थप आयो र चमत्कारिक रूपमा केही भयो भने मात्रै अन्य कुरा । नभए विपिन जीवित नभएको आधिकारिक जानकारी उनीहरूले आज दिएका हुन्’, उनले भने । हमासले उपलब्ध गराएको सूची इजरायल डिफेन्स फोर्स आईडीएफले हेरेपछि त्यसमा विपिन जोशीबारे केही पनि जानकारी नपाएको भनी कलमार्फत् जानकारी दिएको पण्डितले बताए । आईडीएफले नेपालबाट विपिनका ठूलोबुवाका छोरा किशोर जोशीलाई, हाल अमेरिकामा रहेकी विपिनकी बहिनी पुष्पालाई र इजरायली राजदूत पण्डितलाई ग्रूप कलमा सहभागी गराएर इजरायली सरकारका प्रतिनिधिले पछिल्लो जानकारी गराएका हुन् । स्थानीय समयानुसार सोमवार बिहान साढे ७ बजेतिर उक्त जानकारी गराइएको हो । किशोरले पनि सामूहिक कलमा आफू सहभागी भएको र जीवित २० जनाको सूचीमा आफ्ना भाइ विपिन नरहेको जानकारी पाएको पुष्टि गरे । सन् २०२३ मा हमासको नेतृत्वमा इजरायलमा भएको अप्रत्याशित आक्रमणपछि जोशीसहित २५१ जनाजतिलाई लडाकुहरूले बन्धक बनाएर लगेका थिए । इजरायलमा भएको आक्रमणमा १० नेपालीसहित १,२०० जनाको ज्यान गएको थियो । उक्त घटनामा मृत्यु हुने सबै नेपाली सुदूरपश्चिम विश्वविद्यालयको कृषिविज्ञान सङ्कायमा अध्ययनका क्रममा ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विद्यार्थी थिए । जोशी गाजाको सीमानजिकै एउटा कृषि फर्ममा कार्यरत थिए । कृषि फर्ममा कार्यरत १७ जना नेपाली विद्यार्थीमध्ये १० जनाको हमासको आक्रमणमा परेर मृत्यु भएको थियो । हमासले बन्धक बनाएकामध्ये ४८ जना अझै गाजामा भएका र तीमध्ये केवल २० जना जीवित भएको ठानिएको छ । केही साताअघि हमासले तस्बिरसहित सार्वजनिक गरेको एउटा सूचीमा उक्त लडाकु समूहले जोशीको नाम पहिलो पटक समाविष्ट गरेको थियो । गत वर्ष इजरायली सेनाले फेला पारेको एउटा भिडिओ फूटेजमा जोशीलाई गाजास्थित एउटा अस्पतालभित्र लग्दै गरिएको देखिएको थियो । उक्त भिडिओ नोभेम्बर २०२३ को थियो । हमासले खिचेको र आईडीएफले फेला पारेर परिवारजनलाई उपलब्ध गराएको अर्को भिडिओमा जोशीले आफ्नो परिचय दिएका थिए । हमास र इजरेलले सङ्घर्षविराम गर्ने तयारी गरेपछि जोशी परिवारले उनी ‘जीवित रहेको’ प्रमाण भन्दै उक्त भिडिओ सार्वजनिक गरेको थियो ।
पहल गत साता उनको परिवारले विपिन जोशी छिट्टै रिहामुक्त भई आफ्नो सम्पर्कमा आउने आशा व्यक्त गरेको थियो । उनका बुवा महानन्द जोशीले हमासलाई युद्धविरामका लागि सहमत गराउने प्रयास सुरु भएसँगै विपिन सकुशल घर फर्किने आशा बढेको बताएका थिए । ‘युद्धविरामको कुरा आएको छ फेरि । पहिलाझैँ हुने हो कि के हुने हो थाहा छैन । भगवान्ले कति पीडा दिएका हुन् ?’ उनले भने । जोशीको रिहाइका लागि पहल गर्न अन्तर्राष्ट्रिय जगत्सँग आह्वान गर्न भन्दै झन्डै एक महिनाअघि उनकी आमा पद्मा र बहिनी पुष्पा इजरायल गएका थिए । त्यसपछि नेपाल फर्किएर उनीहरू संयुक्त राष्ट्रसङ्घको महासभामा जोशीको मुक्तिको पहल गर्न अमेरिका गएका छन्।