ओलीको दसैं, तिहार गीत र मिठासहरू

शुक्रबार, असोज २९, २०७८

घनश्याम ओलीले रचना गरेको दसैं, तिहार गीतको म्युजिक भिडियो भर्खरै बजारमा आएको छ । एसपी म्युजिकको प्रस्तुति रहेको गीत ‘दसैं तिहार आयो’ सुनीता दुलाल सन्जेल युट्युब च्यानलबाट सार्वजनिक भएको हो । दीपक शर्माको संगीत रहेको गीतको भिडियोमा चर्चित गायक प्रताप दास र सुनीता दुलाल सन्जेलले स्वर भरेका छन् । राजेन्द्र बजगाईंको एरेन्ज र किशोर थापाको मिक्सिङ रहेको गीतलाई ए–वान म्युजिसियन स्टुडियोमा राजेश श्रेष्ठले रेकर्ड गराएका हुन् ।

स्मृति तिमिल्सिना (गुरुआमा) को निर्देशन तथा कोरियोग्राफी रहेको यस भिडियोको छायाँकन सुरेश श्रेष्ठले गरेका हुन् । भिडियोमा महेन्द्र गौतम र सुनीता दुलाल सन्जेलको प्रमुख अभिनय रहेको छ । भिडियोलाई प्रकाश धमलाले सम्पादन गरेको हुन् । 

दसैं, तिहारलाई लिएर धेरै गीतहरू बजारमा आइरहेकै छन् । तर यस गीतमा गीतकार ओलीले आफ्ना परम्परा,  मुल्य, मान्यताका अहम भावहरुलाई उच्चतम महत्व दिएर आधुनिकताको सुनौलो आयाममा गीतका अभिव्यन्जनाहरूलाई अलि पृथक रुपमा पस्केका छ्न । आज डिजिटल दुनियाँ र नयाँ  पुस्तालाई दसैं, तिहारको महत्व दर्शाउन यी पर्वहरूको ऐतिहासिकता बुझाउँदै कृषिप्रधान देश र दसैं महिमा गाएको यो गीतले तिहारमा देउसी भैलो, दिदी, भाईप्रतिको आपसी सम्मान, माया र प्रेमको कुरालाई पनि सुन्दर रुपमा  उजागर गरेको छ ।

त्रिभुवन विश्वविद्यालयबाट नेपाली साहित्यमा स्नातकोत्तर तह उत्तीर्ण ओली साहित्यमा गहिरो दिलचस्पी राख्ने एक कुशल सर्जक हुन् । ओलीले यसअघि तीजको गीत निकालेर सांगीतिक बजारमा तहल्का मच्चाइसकेका छन् । उनको तीजको गीत नेपाली सांगीतिक बजारमा चर्चित गीतको रुपमा स्थापित भैसकेको छ । अत्यन्तै मेहनतका साथ तयार गरेको यस  गीतका हरेक हरफमा आफ्नोपन, भिर, पाखा, पखेरा अनि गाउँ बेंसीको तस्बिर अनि नेपालीको रहनसहन, परम्परा र हजारौं वर्षको सभ्यता झल्किएको छ । आदरणीयजनहरुको आत्मीयता र आशिर्वचनको श्रृङखलाका मिठासहरु दसैंमा र दिदीभाईहो असिम माया, आत्मियता र अनुराग तिहारमा झल्किएको छ । 

ओलीले गीतमा शब्दहरूको उठान गर्ने सिलसिलामा बाबुआमा, छोराछोरीको एक आपसमा प्रकट हुने प्रेमका लालित्य अत्यन्तै सुन्दर र मर्मस्पर्शी रुपमा प्रकट गरेका छन् । गीतमा भावुक हुँदै ओली आफ्ना भावहरू यसरी प्रकट गर्छन्–

बाबाआमा छोराछोरी कुर्दै बसेका छन् ।
छोराछोरी घर जान कम्मर कसेका छन् ।
रंगीचंगी फूलहरू फुले फूलबारीमा ।
लह लह धानका बाला झुले खेतबारीमा 

गीतकार ओलीशब्दहरूको  छनौट अनि शब्दहरूमा कला भर्न अत्यन्तै सिपालु र माहिर छन् । सरल शब्दहरुद्वारा अत्यन्तै उच्च अभिव्यक्ति र सन्देश प्रवाह गर्ने क्षमता भएका ओली गाउँ बस्तीमा विचरण गर्न रुचाउँछन् । शब्दहरूको उचित चयनले व्यापक अर्थको मायामठ तयार गर्नु उनको कौशलता र इमानदारिता पनि होला । यी हरफहरू हेरौं–

हर्ष, खुसी उमंग होस् अनि शान्ति मनको ।
आशीर्वाद मिलोस् हाम्लाई सबै मान्यजनको ।
सब्को शीरमा जमरा होस् निधारमा टीका ।
हाँसीखुसी बसौं सबै नहोस् दसैं फिका ।

यसरी गीतकार ओली हाम्रा सामाजिक मुल्य, मान्यता, कर्तव्य, धर्म संस्कार र पूर्वजहरूको विरासतलाई आफ्ना लयहरूमा दिल खोलेर पस्किन सफल भएका छन् । हजारौं वर्षअघिदेखि चलिआएका यी चाडपर्वको गरिमा नयाँ  पुस्तामा छर्दै जान, सार्दै जान ओलीका यी सुन्दर गीति लयहरू काफी छन् । त्यस्तै उनका शब्दहरूमा प्रकृति, मौसम, हरियाली अनि फूलको सौन्दर्यसँग मानव मनका अन्तरंग भावहरू झिल्मिलाएर आएका छन् । त्यसैले त तिहारको सुन्दर मौसम र चन्चल पवनको अपार मिठासभित्र देउसे र भैलेका लयहरु सुनिन्छन् जताततै जस्तो–

लक्ष्मीपूजा झिलीमिली बले दियो बाती ।
भाका पारी नाच्दै आए भैलेनीका ताँती ।
देउसे भैले देउसीरे गाउँदै हिँड्छ्न गीत ।
भाइटीकाले दिदी भाईको बढाउँछ प्रीत ।

यसरी गीतकार ओलीका शब्दहरूमा दिदीभाइको आत्मीय पवित्र प्रेम अनि मायाको अनुपम सिलसिला पनि उत्तिकै सशक्त भएर आएको छ । गीतकारओलीले नेपालका दुई मुख्य चाडको गरिमा, महिमा, महत्व र यसको ऐतिहासिकतालाई गीतमा कुँदेर आफ्नो विशिष्ट सृजनशिलतालाई यस गीतमा अवतरण गराएका छन् ।

नजिकिँदै गरेका चाडपर्वहरूलाई अत्यन्तै माया अनि सम्मान गर्दै विश्वका नेपालीहरुमाँझ यति सुन्दर, मौलिक र अर्गानिक गीत पस्केर नेपाली वाङ्मयलाई धनी बनाउने घनश्याम ओलीको जिउँदोजाग्दो प्रयासको म तारिफ गर्न चाहन्छु । ओलीले नेपाली सांगीतिक आकासमा यो रचनामार्फत आफ्नो मौलिकता, परम्परा र राष्ट्रियताका भाकाहरूलाई मुखरित गर्न सफल भएका छन् भन्दै यो गीतको भव्य सफलताको कामना गर्दछु । सर्जक ओलीबाट नेपाली सांगीतिक जगतले यस्तै थुप्रै गीतहरुको अपेक्षा गरेको छ ।

– प्रसाईं विश्व नेपाली साहित्य प्रज्ञा प्रतिष्ठानका अध्यक्ष हुन् ।

 

प्रकाशित मिति: शुक्रबार, असोज २९, २०७८  २०:०१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार