दसैं सम्झना : न ढोलक बज्यो, नत दसैंको रौनक नै छ 

बुधबार, असोज २७, २०७८

सप्तरी । ‘दसैं लागेको सूचना दिन घटस्थापनाको दिनमा गाउँभरिका घरमा ढोलक बज्थे । ढोलकको आवाजले गाउँभरि दसैंको रौनक ल्याउथ्यो । तर पछिल्लो समय ढोलक नै हराएको छ,’ राजविराज–७ का ४० वर्षीय सुभाष देवले बताए । २०६२/०६३ सालको मधेस आन्दोलनले पहिचानको अधिकार मागेसँगै दसैंमा अनिवार्य ढोलक बजाउने चलन उन्मुलन नै भयो । तराईको राम (चमार) समुदायले ढोलक बजाउँदै आए पनि त्यहीँ आन्दोलनपछि सामूहिक रुपमा ढोलक बजाउन भने छोडेका छन् । राजविराज–७ कि ६५ वर्षीया राजु देवी उपाध्यायले पनि केही वर्षयता दसैंमा ढोलकको आवाज नसुनेको बताइन । ‘घटस्थापनादेखि नै ढोलक बज्थ्यो । नवरात्रिभरी ढोलक बजाएपछि विजया दशमीको दिन ढोलहा (ढोलक बजाउने) लाई घरधनीले पैसा, चापल जे सक्थे दिन्थे,’ उनले भनिन् सकिन्यो, अचेल त न ढोलक बज्छ न दसैं नै रमाइलो लाग्छ ।’  उनले त्यति बेलाको दसैंको रौनक नै अर्कै भएको बताइन । उनले भनिन्, ‘परिवारका सदस्य, आफन्त सबै भेला भएर सुख दुःखका कुरा हुन्थे । छिमेकीहरू पनि परिवारकै सदस्य जस्तो लाग्थ्यो । तर अहिले त जो जहाँ छन् त्यहीँ दसैं मनाउन थाले ।’  अहिले त आफ्नै परिवारका सदस्य पनि एकै ठाउँमा बसेर दसैं मनाउन नचाहने ६० वर्षीया राधिका शाहले बताइन । बाहिरबाट कोही आए पनि घरभित्रै कोठाकोठामा मोबाइलमा व्यस्त हुने उनको भनाइ छ । उनले भनिन्, ‘कसैलाई कसैसँग मतलब नै छैन । न त रमझम छ, न त खुसी नै छ ।’ राजविराज नगरपालिका–१६ कि ५५ वर्षीया विमला देवले पनि पहिले जस्तो एक अर्काप्रति माया, स्नेह हराएको बताइन । ‘आफ्नोपन नभएकोले चाडपर्व खल्लो हुनु स्वभाविकै हो ।’ समय परिवर्तन भएसँगै यस्तो भए पनि पहिले पहिले दसैको आन्नद अर्कै रहेको देवको भनाइ छ ।

प्रकाशित मिति: बुधबार, असोज २७, २०७८  १५:५०
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार