सोसल मिडिया
Contact Us
युनिकोड
जनकपुर । मधेश प्रदेशसहित मिथिलाञ्चल क्षेत्रमा मैथिलि तथा थारु समूदायहरुले मनाउने जितिया पर्व आजबाट सुरु भएको छ । मिथिलानीहरुले मनाउने वर्तहरुमध्ये जितिया वर्तलाई सबै भन्दा कठोर वर्त मानिन्छ । तीन दिनसम्म मनाउने यो पर्वमा आज व्रतालु महिलाहरु बिहानै उठेर ओंगठन (दही चिउरा सक्खर, केरासहितको प्रसाद) खाएर अइतबार साँझसम्मका लागि उपवास बसेका छन् । उपवास बसेका महिलाहरुले डकारे अथवा मुखले खकारे वा जिब्रो टोके भने व्रत असफल हुने मान्यता रहेकोले यस वर्तलाई कठोर वर्त मानिन्छ । सन्तानको दीर्घ जीवन, पुत्र प्राप्ति तथा पारिवारिक सुख शान्तिका लागि मनाइने जितिया पर्वको धार्मिक र सांस्कृतिक महत्व रहेको छ । मिथिला क्षेत्रमा पुत्र हुने प्रत्येक महिलाले यो पर्व गर्छन् । बेलुका सूर्य अस्ताउनु पूर्व खोला, तलाउ, पोखरीमा गएर पूजा गर्ने र नुहाउने चलन रहेको छ । बेलुका जितमहानको कथा सुन्नलाई आवश्यक पूजाको सामग्री केरा, चियुरा, दही, चिनी लगायतको परिकारसहित गाउँको एक ठाउँ भेला भइ जितमहानको कथा सुन्ने गरिन्छ । व्रतको दोस्रो दिन बिहानै उठेर दाइभाइको संख्याको आधारमा बेलको पात गाँसेर धनुष बनाउने, जाकुर (मासको परिकार), पूजाको सामानसहित खोलामा नुहाउने चलन छ । खोलामा नुहाएर पूजा गरी व्रतालु महिला घर पुगेर भान्सामा गाईको गोबरले लिपेर परिकारहरु दही, चिउरा, केरा, चिनी, दूध खाने चलन छ । व्रतालु महिलाले खाइ सकेपश्चात घरको परिवारले परिकारहरु खाने चलन छ । जितिया पर्वले परिवार र समाजलाई जोडेर राखेको छ ।