स्टार कलाकारप्रति बोर्ड अध्यक्ष दाहालको असन्तुष्टि 

शुक्रबार, असोज २२, २०७८

काठमाडौं । दोस्रो लकडाउनपछि बन्द भएका सिनेमाघर बिहीबारदेखि पुनः सञ्चालनमा आएका छन् । केही दिन अगाडि नै सरकारले ५० प्रतिशत दर्शक राख्न पाउने गरी हल खोल्ने अनुमति दिए पनि देशैभर यो नियम लागू नभएपछि हल सञ्चालकले हल खोल्न मानेका थिएनन् ।काठमाडौँबाहेक बाँकीका जिल्ला प्रशासन कार्यालयले स्वास्थ्य मापदण्ड पालना गरेर हल चलाउन स्वीकृति दिएपछि बिहीबारदेखि हल खुलेको चलचित्र संघले जनाएको छ ।  हल खुलाउनु अगाडि नै मंगलबार चलचित्र विकास बोर्डमा हल खुल्ने जानकारी गराइएको थियो । जहाँ विभिन्न संघसंस्थाका प्रतिनिधि उपस्थित थिए । यद्यपि बोर्ड अध्यक्ष दयाराम दाहालले स्टार कलाकारहरू हल खुल्ने जानकारी दर्शकहरूसमक्ष नपुर्‍याएकोमा गुनासो व्यक्त गरे । 'जसलाई हेर्न दर्शक हलसम्म आउने गरेका छन्, उनीहरू नै हल खुल्दा सूचना दिन पछाडि परेका छन्,' दाहालले भने, 'हल खुलेको जानकारी दर्शकसम्म पुर्‍याउने दायित्व सम्पूर्ण फिल्मकर्मीको हो ।' उनले हल खोल्न सम्पूर्ण संघसंस्थाले गरेको पहलको प्रशंसा गरे यद्यपि स्टार कलाकारहरूले चासो नलिँदा दायित्वबाट पन्छिएको महसुस गरेको बताए ।  भारतमा पहिलो चरणको लकडाउनपश्चात हल खुलेपछि प्रदर्शनमा आएको फिल्म 'वन्डरर वुमन १९८४' लाई बलिउडकै ठूला कलाकारहरू ऋतिक रोशन , प्रियंका चोपडालगायतले प्रशंसा गरेका थिए । गत महिना मात्र महाराष्ट्रमा हल खुल्ने निर्णय भएसँगै बलिउडका अधिकांश फिल्मकर्मीले स्वागत गर्दै फिल्म रिलिजबारे जानकारी दिएका थिए । तर, नेपालमा बिहीबारबाट हल खुले पनि नेपाली फिल्मको रिलिज क्यालेन्डर नआउँदा दर्शक विदेशी फिल्म हेर्न बाध्य छन् । 

प्रकाशित मिति: शुक्रबार, असोज २२, २०७८  १३:३८
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार