सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । आसन्न तिहार तथा छठ पर्वलाई लक्षित गर्दै ललितपुरको जावलाखेलमा १९औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी आयोजना हुने भएको छ । मंगलबार पत्रकार सम्मेलन गर्दै फ्लोरिकल्चर एसोसिएसन नेपाल (फ्यान) ले आगामी कात्तिक १२ देखि १६ गतेसम्म पाँच दिन प्रदर्शनी सञ्चालन हुन लागेको जानकारी दिएको हो । ‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरिपरि’ भन्ने मूल नाराका साथ जावलाखेल खेल मैदानमा आयोजना हुने प्रदर्शनीमा १ करोड ३० लाख रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा गरिएको आयोजकले जनाएको छ । प्रदर्शनीमा ३९ हजारभन्दा बढी दर्शकले अवलोकन गर्ने लक्ष्यसमेत राखिएको छ । गोदावरी फूलको व्यावसायिक विकास, विस्तार तथा प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको प्रदर्शनीमा कुल ८६ वटा स्टल रहनेछन् । आयोजकका अनुसार प्रदर्शनीमा ७८ वटा व्यावसायिक स्टल, चारवटा अफिसियल स्टल, दुईवटा प्रतियोगितात्मक स्टल, एउटा प्लान्ट क्लिनिक र एउटा फोटो सेल्फी स्टल रहनेछन् । प्रदर्शनीमा सहभागी नर्सरी तथा फर्महरूले उत्पादन गरेका गोदावरी फूलका पाँचवटा मुख्य प्रजातिबीच प्रतिस्पर्धा गराइनेछ। मिनिएचर, स्पाइडर, रिफ्लेक्स, इन्कर्भ र कट फ्लावर विधामा प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ । यस वर्षदेखि कट फ्लावरतर्फ ‘उत्कृष्ट पुष्प सजावट’ विधासमेत थप गरिएको छ । प्रतियोगितामा उत्कृष्ट स्टलका साथै विभिन्न विधामा प्रथम, दोस्रो र तेस्रो हुने नर्सरी तथा फर्मलाई सिल्ड, नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिनेछ । प्रदर्शनीमा नेपालमै व्यावसायिक रूपमा उत्पादन गरिएका गोदावरी फूलका विभिन्न जातसँगै यस वर्ष भित्रिएका नयाँ प्रजातिसहित ४५० भन्दा बढी प्रकारका फूल तथा बिरुवा बिक्री र प्रदर्शनीका लागि राखिनेछन् । गोदावरी फूलका अतिरिक्त तिहारमा प्रयोग हुने सयपत्री, मखमलीलगायत मौसमी फूल तथा आलंकारिक बोटबिरुवासमेत उपलब्ध हुनेछन् । पुष्प व्यवसाय सुरु गर्न चाहने तथा घरबगैँचा सजाउन इच्छुक व्यक्तिलाई फूल तथा बिरुवाको उत्पादन, प्रविधि र व्यवस्थापनसम्बन्धी जानकारीसमेत प्रदान गरिने आयोजकले जनाएको छ । यसैगरी, फूल तथा बोटबिरुवामा लाग्ने रोग र कीराबारे जानकारी दिन प्रदर्शनीस्थलमा बालीरोग विशेषज्ञसहितको प्लान्ट क्लिनिक सञ्चालन गरिनेछ । उक्त क्लिनिकमार्फत सर्वसाधारणले बिरुवाको स्वास्थ्य परीक्षण तथा आवश्यक परामर्श लिन सक्नेछन् । प्रदर्शनी अवधिमा सामाजिक उत्तरदायित्वअन्तर्गत लायन्स क्लब अफ ग्लोबल फ्लोरिकल्चरसँगको सहकार्यमा रक्तदान कार्यक्रमसमेत आयोजना गरिने आयोजकले जनाएको छ । तिहार तथा छठ पर्वका बेला फूलको माग बढ्ने भएकाले प्रदर्शनीले स्वदेशी पुष्प उत्पादनको प्रवद्र्धन, व्यावसायिक कारोबार विस्तार र पुष्प व्यवसायीलाई बजार उपलब्ध गराउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।