Dashain Banner
Dashain Banner

दशैंमा चम्किएको जमराको व्यापार

बुधबार, कात्तिक ४, २०८३

काठमाडौं । घटस्थापनाको दिनमा घर घरमा राखिने जमरा सडक पेटीमा पनि किन्न पाइन्छ भन्दा अचम्म नमान्दा हुन्छ । काठमाडौं उपत्यकाका सडक पेटी वा फुटपातका फुल पसलहरुमा जमरा सहजै खरिद गर्न पाइन्छ । विभिन्न कारणले घरमा जमरा राख्न नपाउनेले र राख्न नमिल्नेहरूले किनेर नै दशैं टार्ने गरेका छन् । वडादशैं अन्तर्गत विजय दशमीको दिन नवदुर्गा भवानीको प्रसादको रूपमा सिरमा लगाइने जमरा मौसमी व्यापारको राम्रो माध्यम बनिरहेको छ । ललितपुरको इमाडोलस्थित कृष्ण मन्दिर क्षेत्रमा पनि जमराको व्यापार भइरहेको यस्तै दृश्य देखिएको छ । जमरा व्यवसाय गर्दै आएकी सोना साहले यो व्यवसाय निकै नाफामूलक रहेको बताइन्। छोटो समयमा राम्रो आम्दानी गर्न सकिने सोचका साथ आफूले गत वर्षदेखि जमराको व्यापार सुरु गरेको उनले बताइन् । उनका अनुसार गत वर्षको तुलनामा यस वर्ष ग्राहकको संख्या र आम्दानी दुवै बढेको छ। उनले एकै दिनमा १० हजार रुपैयाँसम्म आम्दानी गर्ने गरेको बताइन् । घरमा रोपिएको जमरा पूजापाठपछि काटेर दशैंको टीकासँगै लगाउने परम्परा रहे पनि पछिल्लो समय दशैंको टीका लगाउनुअघि नै सडक र बजारमा बिक्रीका लागि राखिएको देखिन्छ । पछिल्लो समय काठमाडौको जमल, इन्द्रचोक, असन साथै ललितपुरको मंगलबजार, कृष्णमन्दिर, लगनखेललगायतका क्षेत्रमा जमराको व्यापार भइरहेको देखिन्छ । सानो साना मुठा पारिएको, टपरी, माटाका भाडा वा विभिन्न प्लाष्टिकका बट्टामा उमारिएको जमरा ४० रुपैंयाँ मुठादेखि ३५०–५०० रुपैंयाँसम्म विक्री भइरहेको छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक ४, २०८३  ०९:३४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार