सोसल मिडिया
Contact Us
युनिकोड
भक्तपुर । ‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’ । गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन । कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन् । प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्वमा यस वर्ष नगरपालिकाले ताहमचालगायत सामान्य परम्परा पूरा गर्न र एउटा समूहमा २० जनाभन्दा बढी सहभागी नहुन आह्वान गरेपनि जात्रामा भीड भने उत्तिकै देखिन्थ्यो । बिहान ५ बजेदेखि नै झमझम परेको पानीको पर्वाह नगरी गाईजात्रा निकालेका यहाँका स्थानीयवासीले एउटा समूहमा २० जना मात्रै सहभागी गराउँदा पनि सयौँ परिवारबाट निस्किएको समूह र जात्रा हेर्न आउनेको समूहका कारण जात्रास्थलमा मानिसको भीड भने लागेको थियो । जात्रामा धेरैले विगतमा झैँसाँस्कृतिक रौनक बोकेको घिन्ताङ घिसी र अन्य नाच नहुँदा भने जात्रा खल्लो भएको अनुभव गरेका थिए । लाइन्स क्लब अफ नमस्तेका अध्यक्ष रुकेश रञ्जितले जात्रामा भीड देखिए पनि रौनक भने हराएको बताए । मास्क नलगाई जात्रामा सहभागी हुनेलाई दरबार स्क्वायरमा बसेर निःशुल्क तीन हजार मास्क वितरण गरेका उनले जात्रामा सहभागी मध्येकरिब २० प्रतिशतले मास्क नलगाएको बताए । नगरपालिकाको आह्वानअनुसार एउटा परिवारले गाईजात्रा निकाल्नेले विगतमा जस्तो सयौँ जना सहभागी नगराई २० जना मात्रै सहभागी गराउँदा पनि जात्रामा भीड धेरै भएको र कोरोनाको जोखिमलाई कम गर्न भने नसकिएको बताए । जात्रा हेर्न काठमाडौँबाट आएका दिनेश पाण्डेका परिवारले भने भक्तपुरमा विगतमा जस्तो जात्राको रौनक नभएको बताउनुभयो । जात्रामा घिन्ताङ घिसीसहित अन्य नाच नहुँदा जात्राको रौनक नभएको प्रतिक्रिया दिए । गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छभने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन् । साथै मानिसलाई विभिन्न रूपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ । यसवर्ष प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिएनन् ।
टोखामा ५८ दिवङ्गतको सम्झना गरी मनाइयो धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ । नेवार समुदायको झण्डै १० हजार जनसङ्ख्या रहेको टोखामा वर्षभर दिवङ्गत भएका ५८ जनाको सम्झना गरी आज गाईजात्रा मनाइएको हो । टोखा नगरपालिकाको–२ र ३ मा नेवार समुदायका झण्डै दुई हजार घरधुरी रहेका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशीले जानकारी दिए । टोखामा लिच्छिवीकालदेखि नेवार बस्ती बसेको इतिहास छ । टोखाबाहेक काठमाडौँको असन, इन्द्रचोक, ठमेल, मनमैजु, नैकाप, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पनि आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा पर्वमा दिवङ्गत आफन्तको परिवारको दुःख भुलाउनका साथै मृतकलाई स्वर्गमा जान सहज बनाउने धार्मिक विश्वास रहेको छ । टोखामा गाईजात्रा पर्वकै अवसरमा मृतक परिवारको दुःख भुलाउनका लागि ‘ख्याली’ समेत निकाल्ने गरिन्छ । उक्त पर्वमा मान्छे मरेको घरबाट अनिवार्य रुपमा चार जनाले गाईजात्रा निकाल्नुपर्ने हुन्छ । चार जनामध्ये दुई जना गाई, एक जना गोठालो र अर्को एक जना ब्रतबन्ध नगरेको युवा वा गुफा नपसेकी युवतीलाई सिंगारेर नगरपरिक्रमा गर्ने गरिन्छ । चार जना नभएको परिवारले आफन्तलाई बोलाएर भएपनि चार जना अनिवार्य पु¥याउनुपर्ने हुन्छ । गाईजात्रामा धिमेबाजा बजाउने गरिन्छ । दुःखको समयमा बजाइने उक्त बाजा गाईजात्राको दिनमा मात्र सिक्ने, सिकाउने र बजाउने गरिन्छ । टोखाको तलेजु भगवानको मन्दिर मृतक परिवारले घुमेर गाईजात्रा निकाल्ने गरिन्छ । गाईजात्रा मनाएपछि बेलुका स्वयम्भूनाथ र टोखाको गणेश मन्दिरमा बत्ती बाल्ने प्रचलन रहेको टोखा नेवाःगुठीका अध्यक्ष रमेश नापित बताउँछन् । गाईजात्रामा सामेल हुने मृतक परिवारलाई मृतक परिवारकै सदस्यले पुरी, खिर, फलफूल र नगद दान गर्ने प्रचलन रहेको टोखा भवानी गुठीका मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिनुभयो । उक्त दान बेलुका घरमा लगेर घर परिवार र छरछिमेकलाई बाँडेर खाने प्रचलन रहेको छ । मृतक परिवारले एक वर्षका लागि ३६५ पोका बनाएर दान गर्ने प्रचलन रहेको छ । टोखामा सरस्वती धिमे खलः र सपनतीर्थ धिमे खलःले प्रत्येक वर्ष गाईजात्रा निकाल्ने गरेको टोखा नगरपालिका–२ का वडा सदस्य एवं नेपाली कांग्रेस टोखाका नेता हेराकाजी महर्जन बताउँछन् । गाईजात्राको अवसरमा बजाइने धिमेबाजा बाहेक टोखामा मान्छे मरेको बेलामा बजाइने कसाई बाजा, कृष्ण जन्माष्टमीमा बजाइने धाँ बाजा, ठूलो एकादशीमा बजाइने खीँ बाजा टोखाका प्रमुख बाजा हुन् । ऐतिहासिक एवं धार्मिक महत्व बोकेको टोखामा तलेजु भगवान्, कृष्णमन्दिर, गणेश मन्दिर, सपनतीर्थ मन्दिरलगायतका धार्मिक तीर्थस्थल रहेका छन् ।–रासस