कोरोना प्रभावले नछाेएकाे भक्तपुरको गाईजात्रा

मंगलबार, भदौ ८, २०७८

भक्तपुर । ‘न बाजाको धुन, न त भजनको लय, न घिन्ताङ घिसी नाच, न त माक प्याखः’ । गाईजात्रामा मनाइने यस्तो रौनक साँस्कृतिक गतिविधि यसवर्षको गाईजात्रामा भक्तपुरमा देख्न पाइएन । कोभिड–१९ को महामारीको जोखिम हटाउने उद्देश्यले भक्तपुर नगरपालिकाले औपचारिकतामा मात्रै गाईजात्रा मनाउन आह्वान गरेपछि आज भक्तपुरमा दिनभरि गाईजात्राको रौनक हेर्न आएका खल्लो मानेर फर्केका छन् ।  प्रत्येक वर्ष भाद्र कृष्णपक्षमा मनाइने गाईजात्रा पर्वमा यस वर्ष नगरपालिकाले ताहमचालगायत सामान्य परम्परा पूरा गर्न र एउटा समूहमा २० जनाभन्दा बढी सहभागी नहुन आह्वान गरेपनि जात्रामा भीड भने उत्तिकै देखिन्थ्यो । बिहान ५ बजेदेखि नै झमझम परेको पानीको पर्वाह नगरी गाईजात्रा निकालेका यहाँका स्थानीयवासीले एउटा समूहमा २० जना मात्रै सहभागी गराउँदा पनि सयौँ परिवारबाट निस्किएको समूह र जात्रा हेर्न आउनेको समूहका कारण जात्रास्थलमा मानिसको भीड भने लागेको थियो । जात्रामा धेरैले विगतमा झैँसाँस्कृतिक रौनक बोकेको घिन्ताङ घिसी र अन्य नाच नहुँदा भने जात्रा खल्लो भएको अनुभव गरेका थिए । लाइन्स क्लब अफ नमस्तेका अध्यक्ष रुकेश रञ्जितले जात्रामा भीड देखिए पनि रौनक भने हराएको बताए । मास्क नलगाई जात्रामा सहभागी हुनेलाई दरबार स्क्वायरमा बसेर निःशुल्क तीन हजार मास्क वितरण गरेका उनले जात्रामा सहभागी मध्येकरिब २० प्रतिशतले मास्क नलगाएको बताए ।  नगरपालिकाको आह्वानअनुसार एउटा परिवारले गाईजात्रा निकाल्नेले विगतमा जस्तो सयौँ जना सहभागी नगराई २० जना मात्रै सहभागी गराउँदा पनि जात्रामा भीड धेरै भएको र कोरोनाको जोखिमलाई कम गर्न भने नसकिएको बताए । 
जात्रा हेर्न काठमाडौँबाट आएका दिनेश पाण्डेका परिवारले भने भक्तपुरमा विगतमा जस्तो जात्राको रौनक नभएको बताउनुभयो । जात्रामा घिन्ताङ घिसीसहित अन्य नाच नहुँदा जात्राको रौनक नभएको प्रतिक्रिया दिए । गाईजात्रा पर्वको दिन दिवङ्गत आत्माको सम्झनामा गाईलाई घुमाउने गरिन्छभने कतिपयले माटोको गाई बनाएर घुमाउने गर्दछन् । साथै मानिसलाई विभिन्न रूपमा सिङ्गारपटार गरेर शहर परिक्रमा गराएर मनाइन्छ । यसवर्ष प्रहसन, सामाजिक विकृतिप्रति व्यङ्यात्मक प्रदर्शन र नाचगान पनि गरिएनन् ।

टोखामा ५८ दिवङ्गतको सम्झना गरी मनाइयो 
धार्मिक सांस्कृतिक र ऐतिहासिक महत्व बोकेको टोखामा गाईजात्रा पर्व धुमधामका साथ मनाइएको छ । नेवार समुदायको झण्डै १० हजार जनसङ्ख्या रहेको टोखामा वर्षभर दिवङ्गत भएका ५८ जनाको सम्झना गरी आज गाईजात्रा मनाइएको हो । टोखा नगरपालिकाको–२ र ३ मा नेवार समुदायका झण्डै दुई हजार घरधुरी रहेका वडा नं २ का वडाध्यक्ष दीपकराज जोशीले जानकारी दिए । 
टोखामा लिच्छिवीकालदेखि नेवार बस्ती बसेको इतिहास छ । टोखाबाहेक काठमाडौँको असन, इन्द्रचोक, ठमेल, मनमैजु, नैकाप, भक्तपुर र ललितपुरका विभिन्न स्थानमा पनि आज गाईजात्रा पर्व मनाइएको छ । गाईजात्रा पर्वमा दिवङ्गत आफन्तको परिवारको दुःख भुलाउनका साथै मृतकलाई स्वर्गमा जान सहज बनाउने धार्मिक विश्वास रहेको छ । टोखामा गाईजात्रा पर्वकै अवसरमा मृतक परिवारको दुःख भुलाउनका लागि ‘ख्याली’ समेत निकाल्ने गरिन्छ ।   
उक्त पर्वमा मान्छे मरेको घरबाट अनिवार्य रुपमा चार जनाले गाईजात्रा निकाल्नुपर्ने हुन्छ । चार जनामध्ये दुई जना गाई, एक जना गोठालो र अर्को एक जना ब्रतबन्ध नगरेको युवा वा गुफा नपसेकी युवतीलाई सिंगारेर नगरपरिक्रमा गर्ने गरिन्छ । चार जना नभएको परिवारले आफन्तलाई बोलाएर भएपनि चार जना अनिवार्य पु¥याउनुपर्ने हुन्छ । 
गाईजात्रामा धिमेबाजा बजाउने गरिन्छ । दुःखको समयमा बजाइने उक्त बाजा गाईजात्राको दिनमा मात्र सिक्ने, सिकाउने र बजाउने गरिन्छ । टोखाको तलेजु भगवानको मन्दिर मृतक परिवारले घुमेर गाईजात्रा निकाल्ने गरिन्छ । गाईजात्रा मनाएपछि बेलुका स्वयम्भूनाथ र टोखाको गणेश मन्दिरमा बत्ती बाल्ने प्रचलन रहेको टोखा नेवाःगुठीका अध्यक्ष रमेश नापित बताउँछन् ।
गाईजात्रामा सामेल हुने मृतक परिवारलाई मृतक परिवारकै सदस्यले पुरी, खिर, फलफूल र नगद दान गर्ने प्रचलन रहेको टोखा भवानी गुठीका मूल नाइके हेमराज श्रेष्ठले जानकारी दिनुभयो । उक्त दान बेलुका घरमा लगेर घर परिवार र छरछिमेकलाई बाँडेर खाने प्रचलन रहेको छ । मृतक परिवारले एक वर्षका लागि ३६५ पोका बनाएर दान गर्ने प्रचलन रहेको छ । 
टोखामा सरस्वती धिमे खलः र सपनतीर्थ धिमे खलःले प्रत्येक वर्ष गाईजात्रा निकाल्ने गरेको टोखा नगरपालिका–२ का वडा सदस्य एवं नेपाली कांग्रेस टोखाका नेता हेराकाजी महर्जन बताउँछन् । गाईजात्राको अवसरमा बजाइने धिमेबाजा बाहेक टोखामा मान्छे मरेको बेलामा बजाइने कसाई बाजा, कृष्ण जन्माष्टमीमा बजाइने धाँ बाजा, ठूलो एकादशीमा बजाइने खीँ बाजा टोखाका प्रमुख बाजा हुन् ।  ऐतिहासिक एवं धार्मिक महत्व बोकेको टोखामा तलेजु भगवान्, कृष्णमन्दिर, गणेश मन्दिर, सपनतीर्थ मन्दिरलगायतका धार्मिक तीर्थस्थल रहेका छन् ।–रासस
 

प्रकाशित मिति: मंगलबार, भदौ ८, २०७८  ०६:३१
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार
थप समाचार
लघुवित्त पीडित आमरण अनशनमा
मंगलबार, भदौ ८, २०७८

आज साउनको दोस्रो सोमवार
मंगलबार, भदौ ८, २०७८

आज साउनको दोस्रो सोमबार 
मंगलबार, भदौ ८, २०७८