सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर । ललितपुर महानगर वडा नम्बर ३ ले नागरिकका गुनासो सम्बोधन गर्न र वडाका सेवाहरूबारे जानकारी उपलब्ध गराउन आर्टिफिसियल इन्टेलिजेन्स (एआई) प्रविधिको सुरुवात गरेको छ । स्थानीय तहमा सेवा प्रवाह र सञ्चारलाई सहज बनाउने उद्देश्यले सम्भवत नेपालमै पहिलोपटक वडा तहमा यस्तो प्रविधिको प्रयोग गरिएको दाबी गरिएको छ । यस नवप्रवर्तन प्रविधिमार्फत वडावासीले वडाको भौगोलिक अवस्था, भौतिक संरचना, सांस्कृतिक सम्पदा, जनसंख्याका साथै वडा कार्यालयबाट जारी हुने विभिन्न सेवा तथा सिफारिसका प्रक्रियाबारे विस्तृत जानकारी प्राप्त गर्न सक्नेछन् । यसका साथै वडा कार्यालय वा जनप्रतिनिधिहरूसँग सम्बन्धित गुनासोहरू पनि एआईमार्फत २४ सै घण्टा दर्ता गराउन सकिने व्यवस्था मिलाइएको छ । यो प्रणालीले जनप्रतिनिधिहरूका बारेमा सोधिएका जानकारी समेत उपलब्ध गराउँछ । वडाध्यक्ष श्री गोपाल महर्जनका अनुसार सूचना प्रविधि कम्पनी ब्लु ओभलको प्राविधिक सहकार्यमा यो प्रणाली विकास गरिएको हो । नागरिकहरूले एआई प्रणालीको नम्बर ०१–५९७००७५ मा फोन गरेर आफूलाई आवश्यक जानकारी लिन वा गुनासो दर्ता गराउन सक्नेछन्। वडाले दिने सबै सेवाहरू कसरी प्राप्त गर्न सकिन्छ र त्यसका लागि के–के कागजात आवश्यक पर्छन् भन्ने कुरा वडाले सार्वजनिक गरेको एआई नम्बरमा फोन गरेर थाहा पाउन सकिने वडाअध्यक्ष महर्जनले जानकारी दिए । वडाध्यक्ष महर्जनले भने, ‘यसबाहेक वडा भित्रका सम्पदा, विद्यालय तथा अन्य भौतिक संरचनाबारे पनि एआईले नै जानकारी दिनेछ । सेवाग्राहीले कुनै पनि जानकारी र सोधपुछका लागि मात्र वडा कार्यालय धाइरहनु पर्दैन, भौतिक रूपमा उपस्थिति हुनुपर्ने काममा मात्र वडा आए पुग्नेछ।’