सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उमेर बढ्दै जाँदा हरेक मानिसको स्मरणशक्ति घट्दै जान्छ । यसो हुनुको मुख्य कारण मस्तिष्कको कुनै एक भाग वा एउटै जीन मात्र नभई समयसँगै मस्तिष्कभरि हुने संरचनागत परिवर्तनहरू भएको एक अन्तर्राष्ट्रिय अध्ययनले देखाएको छ । हजारौँ स्वस्थ वयस्कका एमआरआई स्क्यान र स्मरणशक्ति परीक्षणको विश्लेषण गर्दा, मस्तिष्कको ऊतक खुम्चिँदै जाँदा स्मरणशक्ति झन् तीव्र रूपमा घट्ने पाइएको छ । यो प्रभाव विशेषगरी जीवनको पछिल्लो चरणमा बढी देखिने अध्ययनले जनाएको छ । यद्यपि हिप्पोक्याम्पस स्मरणशक्तिसँग प्रत्यक्ष रूपमा जोडिएको महत्त्वपूर्ण मस्तिष्क भाग हो । तर अध्ययनले देखाएअनुसार स्मरणशक्ति ह्रासमा मस्तिष्कका अन्य धेरै भागहरूको पनि भूमिका रहेको छ । यसले कुनै एक स्थानमा मात्र क्षति नभई मस्तिष्कभर फैलिएको संवेदनशीलता रहेको संकेत गर्छ । १३ वटा छुट्टाछुट्टै दीर्घकालीन अध्ययनबाट सङ्कलन गरिएको तथ्यांक प्रयोग गरी गरिएको यस अनुसन्धानमा ३,७०० भन्दा बढी स्वस्थ व्यक्तिका १०,००० भन्दा धेरै एमआरआई स्क्यान र १३,००० भन्दा बढी स्मरणशक्ति परीक्षण समावेश गरिएका थिए । अध्ययनले फरक–फरक उमेर समूहमा समयक्रमसँगै मस्तिष्कको संरचनामा हुने परिवर्तन र स्मरणशक्तिमा देखिने प्रभावको स्पष्ट चित्र प्रस्तुत गरेको छ । नतिजाअनुसार, मस्तिष्क खुम्चिने प्रक्रिया र स्मरणशक्ति ह्रासबीचको सम्बन्ध सरल वा सिधा रेखामा चल्ने खालको छैन् । यो सम्बन्ध उमेर बढ्दै जाँदा झन् बलियो हुँदै जान्छ र अल्जाइमर रोगसँग सम्बन्धित जस्ता जीनिक जोखिम ले मात्र यसलाई व्याख्या गर्न सक्दैन । नेचर कम्युनिकेसन्स जर्नलमा प्रकाशित “बुढ्यौलीमा स्मरणशक्ति ह्रासप्रतिको संवेदनशीलता ः मस्तिष्क संरचनागत परिवर्तनको विशाल विश्लेषणबाट उजागर” शीर्षकको यस अध्ययनले स्मरणशक्तिसँग सम्बन्धित मस्तिष्क परिवर्तनहरू कुनै एक भागमा सीमित नरहेको पुष्टि गरेको छ । हिप्पोक्याम्पसमा सबैभन्दा बलियो प्रभाव देखिए पनि, मस्तिष्कका कर्टिकल र सबकर्टिकल क्षेत्रहरूमा पनि उल्लेखनीय सम्बन्ध पाइयो । अनुसन्धानकर्ताहरूका अनुसार, जसको मस्तिष्क संरचना औसतभन्दा छिटो घट्दै गएको थियो, तिनमा स्मरणशक्ति पनि तीव्र रूपमा घटेको देखियो । यसले मस्तिष्क खुम्चिने प्रक्रिया निश्चित स्तर पार गरेपछि स्मरणशक्तिमा यसको असर अझ तीव्र रूपमा बढ्ने संकेत गर्दछ । अध्ययनका वरिष्ठ वैज्ञानिक डा. आल्भारो पास्कुअल–लियोनका अनुसार, “उमेरसँगै देखिने स्मरणशक्ति ह्रास केवल बुढ्यौलीको सामान्य परिणाम मात्र होइन, यो व्यक्तिगत संवेदनशीलता र दीर्घकालीन जैविक प्रक्रियासँग जोडिएको हो ।” उनले थपे, “यी निष्कर्षहरूले स्मरणशक्ति ह्रास कुनै एक भाग वा जीनको कारण नभई दशकौँसम्म जम्मा हुँदै जाने मस्तिष्क संरचनागत कमजोरीको परिणाम हो भन्ने देखाउँछ । यसले जोखिममा रहेका व्यक्तिहरूलाई चाँडै पहिचान गर्न र स्मरणशक्ति जोगाउने व्यक्तिगत उपचार तथा उपायहरू विकास गर्न सहयोग पु¥याउन सक्छ ।” अध्ययनले स्वस्थ बुढ्यौली र दीर्घकालीन संज्ञानात्मक स्वास्थ्य बुझ्न महत्वपूर्ण आधार प्रदान गरेको वैज्ञानिकहरूको निष्कर्ष छ । एएनआई