सोसल मिडिया
Contact Us
युनिकोड
विराटनगर । सुनसरीको देवानगञ्ज गाउँपालिकाको कार्यपालिका बैठकले कप्तानगञ्ज झडपमा ज्यान गुमाएकाका परिवारलाई राहत दिने निर्णय गरेको छ । बिहीबार बसेको कार्यपालिका बैठकले दुई मृतकका परिवारलाई राहत दिने निर्णय गरेको हो । मृतकलाई सहिद घोषणाका लागि सिफारिस गर्ने निर्णय गरिएको गाउँपालिका अध्यक्ष बेचन प्रसाद मेहताले बताए । यही साउन १० गते आइतबार राति दुई समुदायबीच भएको झडप र त्यसपछि सुरक्षाकर्मीले चलाएको गोली लागेर दुई स्थानीयको मृत्यु भएपछि गाउँपालिकाले यस्तो निर्णय गरेको हो । सुनसरीको देवानगञ्जमा आइतबार राति प्रहरीको गोली लागेर घाइते भएका अर्का एक युवाको उपचारका क्रममा बिहीबार मृत्यु भएसँगै मृतकको संख्या २ पुगेको हो । विराटनगरको न्यूरो अस्पतालमा उपचाररत देवानगञ्ज–३ का २२ वर्षीय जयप्रकाश मेहताको मृत्यु भएको हो । जयप्रकाशको पेटमा गोली लाग्दा आन्द्रा बाहिर निस्किएको थियो । गत सोमबार उनको शल्यक्रिया गरिएको थियो । उनको भेन्टिलेटरमा उपचार भइरहेको थियो । उपचाररत अवस्थामै उनको मृत्यु भएको प्रहरीले जनाएको छ । देवानगञ्ज घटनामा गोली लागेर घाइते भएका अन्य ८ जनाको विराटनगरकै न्यूरो, विराट नर्सिङ होम र नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ । घाइतेमध्ये नोबेल शिक्षण अस्पतालमा उपचाररत देवानगञ्ज–३ का १८ वर्षीय अमित यादवको अवस्था पनि गम्भीर छ । उनको बायाँ हात र कोखामा गोली लागेको थियो । शल्यक्रिया गरेर गोली निकालिए पनि उनी भेन्टिलेटरमै उपचाररत छन् । आइतबार राति गोली लागेर घाइते भएका देवानगञ्ज–४ का २५ वर्षीय ओमप्रकाश मेहताको सोही राति निधन भएको थियो । गाउँपालिकाले मृतक दुवैका परिवारलाई १०–१० लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ । यसैगरी, झडपमा परी पूर्ण रूपमा अशक्त र अपाङ्ग भएका घाइतेहरूलाई २ लाख रूपैयाँ र सामान्य घाइते भएकाहरूलाई ५० हजार रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरिएको छ । संघीय सरकारको भूमिकाप्रति अध्यक्ष मेहताले आपत्ति जनाएका छन् । पीडित पक्ष र स्थानीयले गृहमन्त्री स्वयं आएर घटनास्थलको वस्तुस्थिति बुझ्न र सम्बोधन गर्न माग गरेका थिए । तर, गृहमन्त्रीको सट्टा उनका स्वकीय सचिव जेम्स कार्की मात्र आएर फर्किएकोमा अध्यक्षले असन्तुष्टि पोखे । अध्यक्ष मेहताले भने, ‘हामीले गृहमन्त्री आफैं आएर जनतालाई सम्बोधन गरी स्थिति साम्य पार्नुहुन्छ भन्ने आश गरेका थियौं, तर उहाँले पीए पठाएर झारा टार्ने काम गर्नुभयो । पीए आएर जाँदैमा यहाँको आक्रोश मत्थर हुँदैन, सरकारले यो घटनालाई पूर्ण रूपमा लापरबाही र गैरजिम्मेवार ढंगले हेरिरहेको छ ।’ बैठकले घटनाका कारण उत्पन्न असहज परिस्थितिलाई मध्यनजर गर्दै स्वास्थ्य बाहेकका गाउँपालिका अन्तर्गतका सम्पूर्ण कार्यालय अर्को सूचना जारी नहुञ्जेलका लागि बन्द गर्ने निर्णय गरेको छ । साथै, वडा नं. ३ का वडा अध्यक्षको अनुपस्थितिमा ज्येष्ठ सदस्य रामबहादुर महतोलाई कार्यवाहक वडा अध्यक्षको जिम्मेवारी तोकिएको छ । झडपमा गोली चलाउन आदेश दिने र संलग्न सुरक्षाकर्मीमाथि छानबिन गरी २४ घण्टाभित्र कानूनी दायरामा ल्याउन गाउँपालिकाले माग गरेको छ । घटनामा भएको निजी भौतिक सम्पत्तिको क्षतिको विवरण यकिन गरी सरकारसँग क्षतिपूर्तिको माग गर्ने निर्णय समेत पालिकाले गरेको छ । केही दिनअघि राखिएको मुहर्रमको झण्डा नहटाइएको विषयमा दुई समुदायबीच उत्पन्न असमझदारी नै झडपको मुख्य कारण रहेको खुलेको छ । साउन १० गते साँझ बोलबमको डिजे गीतलाई लिएर शुरू भएको विवादले उग्र रूप लिएको थियो ।