सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बुद्ध एयरले सामाजिक सञ्जाल तथा केही अनलाइन सञ्चारमाध्यममा फोटोशप र एआईको प्रयोग गरी तयार पारिएका भ्रामक स्क्रिनसट तथा सामग्रीमार्फत हवाई भाडादरबारे भ्रम फैलाइएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । बुद्ध एयरले आज जारी गरेको प्रेस विज्ञप्तिमार्फत धनगढीको एकतर्फी हवाई भाडा १० हजार ८ सय रुपैयाँमै उपलब्ध गराउँदै आएको स्पष्ट पारेको छ। न्यूनतम भाडादरमा टिकट उपलब्ध गराइरहेकाले अधिकांश दिनका उडानमा टिकट बिक्री भइसकेको कम्पनीले जनाएको छ । रसुवा क्षेत्रमा आएको बाढी तथा पहिरोका कारण राजमार्गमा ठूलो क्षति पुगेपछि लामो समय सडक यातायात अवरुद्ध भएको अवस्थामा यात्रुलाई सहज र किफायती हवाई सेवा उपलब्ध गराउने उद्देश्यले न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने निर्णय गरिएको बुद्ध एयरले जनाएको छ । कम्पनीले बाटोघाटो सहज नहुन्जेल तथा दशैं–तिहारसम्म न्यूनतम भाडादरमा टिकट उपलब्ध गराउने घोषणा गरी सोहीअनुसार कार्यान्वयन गरिरहेको जनाएको छ । बुद्ध एयरले आफ्नो आधिकारिक प्रणाली तथा बिक्री माध्यमबाट कायम गरिएको भाडादरभन्दा बढी मूल्यमा अनधिकृत रूपमा टिकट बिक्री गरेको पाइएमा कडा कदम चाल्ने चेतावनी दिएको छ । कम्पनीले भनेको छ, ‘कुनै व्यक्ति, ट्राभल एजेन्सी वा अन्य माध्यमबाट अनधिकृत रूपमा बढी मूल्यमा टिकट बिक्री गरेको पाइएमा त्यस्ता कार्यप्रति कडा आपत्ति जनाउँदै प्रचलित कानुनबमोजिम आवश्यक कानुनी कारबाही अघि बढाइनेछ ।’ यात्रुहरूलाई सामाजिक सञ्जाल वा अन्य अनधिकृत माध्यमबाट प्रसारित भ्रामक सूचना तथा स्क्रिनसटको आधारमा हवाई भाडासम्बन्धी धारणा नबनाउन पनि बुद्ध एयरले आग्रह गरेको छ । बुद्ध एयरका अनुसार यात्रुले कम्पनीका आधिकारिक बिक्री माध्यम, वेबसाइट तथा मोबाइल एपबाट मात्रै भाडादर र टिकटसम्बन्धी जानकारी लिन सक्नेछन् । कम्पनीले काठमाडौं बाहिर जाने यात्रुको संख्या बढेको तर काठमाडौं भित्रिने यात्रुको संख्या तुलनात्मक रूपमा कम रहेको जनाएको छ । काठमाडौं आउने यात्रुका लागि बुद्ध एयरले न्यूनतम भाडादरमा प्रोमो कोडमार्फत अफरसमेत उपलब्ध गराएको जनाएको छ । उक्त प्रोमो कोड बुद्ध एयरको वेबसाइट तथा मोबाइल एपमार्फत सहजै लिन सकिने कम्पनीले जनाएको छ । बुद्ध एयरले विपद्को कठिन अवस्थामा यात्रु तथा आम नागरिकलाई सहज, सुरक्षित र किफायती हवाई सेवा उपलब्ध गराउने प्रतिबद्धता निरन्तर कायम राख्ने जनाएको छ ।