Dashain Banner
Dashain Banner

भारत र चीनसहित १० देशका लागि प्रस्तावित राजदूतको नाम संसदीय सुनुवाइ समितिबाट अनुमोदन

दुईजना अस्वीकृति, एकजना होल्डमा 
बुधबार, असोज २८, २०८३

काठमाडौँ । संसदीय सुनुवाइ समितिले भारत र चीनसहित १० देशका राजदूतहरूको नाम अनुमोदन गरेको छ ।  बुधबार बसेको समिति बैठकले भारतका लागि प्रस्तावित राजदूत डा. निश्‍चलनाथ पाण्डे, चीनका लागि प्रस्तावित राजदूत कल्याणराज शर्मा, अमेरिकाका लागि प्रस्तावित राजदूत चिरनजंग थापा, बेलायतका लागि प्रस्तावित राजदूत गौरव शमशेर जबरा र जर्मनीका लागि प्रस्तावित राजदूत सरू जोशीको नाम सर्वसम्मतले अनुमोदन गरेको हो । साथै बैठकले इजरायलका लागि प्रस्तावित राजदूत सुरेश कुमार कर्ण, ओमानका लागि प्रस्तावित राजदूत पदमाक्षी राणा, गणतन्त्र कोरियाका लागि प्रस्तावित राजदूत प्रा. डा. संगम श्रेष्ठ, स्पेन अधिराज्यका लागि प्रस्तावित राजदूत प्राप्ति शेरचन र श्रीलंकाका लागि प्रस्तावित राजदूत डा. मंचला कुमारी झाको नाम अनुमोदन गरिएको समितिका सभापति बोध नारायण श्रेष्ठले जानकारी दिए । बैठकले साउदी अरब अधिराज्यका लागि प्रस्तावित राजदूत गिरी बहादुर सुनारको नाम अस्वीकृत गरेको छ ।। यस्तै मलेसियाका लागि प्रस्तावित राजदूत चुडामणी खरेलको नाम अस्वीकृत भएको छ । संसदीय सुनुवाइ समितिबाट उनको नाम अस्वीकृत भएको हो । समितिमा रास्वपा सांसद राजिव खत्रीले उनीमाथि विभिन्न आरोप सहितको प्रश्न उठाएका थिए । साउदी अरबको लागि प्रस्तावित राजदूत सुनारको नाम संसदीय सुनुवाइ समितिले अस्वीकृत गरेको हो ।  सांसदहरुले सुनारमाथि महिला हिंसासहितका गम्भीर आरोप लागेको भन्दै सुनुवाइको क्रममा नाम फिर्ता लिन आग्रह गरेका थिए ।

जापानका लागि प्रस्तावित राजदूत थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’

जापानका लागि प्रस्तावित राजदूत जिज्ञान कुमार थापाको अनुमोदनबारेको निर्णय ‘होल्ड’ गरिएको छ । समिति सभापति बोधनारायण श्रेष्ठले जापानबाट उनीबारे थप विवरण माग गरिएकोले केही समयलाई होल्ड गरिने जानकारी दिए । उनीमाथि जापानको पीआर रहेको र स्वार्थ बाझिनसक्ने भन्दै संसदीय सुुनुवाइ समितिमा प्रश्न उठेको थियो ।
सोबारेमा समितिले सरकारमार्फत जापानसँग विवरणसमेत माग गरेको थियो । जापानबाट विवरण आइनसकेको पत्र परराष्ट्र मन्त्रालयबाट प्राप्त भएको भन्दै समिति सभापति श्रेष्ठले तत्कालका लागि उक्त निर्णय नलिने जानकारी दिए । प्रस्तावित राजदूत थापाले भने जापानको पीआर त्यागिसकेको प्रष्टीकरण दिएका थिए ।
यी हुन् संसदीय समितिबाट अनुमोदन भएका नामहरू–

डा. निश्चलनाथ पाण्डे - भारत

कल्याणराज शर्मा - चीन

चिरनजंग थापा - अमेरिका

गौरवशमशेर जबरा, बेलायत

सरु जोशी - जर्मनी

सुरेश कुमार कर्ण - इजरायल

पद्माक्षी राणा - ओमान

संगम श्रेष्ठ - दक्षिण कोरिया

प्राप्ति शेरचन - स्पेन

डा. मञ्चला झा - श्रीलंका

प्रकाशित मिति: बुधबार, असोज २८, २०८३  २०:०४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार