सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । बजारमा खाना पकाउने एलपी ग्यासको अभाव कायमै रहेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले शनिबार विभिन्न ग्यास उद्योग तथा नेपाल आयल निगमको टेकुस्थित वितरण केन्द्रको स्थलगत अनुगमन गरेकी छन् । अनुगमनका क्रममा मन्त्री यादवले ग्यासको आपूर्ति तथा वितरण प्रक्रियाबारे जानकारी लिनुका साथै उपभोक्ताले सहज रूपमा ग्यास पाउने व्यवस्था तत्काल मिलाउन सम्बन्धित निकायलाई निर्देशन दिएकी छन् । बजारमा ग्यासको अभाव देखिए पनि भारतबाट हुने ग्यासको आपूर्तिमा भने कुनै समस्या नरहेको नेपाल आयल निगम लिमिटेडका कार्यकारी निर्देशक नागेन्द्र साहले बताए । उनले वितरण प्रणालीमा देखिएको समस्या समाधानका लागि आवश्यक काम भइरहेको र समस्या छिट्टै समाधान हुने दाबी गरे । साहका अनुसार नेपालमा दैनिक करिब ९० हजारदेखि १ लाख ग्यास सिलिन्डरको माग हुने गरेकोमा हाल दैनिक करिब १ लाख ५० हजार सिलिन्डर बिक्री तथा वितरण भइरहेको छ । सहज आपूर्तिका लागि वाणिज्य विभागको १५ देखि २० जनाको टोलीसहित मन्त्री र सम्बन्धित अधिकारीहरू निरन्तर बजार अनुगमनमा खटिएको उनले जानकारी दिए । यता, उपभोक्ताहरूले भने अझै पनि सहज रूपमा ग्यास पाउन नसकेको गुनासो गरेका छन् । नेपाल आयल निगमको टेकुस्थित वितरण केन्द्रबाट समेत सहज रूपमा ग्यास पाउन नसकेको उपभोक्ताहरूको भनाइ छ । निगमले भने उपभोक्तालाई रित्तो हात फर्किन नदिन वितरणको समय अवधि थप गर्ने तयारी गरेको जनाएको छ । त्यसका लागि थप जनशक्ति परिचालन गर्नुका साथै नियन्त्रण कक्षको समेत व्यवस्था गरिएको निगमले जनाएको छ । निगमले फुल सिलिन्डरको बिक्री सुरु गरेसँगै बजारमा ग्यासको अभाव देखिएको हो । निगमले आपूर्ति पर्याप्त रहेको दाबी गरे पनि वितरण प्रणालीमा देखिएको अव्यवस्थाका कारण उपभोक्ताले भने अझै सास्ती बेहोर्नुपरेको छ ।