सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–३ स्थित तातोपानी भन्सार क्षेत्रमा शुक्रबार राति सुख्खा पहिरो खस्दा सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोस्ट (बीओपी) तातोपानीका विभिन्न संरचनामा क्षति पुगेको छ ।सशस्त्र प्रहरीका अनुसार शुक्रबार राति करिब १ः१५ बजे बीओपीको उत्तर–पश्चिमतर्फ रहेको करिब २०० देखि ३०० मिटर अग्लो डाँडाबाट सुख्खा पहिरो खसेर ढुङ्गा उछिट्टिँदा प्रहरी संरचनामा क्षति पुगेको हो । घटनामा कुनै मानवीय क्षति भने भएको छैन । पहिरोका कारण पहिलो लाइन ब्यारेकको एउटा झ्यालको सिसा फुटेको छ भने दोस्रो लाइन ब्यारेकको भित्तामा प्वाल पर्नुका साथै जस्ताको छानामा छ वटा प्वाल परेको छ । यस्तै, एउटा ड्युटी पोस्ट पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने अर्को ड्युटी पोस्टमा आंशिक क्षति पुगेको छ । सशस्त्र प्रहरी निरीक्षकको बाथरुमको भित्तामा पनि प्वाल परेको छ । हिमाली ज्याकेट, राष्ट्रिय झण्डा राखिएको पोल, जिन्सी स्टोर भवन तथा मुख्य प्रवेशद्वारअगाडिको सिँढीमा समेत क्षति पुगेको सशस्त्र प्रहरीले जनाएको छ । घटनापछि क्षतिको विवरण संकलन तथा आवश्यक सुरक्षा व्यवस्थापनको काम भइरहेको जनाइएको छ।