वायुसेवा नियममा नयाँ सञ्चालक समिति बनेसँगै सुधारका संकेत

आम्दानी झण्डै ३२ प्रतिशतले बढ्यो
आइतबार, साउन १७, २०८३

काठमाडौँ । नेपाल वायुसेवा नियमको सञ्चालक समितिमा नयाँ पदाधिकारी नियुक्त भएसँगै सुधारका संकेतहरु देखिएका छन् । सुशासन, व्यवसायीकता र सेवा प्रवाहमा सुधार हुन थालेको निगमको दाबी छ ।  निगममा खुल्ला प्रतिस्पर्धाबाट पाँच जना र मन्त्रालयगत प्रतिनिधि दुई जना गरी सात जनाको सञ्चालक समिति गत जेठ ५ गते गठन गरिएको थियो । उनीहरु मध्येबाट हवाई सेवाको क्षेत्रका विषयविज्ञ र अनुभवी महेश्वरभक्त श्रेष्ठलाई मन्त्रीपरिषद्को बैठकबाट गत असार ३० गते महाप्रवन्धकको समेत भूमिका निर्वाह गर्नेगरी कार्यकारी अध्यक्षको जिम्मेवारी दिइएको हो ।   नेपालको हवाई सेवा क्षेत्रमा अनुभवी, विषयविज्ञ तथा सफल व्यक्तित्वका रूपमा चिनिनु हुने अध्यक्ष श्रेष्ठ विक्रम सम्वत् २०४९ सालमा निगमकै निर्देशक पदबाट सेवानिवृत्त भएका थिए । उनले निगमको बजार विभाग, संस्थागत विभाग तथा व्यवसाय प्रवद्र्धन विभागको निर्देशकका रूपमा जिम्मेवारी निर्वाह गरेका थिए ।  श्रेष्ठ बेलायतको वेस्टमिन्स्टर विश्वविद्यालय, लन्डनबाट हवाई यातायात विषयमा उच्च अध्ययन गरी स्वदेश फर्कने पहिलो नेपाली हुन् । उनले क्यानडामा पनि हवाई सेवा सम्बन्धी अध्ययन गरेका छन् । साथै, अमेरिका र भारतका प्रतिष्ठित शैक्षिक संस्थाहरूबाट हवाई सेवा व्यवस्थापन, योजना निर्माण तथा बजार प्रवद्र्धनलगायत विषयमा विशेष अध्ययन तथा तालिम प्राप्त गरेका छन् । नवनियुक्त कार्यकारी अध्यक्ष श्रेष्ठले तीन वर्षभित्रमा निगमलाई ऋणमुक्त बनाउने लक्ष्य लिएको बताए । अध्यक्षको जिम्मेवारी सम्हालेको १५ दिनमा तीन पटक सञ्चालक समितिकै बैठक बसेको छ भने अन्य कार्यसम्पादनका निर्णायक बैठकहरु पनि दर्जनौ पटक बसेका छन्। ती बैठकहरु निगमको सुधारका लागि स्पष्ट मार्गचित्र, योजना र रणनीतिहरु तय गर्न उपलब्धीमुलक भएको उनको भनाई छ ।  निगमले अघिल्लो बर्षको असार महिनाको तुलनामा यस बर्षको असारमा आम्दानी मात्रै झण्डै ३२ प्रतिशतले बृद्धि गरेको छ । अघिल्लो बर्षको असार महिनामा एक अर्व ५७ लाख आम्दानी भएकोमा यस बर्षको असारमा करिव एक अर्ब ३३ करोड ५२ लाख आम्दानी भएको छ ।  निगमका अनुसार सञ्चालन भएको विमानको कुल सिट उपयोगीता प्रतिशत पनि अघिल्लो बर्षको भन्दा यस बर्ष बढी देखिएको छ । अघिल्लो बर्ष झण्डै ७५ प्रतिशत सिट विक्रि भएको थियो भने यस बर्ष कुल ८५.४ प्रतिशत सिट उपयोग भएको देखिएको हो ।  गत आर्थिक बर्षभरीमा निगमको उडान २९४ ओटा भएको र त्यसबाट ४९ हजार ४ सय ६० जनाले सेवा पाएको निगमकी प्रवक्ता तथा कर्पोरेट विभागकी निर्देशक अर्चना खड्काले जानकारी दिइन् ।  निगमले पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा सुरु हुने फ्लाई दुवइको नियमित उडान सेवाका लागि स्थलगत सेवा पुर्याउन आवश्यक तयारी पनि अहिले नै पुरा गरेको छ ।   नियमका श्रोत साधन र जनशक्तिलाई अत्यधिक परिचालन गर्दै आम्दानी बढाउने तथा खर्च घटाउने योजनाहरु पनि कार्यान्वयन गर्न थालिएको अध्यक्ष श्रेष्ठले बताए ।  ‘निगमको सेवा युरोपसम्म विस्तार गर्दै संस्थालाई चुस्त, मितव्ययी, पारदर्शी र व्यावसायिक बनाउने मेरो लक्ष्य छ। अहिलेको ऋण चुक्ता गरी आफ्नै आम्दानीबाट सञ्चालन हुन सक्ने आत्मनिर्भर संस्था बनाउने योजनामा म पूर्ण रूपमा समर्पित छु,’ उनले भने । 

प्रकाशित मिति: आइतबार, साउन १७, २०८३  १७:३७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार