सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । विश्व पर्यटन दिवसको अवसर पारेर होटल व्यवसायी महासंघ नेपालले होटल तथा रेस्टुरेन्ट क्षेत्रको डिजिटल रूपान्तरण र व्यावसायिक सशक्तीकरणका लागि एकवर्षे ‘होटल तथा रेस्टुरेन्ट उद्योगका लागि राष्ट्रिय डिजिटल साक्षरता अभियान’ औपचारिक रूपमा सुरु गरेको छ । आइतबार सातै प्रदेशका होटल तथा रेस्टुरेन्ट व्यवसायलाई आधुनिक प्रविधि र कृत्रिम बुद्धिमत्ता (एआई) सँग जोड्ने लक्ष्यसहित यो अभियान थालिएको हो । बागमती प्रदेशका उद्योग, पर्यटन, श्रम तथा यातायात मन्त्रालयका सचिव दीपेन्द्र सुवेदीको प्रमुख आतिथ्यता तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठको विशेष आतिथ्यतामा काठमाडौंमा आयोजित एक समारोहबीच अभियानको शुभारम्भ गरियो । कार्यक्रममा नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्त, नेपाल पर्यटन बोर्डका योजना तथा अनुगमन प्रमुख लक्ष्मण गौतम, बागमती प्रदेश पर्यटन कार्यालयका प्रमुख पवन पोखरेल, होटल व्यवसायी महासंघका पूर्वअध्यक्ष अमृतबहादुर भुजेल, भिटोफ नेपालका अध्यक्ष हरिशरण थपलिया लगायत निजी क्षेत्र एवं पर्यटनसम्बद्ध अगुवाहरूको उपस्थिति थियो । कार्यक्रमलाई सम्बोधन गर्दै सचिव सुवेदीले नेपालको आतिथ्यता क्षेत्रको समग्र विकासका लागि साना तथा मझौला व्यवसायीको क्षमता विकास र डिजिटल सशक्तीकरण अनिवार्य रहेको बताए । प्रविधिको व्यावहारिक प्रयोग नबढाएसम्म आतिथ्यता क्षेत्र प्रतिस्पर्धी बन्न नसक्ने उल्लेख गर्दै उनले महासंघको यस अभियानलाई सफल बनाउन मन्त्रालयको पूर्ण साथ र सहकार्य रहने प्रतिबद्धता व्यक्त गरे । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष नरेशलाल श्रेष्ठले डिजिटल साक्षरता अभियानलाई देशव्यापी विस्तार गर्न महासंघ सहकार्य गर्न तयार रहेको बताए । उनले प्रदेश तथा जिल्ला तहसम्मका व्यवसायीलाई समेटेर तालिम र क्षमता अभिवृद्धिका कार्यक्रम अघि बढाउन संस्थागत समन्वय आवश्यक रहेको धारणा राखे । यस्तै, नेपाल उद्योग व्यापार महासंघका वरिष्ठ उपाध्यक्ष यज्ञप्रसाद पन्तले निजी क्षेत्रको सहकार्यमार्फत पर्यटन उद्योगलाई बलियो बनाउनुपर्नेमा जोड दिए । नेपाल पर्यटन बोर्डका निर्देशक लक्ष्मण गौतमले पर्यटन क्षेत्रको प्रवद्र्धन र व्यावसायिक क्षमता अभिवृद्धिमा बोर्ड सधैँ सकारात्मक रहेको बताउँदै होटल तथा रेस्टुरेन्टको डिजिटल रूपान्तरणका लागि महासंघसँग प्रभावकारी समन्वय गरेर अघि बढ्ने स्पष्ट पारे । विश्व पर्यटन दिवसलाई औपचारिकतामा मात्र सीमित नराखी पर्यटन व्यवसायमा प्रत्यक्ष रूपान्तरण ल्याउने उद्देश्यले वर्षभरि सञ्चालन हुने गरी यो राष्ट्रिय अभियान अघि बढाइएको हो । महासंघका अध्यक्ष टी.आर. भण्डारी ‘शंकर’को नेतृत्वमा सुरु गरिएको अभियानले परम्परागत आत्मीय आतिथ्यतालाई आधुनिक प्रविधिसँग जोड्ने लक्ष्य राखेको छ । यसले विशेषगरी प्रविधिको पहुँचबाट टाढा रहेका साना तथा मझौला होटल–रेस्टुरेन्ट व्यवसायीलाई प्राथमिकतामा राखी उनीहरूको दैनिक सञ्चालन, बजार विस्तार र सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउन सहयोग गर्नेछ । महासंघले सातै प्रदेश, जिल्ला र आबद्ध संघ–संस्थाको सञ्जालमार्फत ग्रामीण क्षेत्र, राजमार्ग र नयाँ पर्यटकीय गन्तव्यसम्म अभियान पुर्याउने जनाएको छ । अभियानअन्तर्गत गुगल बिजनेस प्रोफाइल तथा गुगल म्याप्समा लोकेसन व्यवस्थापन, अनलाइन ट्राभल एजेन्सी (ओटीए) तथा अनलाइन बुकिङ प्रणाली, होटल व्यवस्थापन प्रणाली (पिएमएस), डिजिटल मार्केटिङ, सामाजिक सञ्जालको व्यावसायिक प्रयोग, क्युआर भुक्तानी, ग्राहक समीक्षा व्यवस्थापन र साइबर तथा डिजिटल सुरक्षासम्बन्धी व्यावहारिक तालिम सञ्चालन गरिनेछ । बदलिँदो पर्यटन बजारमा अनलाइन उपस्थिति र डिजिटल सेवा अनिवार्य बनिसकेको सन्दर्भमा यस अभियानले व्यवसायीबीचको डिजिटल दूरी घटाउँदै नेपाली आतिथ्यता क्षेत्रलाई थप आधुनिक, प्रतिस्पर्धी र सक्षम बनाउने विश्वास महासंघले लिएको छ ।