प्रवासी नेपालीलाई अर्थमन्त्रीको आग्रह, ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने मान्यतामा सरकार प्रतिबद्ध

आइतबार, साउन १०, २०८३

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले प्रवासमा रहेका नेपालीहरूलाई ‘एक पटकको नेपाली, सधैँको नेपाली’ भन्ने सरकार र आफ्नो पार्टीको मान्यतामा विश्वस्त रहन आग्रह गरेका छन् । उनले विदेशमा रहेका नेपालीहरूलाई नेपालको आर्थिक विकास र लगानी विस्तारका महत्त्वपूर्ण साझेदारका रूपमा अघि आउन पनि आह्वान गरेका छन् । अस्ट्रेलियास्थित नेपाली युवा उद्यमीहरूले आयोजना गरेको एक सम्मेलनलाई शनिबार भर्चुअल सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले गैरआवासीय नेपालीसँगको सम्बन्धलाई थप सुदृढ बनाउने नीति लिएको बताए । ‘एक पटकको नेपाली, सधैँको नेपाली भन्ने हाम्रो मान्यता स्पष्ट छ । त्यसमा ढुक्क हुनुहोस्,’ उनले भने । उनले प्रवासमा रहेका नेपालीहरूलाई नेपालको विकास र लगानी विस्तारका ‘सद्भावना दूत’ को संज्ञा दिँदै नयाँ सरकारले सुशासनको आधार निर्माण र आर्थिक विकासका लागि नयाँ अवसर सिर्जना गरिरहेको बताए । त्यसमा गैरआवासीय नेपालीको सहकार्य अपरिहार्य रहेको उनको भनाइ थियो । अर्थमन्त्री वाग्लेले चालु आर्थिक वर्षको बजेटमार्फत कर प्रणाली, राजस्व परिचालन, बजेट वितरण तथा लगानी वातावरणमा सुधारका पहल गरिएको उल्लेख गर्दै नेपालमा थप वैदेशिक तथा प्रवासी नेपालीको लगानी भित्र्याउने अपेक्षा सरकारको रहेको बताए । नेपालमा गरिएको लगानीको प्रतिफल सहज रूपमा फिर्ता लैजान सरकारले आवश्यक सहजीकरण गर्ने प्रतिबद्धता जनाउँदै उनले अस्ट्रेलियासहित विदेशमा रहेका नेपालीहरूलाई आफ्नै वा विदेशी लगानी नेपाल भित्र्याउन पहल गर्न आग्रह गरे । ‘डायस्पोरालाई नेपालमा लगानी ल्याउन सहजीकरणका महत्त्वपूर्ण ढोकाहरू खोलिएका छन् । तपाईंहरू हाम्रो सद्भावना दूत हुनुहुन्छ । आफैँले कमाएको वैध र विदेशी लगानी नेपालमा ल्याउन तपाईंहरू सबैभन्दा प्रभावकारी सहजकर्ता हुनुहुन्छ,’ उनले भने । उनले सरकारले गैरआवासीय नेपाली लक्षित एनआरएनए बन्ड, अफसोर बन्ड तथा वैकल्पिक वित्त परिचालन जस्ता रूपान्तरणकारी अवधारणाहरू अघि सारेको उल्लेख गर्दै ती व्यवस्था नेपालमा लगानी विस्तार गर्ने उद्देश्यले ल्याइएको स्पष्ट पारे । सरकारी कोषभन्दा बाहिरका स्रोतसमेत परिचालन गरेर अर्थतन्त्रको पुनरुत्थान गर्ने लक्ष्य रहेको उल्लेख गर्दै अर्थमन्त्री वाग्लेले सरकारले थप गर्नुपर्ने सहजीकरणका विषयमा प्रवासी नेपालीहरूबाट स्पष्ट सुझाव दिन पनि आग्रह गरे ।

प्रकाशित मिति: आइतबार, साउन १०, २०८३  १८:०९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार