सोसल मिडिया
Contact Us
युनिकोड
जोमसोम । मुस्ताङ जिल्लाको प्रतीकका रूपमा चिनिने निलगिरी हिमाल र तिलिचो हिमाल हिमाली सौन्दर्य र प्राकृतिक गौरवका अनुपम उदाहरण हुन् । अन्नपूर्ण हिमश्रृंखलाभित्र पर्ने यी हिमालहरू जोमसोम, मार्फा, थासाङ, फ्याक, धाकरझोङ, कागबेनी, उपल्लो मुस्ताङका धेरै गाउँहरू तथा कोरला क्षेत्रबाट स्पष्ट रूपमा देख्न सकिन्छ । यही कारणले यी हिमालहरू मुस्ताङका स्थानीय बासिन्दा र यहाँ घुम्न आउने पर्यटकहरूका लागि विशेष आकर्षणको केन्द्र बनेका छन् । मुस्ताङका प्रायः प्रत्येक गाउँको संस्कृति, परम्परा र जनजीवनसँग निलगिरी हिमाल गहिरोसँग जोडिएको पाइन्छ। धार्मिक विश्वास, पर्व–परम्परा तथा स्थानीय कथनहरूमा निलगिरी हिमालको विशेष महत्व रहेको छ । निलगिरी हिमाल घरपझोङ गाउँपालिका–५, ठिनी क्षेत्रमा अवस्थित छ । विशेषगरी जोमसोम, ठिनी र ढुम्बा गाउँको खानेपानी, सिँचाइ, चरनभूमि, वनजंगल तथा पूजा–संस्कृति र दैनिकी जीवनशैली यस हिमालसँग प्रत्यक्ष रूपमा जोडिएको छ । ठिनीकी स्थानीय सरिता थकाली का अनुसार निलगिरी हिमाललाई स्थानीय भाषामा ‘लोथोघाङ’ भनिन्छ । उनका अनुसार लोथो ले दक्षिण दिशा जनाउँछ भने घाङ को अर्थ हिमाल हो । उपल्लो मुस्ताङबाट हेर्दा यो हिमाल दक्षिणतर्फ देखिने भएकाले यस नामले चिनिएको हो । त्यस्तै, घरपझोङ गाउँपालिका–३, स्याङ गाउँ का स्थानीय आशबहादुर थकाली का अनुसार थकाली भाषामा निलगिरी हिमाललाई ‘ल्हामच्यु घाङ’ भनिन्छ । ल्हामच्यु को अर्थ हात्तीको सुड जस्तो आकार र घाङ को अर्थ हिमाल हो । हात्तीको सुडजस्तै आकृतिमा उभिएको हिमाल भएकाले पुर्खाहरूले यस नामकरण गरेको उनको भनाइ छ । कागबेनीका स्थानीय छेपतेन गुरुङ का अनुसार वारागुङ क्षेत्रको स्थानीय भाषामा निलगिरी हिमाललाई ‘शेरघाङ’ भनिन्छ । यहाँ शेर को अर्थ सुन र घाङ को अर्थ हिमाल हो । घाम उदाउँदा र अस्ताउँदा हिमाल सुनले जलप लगाएजस्तो देखिने भएकाले यस नामले चिनिएको गुरुङले बताए । हरेक गाउँमा निलगिरी हिमालसँग जोडिएका आफ्नै कथा, विश्वास र विशेषता रहेको पाइन्छ । यही कारणले स्थानीयवासीहरूले यस हिमाललाई पवित्र हिमाल का रूपमा लिने गरेका छन् । निलगिरी हिमालको उचाइ ७,०६१ मिटर रहेको छ भने तिलिचो हिमाल को उचाइ करिब ७,१३४ मिटर रहेको छ । यी दुबै हिमालहरूले यस क्षेत्रको हिमाली भव्यतालाई अझ थप उचाइ दिएका छन् । अन्नपूर्ण संरक्षण आयोजना अन्तर्गतको इलाका संरक्षण कार्यालय, जोमसोमका प्राकृतिक श्रोत संरक्षण सहायक रेन्जर दीपक ओली का अनुसार निलगिरी हिमालको फेदीका खर्कहरू हिउँ चितुवाको प्रमुख बासस्थान हुन् । त्यस्तै, आसपासका वन क्षेत्रमा लोपोन्मुख डाँफे, कस्तुरी मृग, नाउर लगायतका वन्यजन्तुहरू पाइन्छन् । यस क्षेत्र जडिबुटी तथा विभिन्न प्रकारका बनस्पतिले पनि धनी रहेको बताउँदै उनले परिस्थितिक प्रणालीको सन्तुलनमा निलगिरी र तिलिचो हिमालको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे । यी हिमालहरूले मुस्ताङ जिल्लाको पर्यटन प्रवद्र्धन, सांस्कृतिक पहिचान र प्राकृतिक सम्पदाको संरक्षणमा महत्वपूर्ण योगदान दिँदै आएका छन् ।