सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा.विक्रम तिमिल्सिनाले कला, साहित्य, भाषा र संस्कृति कुनैपनि राष्ट्रको शक्ति र पहिचानको आधार भएकाले तिनको संरक्षण र प्रवद्र्धनबिनाको समृद्धि अपूरो हुने बताएका छन् । शनिबार काठमाडौंमा आयोजित ‘मधुपर्क सम्मान–२०८३’ कार्यक्रममा बोल्दै उनले मुलुक भौतिक पूर्वाधार र आर्थिक सूचकाङ्क सँगसँगै भाषा, साहित्य र संस्कृतिको सुदृढ विकास समानान्तर रूपमा आवश्यक रहेको बताए । ‘कला साहित्य भनेको कुनै राष्ट्रको बल हो, पहिचान हो,’ मन्त्री तिमिल्सिनाले भने, ‘भाषा, साहित्य र संस्कृति बलिया नभएसम्म राष्ट्रको समृद्धि पूर्ण हुन सक्दैन । साहित्यलाई कसरी संरक्षण गर्न सकिन्छ भन्ने विषयमा सरकारले गम्भीरतापूर्वक सोच्ने बेला आएको छ ।’ उनले पछिल्लो समय सामाजिक सञ्जाल पनि साहित्यिक अभिव्यक्तिको महत्त्वपूर्ण माध्यमका रूपमा विकसित हुँदै गएको उल्लेख गर्दै बदलिँदो प्रविधिसँगै साहित्यको प्रस्तुति र पहुँचका नयाँ आयाम खुल्दै गएको बताए । साहित्य क्षेत्रको दीर्घकालीन विकासका लागि नतिजामुखी र दीगो प्रभाव पार्ने नीतिगत व्यवस्था गर्न सरकार प्रतिवद्ध रहेको उनको भनाइ थियो । सञ्चारमन्त्री तिमिल्सिनाले राजनीतिक क्षेत्रले साहित्य र कलाको महत्त्वलाई अपेक्षित प्राथमिकता दिन नसकेको धारणा व्यक्त गरे । समाजलाई बुझ्न, मानव संवेदनालाई पहिचान गर्न र जीवनका विविध पक्षलाई विश्लेषण गर्न साहित्यले महत्त्वपूर्ण सहयोग गर्ने उल्लेख गर्दै अन्य क्षेत्रमा काम गर्दा आफूलाई पनि साहित्यिक चेत र अध्ययनले निरन्तर सहयोग गरेको अनुभव सुनाए । उनले लामो इतिहास बोकेका सरकारी तथा सार्वजनिक सञ्चार संस्था, साहित्यिक तथा सांस्कृतिक संस्थाहरू आर्थिक रूपमा कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै त्यस्ता संस्थालाई नयाँ जीवन दिनु र आर्थिक रूपमा सबल बनाउनु आवश्यक रहेको बर्ता । समस्यामा परेका सरकारी संस्थाले सरकारबाट अतिरिक्त बजेट र सहयोगको अपेक्षा मात्र गरेर सबल हुन नसक्ने स्पष्ट पार्दै मन्त्री तिमिल्सिनाले संस्थागत कार्यशैली, व्यवस्थापन क्षमता र उत्तरदायित्वमा पनि सुधार आवश्यक रहेको बताए ।उनले भने,‘सरकार व्यवस्थापक मात्रै हो, सरकारसँग भएको रकम पनि जनताकै रकम हो । त्यसैले जनताको पैसा सही तरिकाले प्रयोग हुनुपर्छ। आर्थिक पक्षको कुरा मात्रै गरेर हुँदैन, कार्यशैलीमा पनि व्यापक सुधार आवश्यक छ ।’विगतमा संस्थागत संस्कार विकास गर्न नसकिएको र सरकारी संस्थानलाई राजनीतिक कार्यकर्ता भर्ती केन्द्रका रूपमा प्रयोग गरिएका कारण धेरै संस्थाहरू कमजोर बन्न पुगेको उनको भनाइ थियो । अहिले संस्थाहरू चुनौतीपूर्ण अवस्थामा रहेको उल्लेख गर्दै उहाँले ती अवस्थाबाट माथि उठ्न सुधारको स्पष्ट मार्गचित्रसहित सरकारले काम गरिरहेको बताए । कार्यक्रममा ‘मधुपर्क सम्मान–२०८३’ अन्तर्गत पद्यतर्फ वरिष्ठ साहित्यकार यादव खरेल, गद्यतर्फ वरिष्ठ कथाकार भाउपन्थी तथा ‘मधुपर्क प्रतिभा सम्मान’बाट डा गीता त्रिपाठीलाई सम्मान गरिएको थियो । उनीहरूलाई सम्मानपत्रसहित रु ५० हजार नगद प्रदान गरिएको गोरखापत्र संस्थानले जनाएको छ । मधुपर्कका पूर्वसम्पादक कपिल घिमिरेलाई पनि कार्यक्रममा सम्मान गरिएको थियो । सम्मानित वरिष्ठ साहित्यकार यादव खरेलले सूचना प्रविधि र कृत्रिम बौद्धिकताको तीव्र विकाससँगै साहित्यिक सिर्जना तथा पठन संस्कृतिमा ह्रास आउन थालेको चिन्ता व्यक्त गरे । नयाँ प्रविधिको उपयोग आवश्यक भए पनि पठन संस्कृतिको संरक्षणमा विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो ।