भारत भ्रमणलगत्तै परराष्ट्रमन्त्री खनालले चीनको भ्रमण गर्ने

सोमबार, जेठ २५, २०८३

काठमाडौं । परराष्ट्रमन्त्री शिशिर खनाल चीन भ्रमणमा जाने भएका छन् । तीन दिने भारत भ्रमण सकेको एक हप्तापछि चिनियाँ समकक्षी वाङ यीको निमन्त्रणमा मन्त्री खनाल १४ जुनमा चार दिने भ्रमणका लागि बेइजिङ प्रस्थान गर्न लागेका हुन् । परराष्ट्रमन्त्री खनालको चीन भ्रमणलाई दुई छिमेकी मुलुकसँग सन्तुलित सम्बन्ध कायम राख्ने प्रयासका रूपमा हेरिएको छ । भ्रमणका क्रममा मन्त्रीले समकक्षी वाङसँग द्विपक्षीय वार्ता गर्नुका साथै चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का नेताहरूलाई समेत भेट्नेछन् । ‘भ्रमण निश्चित भएपछि परराष्ट्रमन्त्रीले आवश्यक तयारी थालिसक्नु भएको छ,’ परराष्ट्र मन्त्रालयका एक वरिष्ठ अधिकारीले भने, ‘वास्तवमा उहाँको चीन भ्रमण निश्चित भएपछि मात्र उहाँले छोटो तयारीमै दिल्ली जानु भएको हो ।’ दिल्लीमा रहँदा मन्त्री खनालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, विदेशमन्त्री एस जयशंकर, राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र अन्य उच्च अधिकारीहरूसँग भेटवार्ता गरी सीमा, व्यापार, वाणिज्य, कनेक्टिभिटी, पूर्वाधार, ऊर्जा र रासायनिक मलको आपूर्ति लगायतका बृहत् द्विपक्षीय विषयहरूमा छलफल गरेका थिए । वर्तमान सरकार पश्चिमा मुलुकहरूतर्फ बढी ढल्किएको भन्ने बेइजिङको बढ्दो आशंकाकाबीच परराष्ट्रमन्त्री खनाल बेइजिङ जान लागेको उनीहरू निकट एक अधिकारीले बताए । ‘परराष्ट्रमन्त्रीको बेइजिङ भ्रमणको उद्देश्य त्यो भ्रमणलाई चिर्नु र नेपाल सन्तुलित कूटनीतिमा प्रतिबद्ध रहेको कुरामा चिनियाँ नेतृत्वलाई आश्वस्त पार्नु हो । यसको अर्थ दुवै छिमेकीसँग नेपाल सन्तुलित दृष्टिकोण देखाउनु पनि हो,’ ती अधिकारीले थपे ।

प्रकाशित मिति: सोमबार, जेठ २५, २०८३  १९:५९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार