संसदीय छानविन समितिको कार्यादेश टुंगियो

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन
मंगलबार, जेठ १५, २०८१
Global Ime Bank

काठमाडौं । अन्ततः समस्याग्रस्त सहकारी र सहकारीमा बचकर्ताको रकम हिनामिनाबारे छानबिन गर्न संसदीय समितिको कार्यादेशले अन्तिम रुप पाएको छ ।  मंगलबार दिउँसो कानूनमन्त्री पदम गिरीको कार्यकक्षमा बसेको कार्यदलको बैठकले संसदीय छानबिन समितिको चार बुँदे कार्यादेश टुंगो लगाएको हो ।  उक्त कार्यादेशको टुंगो लागेको र अब प्रधानमन्त्री पुष्पकमल दाहाललाई बुझाईएको छ । संसदीय छानबिन समितिले समग्र सहकारीको संरचनात्मक समस्या, समस्याग्रस्त सहकारीहरुको अध्ययन, गोर्खा मिडिया नेटवर्कमा पैसा ल्याउने सहकारीहरुको छानबिन गर्ने र सहकारीको पैसा ल्याउनुमा गोर्खा मिडियाका पदाधिकारीहरुको भूमिकाको अध्ययन गर्ने लगायतका विषयमा छानबिन गरि प्रतिवेदन बुझाउने छ ।  दलहरूबीच सहकारी ठगी प्रकरणमा मुछिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेको नाम उल्लेख नगरेर छानबिन अघि बढाउने सहमतिअनुसार कार्यादेश बनेको हो ।  नेपाली कांग्रेस संसदीय दलको आज बसेको बैठकले हिजो सोमबार दलबीच संसदीय समिति गठन गर्ने विषयमा भएको निष्कर्षउन्मुख सहमतिलाई अनुमोदन गरेको थियो । सदनमा भएका प्रमुख दलबीच समिति गठन  गर्ने, समितिमा रहने सदस्यको सङ्ख्या, कार्यादेश के हुने र छानबिन गर्ने अवधिबारे समेत सहमति भएको कांग्रेस प्रमुख सचेतक रमेश लेखकले जानकारी दिए ।
कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेकोसमेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग गरी संसद् बैठक अवरुद्ध गर्दै आएको थियो । आजै अपराह्न बस्ने प्रतिनिधिसभाको बैठकले संसदीय समिति गठन गर्ने लेखकले बताए । त्यसअघि नै सङ्घीय संसद् सचिवालयलाई समितिमा रहने आफ्नो पार्टीकोतर्फबाट नाम दिने कांग्रेसले जनाएको छ । प्रमुख सचेतक लेखकले कार्यादेशमा व्यक्तिको नाम र पद लेख्नेभन्दा पनि सहकारीको नाम र अपचलन भएको सन्दर्भमा संलग्न जोसुकै व्यक्तिबारे अनुसन्धान हुने स्पष्ट पारे । 

कार्यदलले प्रधानमन्त्रीलाई बुझायो प्रतिवेदन

संसदको गतिरोध अन्त्य गर्नका लागि आवस्यक राजनैतिक सहमतिसहित संसदिय समिति गठन र समितिको कार्यादेश निर्माणका लागि गठित कार्यदलले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई प्रतिवेदन बुझाएको छ । उक्त अवसरमा कार्यदल संयोजक तथा कानुनमन्त्री मा. पदम गिरीले सम्माननीय प्रधानमन्त्रीको महत्त्वपूर्ण दिशानिर्देश र सुझबुझपुर्ण नेतृत्वको कारण कार्यदलले सहि रूपमा काम गर्न सकेको बताउनु हुँदै जिम्मेवारी प्रदान गरेकोमा प्रधानमन्त्रीसहित नेतृत्वगणप्रति आभार प्रकट गरे ।  त्यस्तै प्रधानमन्त्रीले आफ्नो भुमिकालाई कुशलतापुर्वक पूरा गर्नु भएकोमा कार्यदल संयोजक सहित सबै सदस्यहरुलाई धन्यवाद व्यक्त गरे । कार्यदलमा कानुनमन्त्री पदम गिरी संयोजक रहेको कार्यदलमा महेश बर्तौला, जीवन परियार र शिशिर खनाल सदस्य रहेका छन् ।


 

प्रकाशित मिति: मंगलबार, जेठ १५, २०८१  १४:२९
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार