शरीर तथा अङ्ग दान गर्ने मनकारी दाताहरू सम्मानित, प्रत्यारोपणमा नेपालको ठूलो फड्को

आइतबार, साउन ३१, २०८३

काठमाडौं । नेपाल अङ्ग–दाता संघले मरणोपरान्त आफ्नो शरीर तथा अङ्ग दानको घोषणा गर्ने मनकारी दाताहरूलाई सम्मान गरेको छ । आइतबार काठमाडौंमा आयोजित ‘शरीर–दान घोषणा, मनकारी अङ्गदाता–सदस्यहरूको सम्मान तथा अङ्ग प्रत्यारोपण विज्ञहरूसित साक्षात्कार’ कार्यक्रमका बीच उनीहरूलाई सम्मान गरिएको हो । 

कार्यक्रममा मृत्युपश्चात् शरीर दान गर्ने घोषणा गरेका भक्तराज भण्डारी र कमला राजभण्डारीलाई सम्मान गरिएको थियो । यसैगरी, मृत्युपश्चात् अङ्ग दान गर्ने घोषणा गरेका लक्ष्मीदेवी राजभण्डारी, मदनकृष्ण श्रेष्ठ र जयसुन्दर हाडालाई पनि कार्यक्रममा सम्मान गरिएको छ ।

यस्तै, कार्यक्रममा बोल्दै नेपालका वरिष्ठ प्रत्यारोपण सर्जन डा. पुकारचन्द्र श्रेष्ठले अङ्ग प्रत्यारोपणको क्षेत्रमा नेपालले ठूलो फड्को मारेको बताए । सन् २००८ तिर मिर्गौला फेल भएका ९० प्रतिशतभन्दा बढी बिरामीको तीन महिनाभित्रै मृत्यु हुने गरेको भयावह अवस्थाको स्मरण गरे । 

उनले भने, ‘त्यतिबेला वीर अस्पतालमा ३–४ वटा, टिचिङमा २ वटा, पाटनमा १–२ वटा र प्राइभेटमा २–४ वटा बाहेक कहीँ पनि डायलाइसिस मेसिन थिएनन्। मान्छेहरू घरखेत बेचेर एक–दुई वर्ष बाँचे पनि अन्त्यमा सम्पत्ति स्वाहा भएपछि ज्यान गुमाउन बाध्य थिए।’

भारतमा गएर प्रत्यारोपण गराउँदा ५० लाख रुपैयाँसम्म खर्च हुने बाध्यतालाई चिर्दै अहिले धर्मभक्त प्रत्यारोपण केन्द्रले मेचीदेखि महाकालीसम्मका नेपालीलाई मात्र नभई अमेरिका, बेलायत र जापानलगायतका देशबाट आउने बिरामीहरूलाई समेत उपचार सेवा दिइरहेको उनले जानकारी दिए । 

सोही कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवं प्रतिनिधि सभा सदस्य मदनकृष्ण श्रेष्ठले अङ्गदानको महत्त्व, यसका चुनौती र कानुन कार्यान्वयनको अवस्थाबारे आफ्नो धारणा राखे । २०४६ सालमा आफू वीर अस्पतालमा रहँदा भक्तपुरका एक बिरामीलाई मिर्गौला प्रत्यारोपणका लागि भारत लैजाँदा पैसा ठगिएर बिरामीको ज्यान गएको तितो अनुभव उनले सुनाए । 

रोग लागिसकेपछिको उपचार अत्यन्तै चुनौतीपूर्ण हुने भन्दै उनले विशेष गरी दुर्घटनामा परी ’ब्रेन डेथ’ (मस्तिष्क मृत्यु) भएका व्यक्तिहरूको अङ्गदानमा जोड दिए । 

दुर्घटनाका कारण ब्रेन डेथ भएका युवाहरूको शरीरबाट ८ वटासम्म अङ्ग निकालेर धेरैको ज्यान बचाउन सकिने भए पनि कानुनको कार्यान्वयन फितलो रहेको उनले औंल्याए । 

५१ प्रकारका नातागोताले अङ्ग दिन सक्ने कानुनी व्यवस्था भए पनि ब्रेन डेथ भएकाहरूको अङ्ग लिन परिवारलाई बुझाउन गाह्रो भइरहेको र अस्पतालहरू पनि कानुनी झमेला आउने डरले पछि हट्ने गरेको उनको भनाइ थियो।

‘दुर्घटनाका कारण धेरै युवाहरूको ब्रेन डेथ हुने गर्छ। यस्तो अवस्थामा शरीरका ८ वटासम्म अङ्ग (आँखा, कलेजो, मिर्गौला आदि) निकालेर अरूको ज्यान बचाउन सकिन्छ। पुकार डाक्टर साबहरूको पहलमा राम्रो कानुन (ऐन) त बनेको छ, तर त्यसको कार्यान्वयन पक्ष फितलो छ, ५१ प्रकारका नातागोताले अङ्ग दिन सक्ने व्यवस्था भए पनि ब्रेन डेथ भएकाहरूको परिवारलाई सम्झाउन गाह्रो भइरहेको छ,’ उनले भने । 

उनले अस्पतालको वातावरण सुधार गर्दै परिवारलाई काउन्सिलिङ गर्नुपर्ने र अङ्गदानको विषयलाई विद्यालय तथा विश्वविद्यालयको पाठ्यक्रममै समावेश गर्नुपर्ने बताए । 

यसैगरी, नागरिकको उपचारलाई सहज बनाउन स्वास्थ्य बिमाको महत्त्वपूर्ण भूमिका रहने भन्दै उनले दक्षिण कोरियाको मोडल हेरेर नेपालमा पनि २०६९÷७० सालतिर कैलालीको टिकापुरबाट ५० प्रतिशत छुटसहित स्वास्थ्य बिमाको सुरुवात गर्न आफूले पहल गरेको स्मरण गरे ।

प्रकाशित मिति: आइतबार, साउन ३१, २०८३  २२:२४
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार