धापाखेलको नागदहमा लाग्ने नागपञ्चमी मेलाको तयारी पूरा 

शनिबार, साउन ३०, २०८३
  • ललितपुर महानगरपालिका वडा नं. २४ का वडाअध्यक्ष दिनेश जङ्ग पाण्डेको अध्यक्षतामा  ‘नागदह विकास तथा संरक्षण समिति’ गठन 
  • ५२ रोपनीमा फैलिएको ऐतिहासिक नागदहको दीर्घकालीन गुरुयोजना, जैविक विविधता एवं सिमसार संरक्षणका कार्य अघि बढाइएको 
  • नागपञ्चमीका दिन लाग्ने ऐतिहासिक मेलालाई मर्यादित र व्यवस्थित बनाउन सुरक्षा, सरसफाइ, प्रचार-प्रसार लगायतका ११ वटा विषयगत उपसमितिहरू गठन  
  • नागदहलाई केन्द्रमा राखी सन्तानेश्वर, बज्रबाराही, तीनकुने पोखरी (सत्यनारायण मन्दिर) र नागेश्वर धामलाई समेटेर नयाँ धार्मिक-पर्यटकीय पदयात्रा रुट निर्माण गर्ने वडा कार्यालयको योजना 

धापाखेल (ललितपुर) । ललितपुर महानगरपालिका वडा नं. २४, धापाखेलस्थित ऐतिहासिक तथा धार्मिक सम्पदा नागदहमा लाग्ने नागपञ्चमी मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । नागपञ्चमी पर्वको तयारीका विषयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा  नागदह विकास तथा संरक्षण समितिका अध्यक्ष एवं वडाअध्यक्ष दिनेश जङ्ग पाण्डेले मेलाको तयारी पूरा भएको जानकारी दिएका हुन् ।  पत्रकार सम्मेलनमा अध्यक्ष पाण्डेले नागदहको विकास, सिमसार क्षेत्र संरक्षण र  नागपञ्चमी मेलासहित नागदहको धार्मिक, पौराणिक र वातावरणीय महत्त्वमाथि प्रकाश पारेका थिए ।  ऐतिहासिक, धार्मिक तथा प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण ५२ रोपनी क्षेत्रफलमा फैलिएको नागदहलाई काठमाडौँ उपत्यकाकै प्रमुख धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने प्रतिबद्धता वडा अध्यक्ष पाण्डेले व्यक्त गरेका छन् ।  तीव्र सहरीकरणका बीच 'पृथ्वीको मिर्गौला' मानिने यस सिमसार क्षेत्र र जलचरहरूको जैविक विविधता जोगाउन दहमा ढल मिसिन नदिने, निकास व्यवस्थापन गर्ने र वृक्षारोपणका कार्यहरू प्राथमिकताका साथ भइरहेको उनले जानकारी दिए ।  यस वर्षको नागपञ्चमी मेलालाई थप व्यवस्थित, स्वच्छ र भव्य बनाउन प्रचार(प्रसार, सुरक्षा, सरसफाइ, गंगा आरती, पूजा तथा बजार व्यवस्थापन लगायतका ११ वटा विषयगत उपसमितिहरू गठन गरी जिम्मेवारी बाँडफाँड गरिएको छ । वडा कार्यालयले नागदह, सन्तानेश्वर, बज्रबाराही र नागेश्वर धामलाई जोडेर नयाँ धार्मिक(पर्यटकीय रुट निर्माण गर्ने योजनासमेत अगाडि बढाएको छ । अध्यक्ष पाण्डेले नागपञ्चमीका दिन नागदहमा पूजाआजा गरी पुण्य लाभ लिन सम्पूर्ण भक्तजन तथा पर्यटकहरूलाई हार्दिक निमन्त्रणा गर्दै नागदहको दीर्घकालीन विकास र सौन्दर्यीकरणमा सहयोग पुर्‍याउन सञ्चार जगत्‌लाई आह्वान गरेका छन् । 
पत्रकार सम्मेलनमा समितिका उपाध्यक्षद्धय पूर्वगाविस अध्यक्ष गणेशमान महर्जन र केदारबहादुर कार्की, सचिव देवराज लामिछाने, कोषाध्यक्ष धनेश गिरी, सहकोषाध्यक्ष कमला माली, सहसचिव महेश गिरी, नागदह विकास तथा संरक्षण समितिका पदेन सदस्य एवम् वडासदस्यहरु इन्द्रा श्रीश, निशा मालबुल, उद्धब बस्नेत, हरिकृष्ण महर्जन, समितिका सदस्यहरु उपस्थित थिए । 
 

प्रकाशित मिति: शनिबार, साउन ३०, २०८३  १२:४७
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार