सोसल मिडिया
Contact Us
युनिकोड
ललितपुर: गोदावरी नगरपालिकामा अब उद्यम गर्न चाहनेको सीप विकास गर्न आवश्यक तालिम कहाँ गर्ने होला भन्दै ठाउँ खोजेर भौतारिनु पर्ने छैन । गोदावरी नगरपालिकाको वडा नं.१३ मा गोदावरी महिला उद्यम विकास प्रतिष्ठान उद्घाटन भएपछि तालिमका लागि ठाउँ खोज्दै हिड्नु नपर्ने भएको हो । आइतबार उक्त प्रतिष्ठान भवनको नगरप्रमुख गजेन्द्र महर्जनले उद्घाटन गरे ।
उद्घाटन कार्यक्रममा बोल्दै उनले नगरले महिलालाई उद्यमी बनाउन धेरै प्रकारका तालिम सञ्चालन गरेको बताए । उनले भने,‘यो भवनलाई तालिम केन्द्रको रुपमा विकास गर्छौ । ’ गोदावरी नगरपालिकाले दिएको तालिम लिएर धेरै जना उद्यमी बन्नु भएको उनले जानकारी दिए । यो प्रतिष्ठानमा तालिम लिएर उत्पादन भएको सामग्रीलाई चाँडै नै संचालनमा आउन लागेको गोदावरी कोसेली घर मार्फत बजारिकरण गर्ने प्रतिबद्धता समेत उनले व्यक्त गरे । नगर उपप्रमुख मुना अधिकारीले गोदावरी नगरले दिएको तालिम लिएर धेरै दिदीबहिनी उद्यमी भएको बताइन् । आर्थिक आत्मनिर्भरताले महिलालाई बलियो बनाउने बताउँदै पहिलो पटक निर्वाचित भए लगत्तै महिलालाई आत्मनिर्भर बनाउने अभियानमा लागेको उनले स्मरण गरिन् । उनले भनिन् ,‘ हामीले शुरुदेखि नै आयआर्जनमा जोड दिएका थियौंँ, नगरले प्राथमिकतामा राखेर काम गरेकाले धेरै उद्यमी महिला नगरभित्र हुनुहुन्छ । ’ केही दिनपछि नै संचालनमा आउने गोदावरीको कोसेली घरले तालिम लिएर उत्पादन भएका सामग्रीको बजारिकरण गर्न सहयोग पुग्ने धारणा राखिन् । कोसेली घर गोदावरी नगरको वडा नं.१० मा रहेको छ । नगर उपप्रमुखले महिला शिक्षालाई समेत प्राथमिकतामा राखेर काम गरेको बताउँदै भनिन् , पढ्ने उमेरमा पढ्न नपाएकालाई पढ्ने अवसर दिन विद्यालय खोल्यौँ, अहिले ४८ जना स्नातक तह पढ्दै हुनुहुन्छ । , उहाँहरुलाई उद्यमसँग पनि जोडेका छौंँ । ’ गोदावरी नगरले यसअघि यस भवनलाई हिंसा प्रभावित महिलाहरुको आवासगृहको परिकल्पना गरेर निर्माण कार्य अघि बढाएको थियो । नगरमा हिंसा भोगेका महिला आवासगृह आवश्यक पर्यो भन्दै नआएको हुँदा यसलाई तालिम संचालन गर्ने भवनको रुपमा अघि बढाइएको हो । सामाजिक विकास समितिका संयोजक एवम् वडा नंं१० का वडा अध्यक्ष शेखर न्यौपानले प्रतिष्ठानको संचालन तालिम , तालिमबाट उत्पादन हुने सामग्रीको बजारिकरणलगायतका विषयलाई समेटेर ऐन नै तयार पारेको जानकारी दिए । गोदावरी नगरपालिकाले नागरिकलाई सीप र उद्यमसँग जोड्न प्रभावकारी ढंगबाट काम गरिराखेको अवगत गराए । वडा नंं.१३का वडा अध्यक्ष भाष्कर थापाले वडा नं.१३को परिचयलाई यो भवनले व्यापक बनाएको बताए । तालिम,सीप, उद्यम , बजारिकरण एक अर्कासँग अन्तरसम्बन्धित भएको बताउँदै उद्यमशिलतालाई नगरले प्राथमिकतामा राखेको बताए । कार्यपालिका सदस्य लक्ष्मी महर्जनले अवसर दिए महिला गर्न नसक्ने काम केही नभएको बताउँदै स्थानीय कच्चा पदार्थ प्रयोग गरेर उत्पादन गरेका सामग्रीले महिलालाई उद्यमी बनाएको बताइन् । कार्यक्रममा उद्यमी महिला, नगरले संचालन गरेको विद्यालयका विद्यार्थी जो उद्यमशिलतासँग समेत जोडिएका छन् उनीहरुले गोदावरी नगरले महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउन गरेको कामको प्रशंसा गरेका थिए । कार्यक्रममा १४ वटै वटा वडाअध्यक्षहरुको उपस्थिति रहेको थियो ।