सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । नेपाली कांग्रेसले सुनसरीको देवानगञ्ज–कप्तानगञ्ज घटनाबारे तत्काल निष्पक्ष न्यायिक आयोग गठन गर्न सरकारसँग माग गरेको छ । मंगलबार बसेको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले घटनाको निष्पक्ष, स्वतन्त्र र विश्वासयोग्य छानबिनका लागि उच्चस्तरीय सर्वस्वीकार्य आयोग गठन गर्न माग गरिएको हो। कांग्रेसले यसअघि सरकारी संयन्त्र मात्र राखेर गठन गरिने आयोगले सरकारका कमजोरी लुकाउने आशंका व्यक्त गरेको र अहिले समयले उक्त आशंका सही साबित गरेको दाबी गरेको छ । घटनाको निष्पक्ष छानबिन र सम्झौता कार्यान्वयनको माग गर्दै विगत १२ दिनदेखि अनशनरत विनय यादवको स्वास्थ्य अवस्था गम्भीर बन्दा समेत सरकारले चासो नदेखाएको भन्दै कांग्रेसले चिन्ता व्यक्त गरेको छ । कांग्रेसले देवानगञ्ज–कप्तानगञ्जलगायत क्षेत्रमा राज्यको दमनका कारण निर्दोष नागरिकले ज्यान गुमाएको र निजी सम्पत्तिमा आगजनी तथा तोडफोडबाट ठूलो क्षति भएको दाबी गरेको छ। सरकारले पीडित पक्षसँग गरेको सम्झौता कार्यान्वयन नगर्दा स्थानीय समुदायमा आक्रोश बढिरहेको भन्दै कांग्रेसले तत्काल सम्झौता कार्यान्वयन गर्न माग गरेको छ । त्यस्तै, चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी, निजामती कर्मचारी, राहत शिक्षक, यातायात व्यवसायी, दुग्ध तथा उखु किसान, मिटरब्याज पीडितलगायत विभिन्न समूहसँग सरकारले गरेका सहमति तत्काल कार्यान्वयन गर्न पनि कांग्रेसले माग गरेको छ । सरकारले पटक–पटक सहमति गर्ने तर त्यसको इमानदार कार्यान्वयन नगर्ने प्रवृत्तिले सरकारप्रति अविश्वास बढाएको कांग्रेसको निष्कर्ष छ । यस्तो अवस्थाले समाजमा निराशा बढाउँदै ‘राज्य नागरिकको अभिभावक हो’ भन्ने विश्वास कमजोर बनाउँदै गएको कांग्रेसले जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकमा सदस्यहरूले धारणा राख्ने क्रम जारी रहेको छ ।