सोसल मिडिया
Contact Us
युनिकोड
काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि संसदीय समिति बनाएर छानविन हुनुपर्ने माग राख्दै सदन अवरोध गरिरहेको नेपाली कांग्रेस सडकमा पुगेको छ । आइतबार दिउँसो २ बजेका लागि काठमाडौंस्थित प्रदर्शनी मार्गमा आयोजना गरिएको विरोध सभामा भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, तरुण दल नेपाल, कांग्रेसका नेता तथा कार्यकर्ताहरुको सहभागिता रहेको छ । उक्त कार्यक्रममा केही शीर्ष नेताहरु पनि पुग्नेक्रम जारी रहेको छ । राष्ट्रिय सभा सदस्यसमेत रहेका कांग्रेस नेता कृष्णप्रसाद सिटौला, मीन विश्वकर्मा, गोपालमान श्रेष्ठलगायतका नेताहरु प्रदर्शनस्थलमा पुगिसकेका छन् । गृहमन्त्री लामिछाने संलग्न देखिएको सहकारीमा संसदीय समिति बनाएर छानविन हुनुपर्ने र पाटपोर्टको विषय पनि छानविनको दायरामा आउनुपर्ने उनीहरुको माग राख्दै संसदमा अवरोध गरेको कांग्रेस आजदेखि सडक प्रदर्शनमा उत्रिएको हो । ओली–लामिछाने भ्रष्टाचारको गठबन्धन : महामन्त्री शर्मा नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गृहमन्त्री रवि लामिछाने र एमाले अध्यक्ष केपी शर्मा ओली दुवै विभिन्न प्रकरणमा मुछिएकाले एकअर्कालाई बचाउदै हिँडेको आरोप लगाएका छन् । कांग्रेसले आइतबार काठमाडौंमा गरेको खुला सभालाई सम्बोधन गर्दै उनले यस्तो आरोप लगाएका हुन् । सहकारी ठगीमा गृहमन्त्री लामछिानेलाई जोगाएर ओली बोल्ने र लामिछानेले एमाले अध्यक्ष ओलीलाई गिरिबन्धु टी इस्टेटको जग्गा प्रकरणमा जोगाउने गठबन्धन गरेको उनले बताए । उनले भने, ‘भ्रष्टाचारका प्रकरणहरु ढाकछोप गर्नका लागि संगठित अपराधजस्तो प्रवृत्ति प्रस्तुत हुन थाल्यो । पूर्व प्रधानमन्त्री कमरेड केपी ओली सहकारी ठगीमा गृहमन्त्रीलाई जोगाएर नै बोल्ने मनोविज्ञानमा देखिनु भएको देशका सामु प्रमाणका रुपमा छ । ओलीको त्यो भूमिका छ भने गृहमन्त्रीको भूमिका एमाले अध्यक्षलाई गिरिबन्धुको प्रकरणमा जोगाउनको लागि साथ दिने । यो गठबन्धनको नयाँ नामकरण गरेका छौं– यो सहकारीबन्धु गठबन्धन हो ।’ सभालाई सम्बोधनका क्रममा उनले प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरुपको हुन नसकेको पनि बताए । गृहमन्त्री लामछिानेलाई बोलेपछि सभामुख देवराज घिमिरेले संसदमा प्रतिपक्षी दलका सांसदलाई बोल्न दिएका थिएनन्, प्रधानमन्त्री पुष्पकमल दाहालले चौथो पटक विश्वासको मत लिँदा पनि उनको भूमिका सत्तापक्षीय देखिएको थियो । महामन्त्री शर्माले भने, ‘प्रतिनिधि सभाका सभामुखको भूमिका पदको गरिमा अनुरुपको हुन सकेन । सभामुखले प्रधानमन्त्रीलाई भन्नुपर्ने थियो कि तपाईले विश्वासको मत लिने अधिकारको रक्षा गर्दछु, तर प्रतिपक्षले संसदमा आफ्नो विमति राखिरहेको समयमा विश्वासको मतको गणना गर्न मिल्दैन । तर, सभामुखले यो भन्न सक्ने क्षमता राख्न सक्नु भएन ।’ साना दलहरुलाई विभाजन गर्ने षड्यन्त्रमा स्वयंम प्रधानमन्त्री, पूर्वप्रधानमन्त्री सामेल भएको भन्दै सरकारको यस्तो क्रियाकलापको विपक्षमा कांग्रेस सडकमा उभिएको पनि उनको भनाइ छ ।