कान्तिपुर सिनेमाजमा ‘यौटा सपनाको अवसान’

मंगलबार, चैत २७, २०८०

काठमाडौं । गत वर्ष चैत्र १० देखि वैशाख १३ सम्म मण्डला नाटक घरमा मञ्चन भएको नाटक ‘यौटा सपनाको अवसान’ अब वेब सिरिजको रुपमा कान्तिपुर सिनेमाजमा आउने भएको छ । महिना दिनसम्म हाउसफुलका साथ मञ्चन भएको नाटकको निर्माण कम्पनी गोविन प्रोडक्सन र पौराणिक पिक्चर्सले सिरिजको पोष्टर सार्वजनिक गर्दै नयाँ दर्शकका लागि ओटीटीमा ल्याउन लागिएको जनाएको छ । 
सार्वजनिक पोस्टरमा नाटकका मुख्य कलाकारहरु दीया मास्के, मेनुका प्रधान, दिव्य देव, विकास जोशी, शेखर चापागाईँ अटाएका छन् ।
नाटकका निर्माता गोविन्द पराजुलीले नयाँ दर्शकको खोजी गर्ने क्रममा नयाँ माध्यममा आउने निर्णय गरेको जनाए । ‘नाटकलाई फिल्म जस्तो धेरै समय हलमा चलाउन मिल्दैन किनकी नाटकमा कलाकारको प्रत्यक्ष उपस्थिति चाहिन्छ । यही कारण हामीले दर्शकको चाहाना हुँदा हुँदै पनि एक महिनाभन्दा बढी समय मञ्चन गर्न सकेका थिएनौँ । उसबेला हेर्न छुट्नु भएका नाट्यप्रेमीसँगै संसारभरका दर्शकका लागि सिरिजको माध्यम छानेका हौँ’, निर्माता गोविन्दले बताए ।
नाटय निर्देशक अनुप बरालले निर्देशन गरेको नाटकले आर्थिक मन्दीमा फसेको एक परिवारको कथा प्रस्तुत गर्छ । १ महिनासम्म चलेर ६ हजार दर्शकले प्रत्यक्ष हेरेको यस नाटकमा दिया मास्के, दिव्यदेव, मेनुका प्रधान, रोय, विकाश जोशी, शेखर चापागाईंको मुख्य अभिनय रहेको छ । नाटकमा न्हयु बर्जाचार्यको संगीत संयोजन, विप्लव प्रतिकको ट्रान्सक्रियसन र गीत रहेका छन् । सिरिज कान्तिपुर सिनेमाजमा ७ भागमा प्रसारण हुनेछ ।
नाटकलाई सिरिजको रुपमा प्रस्तुत गरेर एउटा प्रयोग गर्न लागेको र यसले राम्रो नाटकलाई डिजिटल्ली जोगाएर राख्ने प्रयासले पनि सार्थकता पाएको निर्माता पराजुली बताउँछन् । कालान्तरमा यसले नाटकको डिजिटल बजार निर्माणमा पनि ठोस सुरुवात गर्ने उनको अपेक्षा छ ।
 सिरिजको वैशाख १ गते प्रिमियर हुनेछ ।

प्रकाशित मिति: मंगलबार, चैत २७, २०८०  ०४:०६
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार