‘देवानन्दको सुझावले मैले अनुहारको प्लास्टिक सर्जरी गराईन, त्यही दागले सफलता दिलायो ’

मंगलबार, चैत २०, २०८०

काठमाडौं । शत्रुघ्न सिन्हा वर्तमान समयमा पनि बलिउडमा उत्तिकै लोकप्रिय नाम हो । आफ्नो एक आवाजले सबैलाई ‘खामोश’ गर्ने बिहारका शत्रुघ्नले आफ्नो करियरको सुरुवात सन् १९६९ मा फिल्म ‘प्यार ही प्यार’बाट गरेका थिए । फिल्ममा धर्मेन्द्र हिरोको भूमिका थिए । शत्रुघ्न भने पहिलो फिल्ममै भिलेन भूमिकामा थिए । ५० र ६० को दशकमा हिन्दी फिल्मका स्टारहरुलाई उनीहरुको अभिनय र ‘गुड लुक्स’का लागि पनि मनपराइन्थ्यो ।
राजेश खन्नादेखि लिएर दिलीप कुमार र देवानन्द–धर्मेन्द्रसहित कैयौं यस्ता अभिनेता थिए, जसको एक झलक देख्नका लागि फ्यानहरु व्यग्र प्रतिक्षामा हुन्थे । यी सबैका बीचमा एक मात्र अभिनेता शत्रुघ्न थिए, जो अनुहारमा काटिएको चोटको दागका कारण प्रायः लज्जित हुन्थे ।
फिल्म उद्योगमा आएपछि उनले उक्त दागलाई हटाउने सोचेका थिए । तर अभिनेता देवानन्दको एक सल्लाहले उनले त्यो दाग हटाएनन् । जसको परिणाम उनले करियरमा कहिल्यै पछाडि फर्केर हेर्नु परेन ।
शत्रुघ्नको अनुहारमा देखिएको दागलाई धेरैले उनको जन्मजात दाग हो भन्ने सोचेका थिए । यद्यपि, उक्त दाग जन्मजात नभई उनको बाल्यकालको फटाहा चरित्रको परिणाम थियो ।
‘मैले एकपटक मेरो मामाले दाह्री काट्दै गरेको देखेको थिएँ । त्यही बेला मलाई पनि दाह्री काट्न रहर जाग्यो । मैले सुरुमा बहिनीको गालामा ब्लेड चलाए, जसकारण उसको अनुहारमा थोरै चोट लाग्यो । बहिनीलाई चोट लागे पनि मलाई दुःख लागेन’, उनले भनेका छन्, ‘त्यसपछि मैले अनुहारमा पानी लगाए र ब्लेड चलाउन सुरु गरें । जसकारण मेरो ओठ नजिकै ठूलो चोट लाग्यो र रगत निस्कियो । म डाक्टरकोमा जानुको सट्टा आफैं डिटोल र पट्टीले घाउ छोप्ने प्रयास गरें । त्यसपछि घाउ निको भएर र दाग स्थायी भयो ।’
उनका अनुसार फिल्म उद्योगमा उनी नयाँ हुँदा अन्य कलाकारलाई आफ्नो अनुहारको दाग देखाउन लजाउँथे । उनलाई यही दागका कारण आफ्नो करियर लामो समयसम्म रहँदैन भन्ने डर थियो । यही पीडाका कारण उनले प्लास्टिक सर्जरी गर्नेसम्मको योजना बनाएका थिए ।
त्यो समयमा देवानन्दसँग उनको सम्बन्ध घनिष्ठ थियो । एकदिन उनले देवानन्दसँग आफ्नो समस्या सुनाए । उनले प्लास्टिक सर्जरी गर्न लागेको सुनाउँदा देवानन्दले त्यसो नगर्न सुझाए ।
‘यो दाग लुकाउनका लागि केही नगर्नु । मेरो पनि दाँतको बीचमा खाली छ । तर त्यो खाली भाग आज सबैभन्दा ठूलो स्टायल बनेको छ’, देवानन्दले भनेका थिए ।
देवानन्दको यो सल्लाहलाई शत्रुघ्नले गम्भीर रुपमा लिए र अनुहारमा दागका साथ फिल्ममा काम गरे । आज पनि उनको अनुहारमा त्यो दाग देखिन्छ । दाग देखिए पनि फिल्म उद्योगमा उनी स्थापित छन् ।
 

प्रकाशित मिति: मंगलबार, चैत २०, २०८०  ०९:३५
प्रतिक्रिया दिनुहोस्
विशेष
अन्तर्वार्ता
जीवनशैली
शिक्षा
समाचार